आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आमरण अनशन

सम्बन्धविच्छेद बदर लगायतका माग राख्दै बिनु यादव ८ दिनदेखि अनशनमा

बुधबार, ०३ जेठ २०८०, १४ : ०३
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । रामेछाप जिल्ला अदालतले जबरजस्ती रुपमा गराएको सम्बन्धविच्छेदको फैसला बदर लगायतका माग राख्दै काठमाडौंको माइतीघरमा बिनु यादवले आमरण अनशन थालेको बुधबार आठ दिन भयो । अनशनको आठौं दिन यादवको स्वास्थ्य अवस्था नाजुक बनेको छ । कम्तीमा ७० हुनुपर्ने सुगर लेबल घटेर अहिले १५ मा आइपुगेको छ । तर पनि सरकारले उनको अनशन तोडाउन कुनै पहल गरेको छैन ।

आफ्नै प्रेमीबाट बलात्कृत भएको र बलात्कारबाट जोगिन विवाहको नाटक गरेर पछि धोका दिएको भन्दै बिनु यादवले आफ्ना ‘पूर्व पति’ प्रदिप कठायतलाई बलात्कारकै कसुरमा पुनः अनुसन्धान र कारबाही गर्न माग गरेकी छन् ।

त्यसैगरी आफ्नो इच्छाविपरीत षड्यन्त्रपूर्ण तवरबाट सम्बन्धविच्छेद गराइएको भन्दै सम्बन्धविच्छेदको फैसला गरिदिने रामेछाप जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीलाईसमेत उनले कारबाहीको माग गरेकी छन् ।

आफूमाथि पटकपटक बलात्कारको प्रयास गर्ने काका ससुरा पवन कठायतलाई पनि कारवाही गर्न बिनुको माग छ । साथै, २०७५ सालमा आफूले कालीमाटी प्रहरी वृत्तमा जबरजस्ती करणीको जाहेरी दिएकामा उक्त जाहेरी फिर्ता गर्न लगाई ‘बलात्कारी’सँग विवाह गर्न लगाउने तत्कालीन डीएसपी सुरज कार्कीमाथि पनि छानबिन र कारवाहीको माग गरेकी छन् ।

के थियो घटना ?

पहिले सिराहा घर भई बुबासँगै पछि सोलुखुम्बुमा बसाई सरेकी बिनु यादव माध्यामिक शिक्षा सकेपछि काठमाडौं आउँदा रामेछापका प्रदीप कठायतसँग भेट भएको थियो । सामान्य चिनजानपछि प्रेम सम्बन्धमा परिणत भएको बिनु यादवले बताइन् । प्रेम सम्बन्ध र विवाह नै गर्ने सहमति भएपछि आफूहरुबीच यौनसम्बन्ध समेत भएको बिनुको भनाइ छ ।

त्यही समयमा बिनु यादव गर्भवती बनिन् । आफू गर्भवती बनेपछि प्रदीपले आफूलाई धाकधम्की दिने गरेको र विवाह गर्न अस्वीकार गरेको बिनुले रातोपाटीसँगको कुराकानीमा बताएकी छन् । त्यसपछि बिनु २०७५ साल वैशाख महिनामा प्रहरी वृत्त कालीमाटीमा पुगेर प्रेमी प्रदीप कठायतविरुद्ध जबरजस्ती करणीको जाहेरी दिइन् ।

1684302379461_copy_1920x1280

प्रहरीमा जबरजस्ती करणीको जाहेरीपछि भने प्रदीपले बिनुलाई श्रीमतीका रुपमा स्वीकार गर्ने र घरमा लगेर राख्ने बचन दिए । बिनुलाई ‘कन्भिन्स’ गरेपछि बिनुले पनि मिलापत्र गरी श्रीमान–श्रीमती नै भएर बस्ने भन्दै प्रदीपविरुद्धको जबरजस्ती करणीको जाहेरी फिर्ता लिइन् ।

त्यसपछि सुरुमा प्रदीपले बिनुलाई भक्तपुरमा रहेको सगोलको घरमा राखेको तर आफ्नो पुर्ख्यौली घर रामेछाप नलगेको र परिवारसँग चिनापर्ची पनि नगराएको बिनुको आरोप छ । परिवारसँग लुकाउने र श्रीमतीको हैसियत पनि दिन नखोजेपछि बिनुले घरमा लैजान दबाब दिइन् । त्यसपछि २०७६ सालको मंसिरमा भद्रकाली मन्दिरमा औपचारिक विवाह गरी आफू प्रदीपको पुर्ख्यौली घर रामेछाप गएको बिनुले बताइन् ।

तर प्रदीपको घरमा गएपछि आफूमाथि झनै बढी हेलाहोचो गरिएको र श्रीमती तथा बुहारीको दर्जासमेत नदिई एक नोकरको जस्तो अवस्था बनाइएको बिनुको भनाइ छ । उनले भनिन्, ‘रामेछापमा उनीहरुको होटल थियो, म त्यही होटलमा काम गर्ने एक सामान्य मजदुरजस्तो थिएँ । बिहानदेखि बेलुकासम्म काम लगाउँथे तर मलाई न प्रदीपले श्रीमतीको हैसियत दिए, न सासुससुराले बुहारीको दर्जा दिए । म त त्यहाँ एक नोकरजस्तो थिएँ, सित्तैमा काम लगाउने नोकर र प्रदीपको यौनदासी जस्तो थिएँ ।’

बिनुका अनुसार रामेछापमै रहेको समयमा उनलाई जबरजस्ती गर्भपतन गराउन बाध्य बनाइएको थियो । उनले भनिन्, ‘एक महिलाका लागि सन्तानप्राप्तिको अधिकार ठूलो कुरा हुन्छ, तर मेरो हातखुट्टा बाँधेर जबरजस्तीरुपमा गर्भपतनको औषधि खुवाइयो र गर्भपतन गराइयो ।’

रामेछापमै रहेको समयमा आफूलाई काकाससुरा पवन कठायतले जबरजस्ती करणीको प्रयाससमेत गरेको बिनुको आरोप छ । उनी भन्छिन्, ‘मलाई श्रीमानबाट मात्रै यातना भएन, काकाससुरा पवन कठायतले पनि पटकपटक बलात्कारको प्रयास गरे ।’

बिनुका अनुसार बलात्कार मुद्दाको हदम्याद सकिएपछि प्रदीप कठायतले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका थिए । प्रदीप कठायतले आफूविरुद्ध २०७७ साल असोजमा रामेछाप जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको बिनुले बताइन् । उक्त मुद्दामा मोलाहिजा गरेर रामेछाप जिल्ला अदालतका तत्कालीन न्यायाधीश बद्रीप्रसाद ओलीले २०७९ वैशाख ७ गते एक पक्षीय रुपमा सम्बन्धविच्छेद गराइदिएको उनको आरोप छ ।

सम्बन्धविच्छेद गराउने समयमा पनि परिवारले सबै सम्पत्ति लुकाएको बिनु बताउँछिन् । अदालतले एक पक्षीयरुपमा सम्बन्धविच्छेदको फैसला सुनाएपछि बिनुले इजलासमै विषसेवन गरेकी थिइन् ।

इजलासमै विष सेवन गरेपछि बिनुलाई काठमाडौं ल्याएर उपचार गरिएको थियो । उपचारपछि बिनुले सञ्चारमाध्यममा आफूमाथि अन्याय भएको भन्दै हारगुहार मागेकी थिइन् । उनले आफूमाथि पटकपटक बलात्कारको प्रयास गर्ने काकाससुरा पवन कठायतविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमार्फत् रामेछाप जिल्ला अदालतमै जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् ।

binu yadav

तर रामेछाप जिल्ला अदालतले पनि पवनविरुद्धको अभियोग दाबी नपुग्ने भन्दै २०७९ फागुन २९ गते पवन कठायतलाई सफाइ दिएको थियो । त्यसपछि बिनु यादव लगायतका केही महिला र अधिकारवादीको समूहले रामेछाप जिल्ला अदालतमा तोडफोडसमेत गरेको थियो ।

बिनुले एक पक्षीयरुपमा गराइएको सम्बन्धविच्छेदको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदनको रिट दर्ता गराएकी छन् । उक्त मुद्दा अहिले उच्च अदालत पाटनमा विचाराधीन अवस्थामा छ ।

बिनु भन्छिन्, ‘मेरो शरीर बिग्रिसक्यो । दुई पटक त गर्भपतन नै गराइसकेँ । अब फेरि अर्को बच्चा जन्माउन सक्छु कि सक्दिन भन्ने पनि थाहा छैन । मेरो शरीर कसैलाई मन लागेको बेला खेल्ने मैदान होइन । अब मलाई अर्को कुनै व्यक्तिसँग विवाह गर्नु छैन । त्यसकारण जबरजस्तीरुपमा गराइएको सम्बन्धविच्छेदको फैसला बदर गरी पति प्रदीप कठायतसँगै बस्ने व्यवस्था गराइनुपर्छ ।’

आफूलाई सम्मानपूर्वक श्रीमती र बुहारीको दर्जा र हैसियत दिइनुपर्ने उनको माग छ ।

बिनुका अनुसार गत वैशाख ३१ गते गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत र काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय बिनुलाई भेट्न अनशनस्थलमा पुगेका थिए । बिनुको स्वास्थ्य अवस्थाको सामान्य जानकारी लिने र उनका कानुन व्यवसायीसँग भेटघाट गरी मागको सम्बन्धमा कुराकानी गर्ने काममात्रै भएको छ । बिनुले माग गरेको बलात्कारको मुद्दामा सुरुदेखिकै अनुसन्धान गर्न सकिन्छ कि सकिँदैन भनेर महान्यायाधिवक्ता कार्यालयसँग सामान्य छलफल मात्रै गरिएको बिनुका कानुन व्यवसायी इन्द्र अर्यालले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप