आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री पाण्डेको कर्मचारीलाई निर्देशन–जनसेवा छिटो बनाउनुहोस्

बुधबार, ०३ जेठ २०८०, २० : ३४
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गोरखाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधबार कार्यालय प्रमुखहरूलाई भेटेर नागरिकले एउटै कामका लागि पटकपटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् । 

‘एउटै कामका लागि सर्वसाधारण पटक–पटक आउनुपर्ने, कार्यालय धाउनुपर्ने बाध्यता हामीले हटाउनुपर्छ,’ उनले भने, ‘बरु सेवा छिटो र सहज बनाउन ‘टाईमकार्ड’ लागू गर्नुस् । समयमै काम भएन भने जनतामा आक्रोश बढ्छ । व्यवस्थाप्रति नै वितृष्णा हुनसक्छ ।’

मुख्यमन्त्री पाण्डेले सेवालाई प्रविधिमैत्री बनाउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । प्रदेश सरकारले दैनिक सेवा प्रवाह झण्झट रहित बनाउन क्याबिनेटबाट निर्णय गरिसकेको उनको भनाई छ । पाण्डे मुख्यमन्त्रीको पदबहाली भएकै दिन यातायात क्षेत्रलाई व्यवस्थित गर्नका लागि सुझाव लिन कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । दरबन्दी अनुसारको कर्मचारी नहुँदा काम गर्न समस्या भएको गुनासो प्रदेशस्थित कार्यालयका प्रमुखहरूले गरेका थिए । 

गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल कर्मचारी व्यवस्थापन गरेर अन्य कार्यालयमा पनि थप्दै जाने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाएका छन् । सेवा दिँदा जनतालाई राजनीतिक विभेद नगर्न पनि उनको निर्देशन छ । उनले संरक्षण सहितको विकास र विकास मार्फत राज्य सञ्चालनको माध्यम निर्माण गर्नुपर्ने बताए । ‘हामीले आम्दानीको दायरा बढाउन सकेनौं भने सामाजिक उत्तरदायित्व बहन गर्न र जनताको अपेक्षा पुरा गर्न सक्दैनौं । त्यसैले विकास पनि गर्नुपर्छ । गरिएको विकासबाट राज्यले केही प्राप्त पनि गर्न सक्नुपर्छ,’ उनले भने । 

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिने भएकोले योजना छनोट गर्दा ख्याल गर्न उनको आग्रह छ । 

यस्तै, विकास निर्माणका काम गर्दा ठेकेदारबाट हुने बदमासी रोक्न नियमित अनुगमन र ताकेता गर्न कार्यालय प्रमुखले चासो दिनुपर्ने उनको भनाई छ । गोरखाका कार्यालय प्रमुखहरूले प्रदेशबाट छुट्याउने योजना कम बजेटको हुँदा कार्यान्वयन प्रभावकारी नभएको र लागु गर्न झन्झटिलो भएको गुनासो राखेका थिए । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले गोरखामा भएका समस्याका बारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएका थिए । विपद्को पूर्व तयारीका लागि विशेष ध्यान दिन उनले मुख्यमन्त्री पाण्डेलाई आग्रह गरे ।  

यातायात कार्यालयको अनुगमन

यसैबीच, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालय तनहुँको अनुगमन गरेका छन् । कार्यालयको अनुगमन गर्दै उनले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताएका छन् । उनले कुनैपनि बहानामा सेवा प्रभावित हुन नहुने भन्दै छिटोछरितो सेवा दिन जनशक्ति व्यवस्थापन र प्रविधिमैत्री सेवाका लागि प्रदेश सरकारले काम अगाडि बढाएको जानकारी दिए । 

आफूले मुख्यमन्त्रीको कार्यभार सम्हाले लगत्तै यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई प्रविधिमैत्री र छिटोछरितो बनाउन कार्यदल गठन गरिएको र उक्त कार्यदलले सुझावसहितको प्रतिवेदन दिइसकेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप