सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इटाली र युभेन्ट्सका कप्तान बोनुचीको सन्न्यास लिने घोषणा

बिहीबार, ०४ जेठ २०८०, ०८ : ०७
बिहीबार, ०४ जेठ २०८०

काठमाडौं । लगातार १९ वर्ष फुटबल मैदानमा बिताएका प्रभावशाली इटालियन फुटबलर लियोनार्दो बोनुचीले सक्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनी इटालीको राष्ट्रिय फुटबल टोलीका कपतान हुन् ।

३६ वर्षीय बोनुची इटालियन सिरिए क्लब युभेन्ट्सका पनि कप्तान हुन् । उनले अर्को सिजनको अन्त्यसँगै सक्रिय खेलजीवनबाट सन्न्यास लिने घोषणा गरेका हुन् । बोनुचीले हालसम्म ८ पटक इटालियन सिरिएको उपाधि जितेका छन् ।

उनले पहिलो पटक सन् २०१० देखि सन् २०१७ सम्म युभेन्ट्सबाट खेलेका थिए । त्यसपछि उनी युभेन्ट्स छाडेर अर्को इटालियन क्लब एसी मिलानमा आबद्ध भएका थिए । सन् २०१७ देखि सन् २०१८ सम्म एसी मिलानमा रहँदा उनले क्लबका लागि ३५ खेल खेलेर २ गोल गरेका थिए ।

त्यसपछि सन् २०१८ मा उनी पुनः युभेन्ट्समै फर्किएका थिए । उनले युभेन्ट्सका लागि ५ सय खेल खेलिसकेका छन् । रक्षापँक्तिका प्रभावशाली खेलाडी बोनुचीले इटालीको राष्ट्रिय टोलीबाट भने १ सय २० खेल खेलेर ८ गोल गरेका छन् ।

इटालीले सन् २०२० मा युरो कपको उपाधि चुम्दा उनी टोलीका महत्वपूर्ण खेलाडी थिए । त्यतिबेला फाइनलमा इटालीले इङ्ल्यान्डलाई हराएको थियो । युभेन्ट्ससँग बोनुचीको सम्झौता आगामी वर्ष सकिँदैछ ।

उनले राष्ट्रिय टोलीसँगै ब्यवसायिक फुटबलबाट समेत सन्न्यास लिने घोषणा गरेका हुन् । ‘राष्ट्रिय टोलीको जर्सी लगाएर मैले १२ वर्षसम्म आफ्नो सपना पूरा गरेको छु,’ उनले भनेका छन्, ‘मेरो विचारमा अब विश्राम लिने समय भयो ।’

‘अर्को सिजन जब मैले सक्रिय खेलजीवनबाट सन्न्यास लिनेछु त्यसपछि इटालियन फुटबलमा डिफेन्सिभ युगको पनि समाप्त हुनेछ ।’ — लियोनार्दो बोनुची ।

बोनुचीले नयाँ पुस्ताका खेलाडीलाई अवसर दिन पनि पुराना खेलाडीले ठाउँ छोडनु आवश्यक रहेको बताए । ‘अहिले पनि राष्ट्रिय टोलीको जर्सी लगाएर आफ्नो सपना पूरा गर्न थुप्रै युवा खेलाडी सँघर्ष गरिरहेका छन् । मेरो विचारमा उनीहरुको सपना पनि पूरा हुनुपर्छ,’ उनले भने ।

उनले अर्को इटालियन क्लब इन्टर मिलानबाट पनि ब्यवसायिक फुटबल खेलेका थिए । उनले आफ्नो ब्यवसायिक खेलजीवनको सुरुआत नै इन्टर मिलानबाट गरेका थिए । उनले आफ्नो जीवनको पहिलो सिरिए उपाधि पनि सन् २००५-०६ सिजनमा इन्टर मिलानबाटै जितेका थिए ।

सन् २०१० मा उनी पहिलो पटक युभेन्ट्समा आबद्ध हुँदा युरोपियन फुटबलमा युभेन्ट्सको ठूलै दबदबा थियो । त्यतिबेला युभेन्ट्सको टोलीमा बोनुचीसँगै आन्द्रे बरजाग्ली, जर्जियो चिलानी, गोलरक्षक जियानलुइगी बुफनजस्ता हस्तीहरु आबद्ध थिए । त्यो टोलीले करिब १ दशक इटालियन फुटबलमा आफ्नो जादु चलाएको थियो ।

‘अर्को सिजन जब मैले सक्रिय खेलजीवनबाट सन्न्यास लिनेछु त्यसपछि इटालियन फुटबलमा डिफेन्सिभ युगको पनि समाप्त हुनेछ,’ सञ्चारकर्मीसँगको कुराकानीमा बोनुचीले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप