सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : अग्रता गुमाउँदा फ्रेण्ड्सलाई रेलिगेशन डर

बिहीबार, ०४ जेठ २०८०, २० : ३६
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । साबिक विजेता मच्छिन्द्र क्लबविरुद्ध दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा फ्रेण्ड्स क्लबले रेलिगेशन क्षेत्रभन्दा माथि उक्लिने मौका गुमाएको छ ।  

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार दशरथ रंगशालामा भएको खेलमा प्र्रmेण्ड्सले दुई पटकसम्म लिएको अग्रतालाई जोगाउन नसक्दा उपाधि होडमा रहेको मच्छिन्द्रसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीले फ्रेण्ड्सलाई रेलिगेशन क्षेत्रबाट उम्किन कठिन भएको छ । बराबरीसँगै मच्छिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ । फ्रेण्ड्सको समान खेलबाट २१ अंक छ जुन एक स्थानमाथि रहेको एपिएफको भन्दा एक अंकले मात्र पछाडि रहेको हो । 

प्रतिष्पर्धात्मक बनेको खेलमा फ्रेण्ड्सका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका प्रकाश बुढाथोकी र रफिक अमिनुले समान एक/एक गोल गर्दा मच्छिन्द्रका लागि दुवै गोल अफिज ओलावालेले गरे । दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । रेलिगेशन क्षेत्र छाड्ने लक्ष्यसहित दोस्रो हाफमा आक्रामक खेलेको फ्रेण्ड्सले ६८औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । प्रकाशले डोना थापाले उपलब्ध गराएको बललाई अगाडी बढाउँदै मच्छिन्द्रका रक्षक र गोलकिपरलाई बिट गर्दै पोस्टको दिशा दिएका थिए । 

पछि परेपछि मच्छिन्द्र आक्रामक रणनीति लियो । फ्रेण्ड्सको अग्रता लामो समयसम्म टिक्न सकेन । तीन मिनेटपछि नै अफिजले मछिन्द्रका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । अफिजले युटा सुजुकीको कर्नरलाई हेडमार्फत गोलमा परिणत गरेका थिए । ७९औं मिनेटमा अन्जल महर्जजको क्रसलाई गोलमा परिणत गर्दै अमिनु फ्रेण्ड्सलाई २–१ को अग्रता दिलाए । ८३औं मिनेटमा अफिजले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई २–२ को बराबरीमा ल्याएपछि दुवै तर्फबाट थप गोल हुन सकेन र अंक बाँड्न बाध्य भए । मच्छिन्द्र लिगमा फ्रेण्ड्सविरुद्ध अपराजित रह्यो । पहिलो लिगमा मच्छिन्द्र २–१ ले विजयी भएको थियो ।

लिग अन्तर्गत बिहीबार नै भएको अर्को खेलमा सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दीले पनि संकटा क्लबसँग समान २–२ को बराबरी खेल्यो । च्यासल मैदान बिहीबार  सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा मनाङ अंक बाँड्न बाध्य बनेको हो । बराबरीसँगै मनाङले १९ खेलमा २३ अंक जोडेको छ । संकटाको पनि समान खेलबाट २३ अंक नै छ ।

मनाङका लागि दुवै गोल टिमोथी कोफी कुन्डोले गर्दा संकटाका लागि युसेफ एट्रिस र मिनष डाँगीले समान एक गोल गरेका थिए । खेलको १९औं मिनेटमा कुन्डोको गोलमार्फत मनाङले अग्रता लिएको खेलमा  ४४ औं मिनेटमा एट्रिसले संकटालाई बराबरीमा फर्काएका थिए । ४५औं मिनेटमा कुन्डाले ब्यक्तिगत दोस्रो गोल गर्दा मनाङ पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई २–२ को बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोली थप गोलका लागि प्रयास गरे पनि गोल हुन सकेन र दुवैले अंक बाँडे । मनाङ लिगमा संकटाबिरुद्ध अपराजित रह्यो । पहिलो लेगमा मनाङ १–० ले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप