सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वेस्ट हाम ४७ वर्षपछि युरोपेली प्रतियोगिताको फाइनलमा

शुक्रबार, ०५ जेठ २०८०, ०८ : ०७
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ ।  इङ्लिस प्रिमियर लिग क्लब वेस्ट हाम युनाइटेड युरोपा कन्फरेन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । वेस्ट हामले बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा नेदरल्यान्ड्सको क्लब एजेड अल्कमारलाई १-० गोलले हरायो ।

उक्त नतिजापछि वेस्ट हाम ३-१ कुल गोल भिन्नताका आधारमा फाइनलमा पुगेको हो । त्यसअघि आफ्नो घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा वेस्ट हाम २-१ गोलले विजयी भएको थियो ।

वेस्ट हाम सन् १९७६ पछि पहिलो पटक कुनै पनि ठूलो युरोपियन प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो । युरोपा कन्फरेन्स लिगको फाइनल खेल आगामी जुन ७ तारिखमा चेक गणतन्त्रमा खेलिने छ । फाइनलमा वेस्ट हामले इटालियन क्लब फियोरेन्टिनाको सामना गर्नेछ । फियोरेन्टिना भने सेमिफाइनलमा स्विट्जरल्यान्डको क्लब एफसी बासेललाई हराउँदै फाइनलमा पुगेको हो ।

सेमिफाइनलको दोस्रो लेग खेलमा वेस्ट हामका लागि दोस्रो हाफको इन्जुरी समयमा पाब्लो फोर्नाल्सले निर्णायक गोल गरेका थिए । सेमिफाइनलको दोस्रो लेग खेल डच क्लबको घरेलु मैदानमा खेलिएको थियो ।

वेस्ट हामले यसअघि सन् १९८० मा एफए कपको उपाधि जितेको थियो । वेस्ट हाम पछिल्लो पटक सन् १९७५-७६ सिजनमा युरोपियन प्रतियोगिता ‘कप विनर्स कप’को फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा एन्डरलेच्टले वेस्ट हामलाई ४-२ गोलले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप