आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुद्ध हिमाल–हिमालचुली ग्रेटलेक सर्किट ट्रेल निर्माण हुने

शुक्रबार, ०५ जेठ २०८०, १५ : ५४
शुक्रबार, ०५ जेठ २०८०

गण्डकी । लमजुङ र गोरखाको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गाउँपालिकाहरु एकजुट भएका छन् । दोर्दी गाउँपालिकाको संयोजनमा बुद्ध हिमाल–हिमालचुली ग्रेटलेक सर्किट ट्रेल निर्माण हुने भएको छ ।

सर्किट ट्रेल निर्माणका लागि लमजुङको दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा चार गाउँपालिकाका पदाधिकारीहरूले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सर्किट ट्रेल निर्माणपछि पर्यटन प्रवर्द्धनका लागि टानले सहयोग गर्ने टानका अध्यक्ष निलहरी बास्तोलाले बताए । ट्रेल समुद्री सतहबाट ३२ सय मिटरको उचाइमा रहेको गोरखाको अजिरकोटदेखि यात्रा सुरु भएर दुधपोखरी हुँदै दोर्दीतर्फ अगाडि बड्छ । 

यात्रामा करिब ५ हजार मिटरको उचाइसम्म पुगिने छन् । यस पदमार्गभित्र अजिरकोट, नागेपोखरी, दूधपोखरी, नोटाँचे, लिपेलेक, मेमेपोखरी, बार पोखरी, ठूलागी ताल लगायत प्राकृतिक एवं सांस्कृतिक क्षेत्र पर्दछन् । ट्रेल पार गर्नका लागि २१ दिन लाग्नेछ । जसमा दोर्दी गाउँपालिकामा मात्रै ९ दिनको रहेको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिए ।

त्यस्तै ट्रेलको तल्लो रेन्ज अन्तर्गत गोरखाको अजिरकोट भच्चेक हुँदै लमजुङ दुधपोखरीको बिचौर, इलम पोखरी, लिपे लेक, दाम्राङ, किर्तिपुर, टाप, बारपोखरी, हिले टक्सार हुँदै बेसिशहरको पिस हिल र मर्स्याङदी गाउँपालिकासम्म पुग्न सकिन्छ ।

उक्त सर्किट ट्रेल निर्माणका लागि दोर्दी गाउँपालिकाका अध्यक्ष अधिकारीको संयोजकत्वमा समन्वय समिति समेत निर्माण गरिएको छ । समितिको सदस्यहरूमा मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देवकोटा, दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ र ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)का द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ रहेका छन् ।

बुधबारको बैठकले यसबाट लाभ लिन सक्ने भएकाले ट्रेल निर्माणका लागि राइनास र बेसीशहर गाउँपालिकाबीच पनि साझेदारी र सहकार्य गर्ने निर्णय भएको समितिका अध्यक्ष अधिकारीले जानकारी दिए । गाउँपालिकाका पदाधिकारीहरूबीच आआफ्नो ठाउँको पर्वतीय पर्यटन प्रवर्द्धनका लागि विभिन्न छलफल समेत भएको अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप