सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
सरकारको नीति तथा कार्यक्रम

स्वास्थ्य क्षेत्रमा सरकारका १३ प्राथमिकता

शुक्रबार, ०५ जेठ २०८०, १९ : ४६
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रमा सुधारका लागि १३ प्राथमिकता अघि सारेको छ ।

शुक्रबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हरेक जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पूर्ण रुपमा पु¥याउने, स्वास्थ्य संस्थाका विकास, विस्तार, अनुगमनका साथै सर्ने र नसर्ने रोग सम्बन्धी स्वास्थ्य संस्था स्थापना गरिने बताए ।

आधारभूत अस्पतालको विस्तार

सरकारले आधारभूत अस्पतालहरूमा एक एमडीजीपी, एक महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तीमा तीनजना मेडिकल अधिकृत र आवश्यक नर्स, ल्याब लगायतका प्राविधिक जनशक्ति उपलब्ध गराउने नीति लिएको छ ।

प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण तथा सामग्री, एक्सरे, अल्ट्रासाउण्ड, इको, इसीजी लगायतका डाइग्नोष्टिक उपकरण, अक्सिजन आधारभूत अस्पतालमा उपलब्ध गराउने नीति पनि सरकारले लिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा सुविधासहितको एम्बुलेन्स उपलब्ध गराई सबै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था गरिने उल्लेख छ । यस्तै, आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा अध्ययनको अवसर दिइनेछ ।

कर्णाली र सुदूरपश्चिममा एयर एम्बुलेन्स

सरकारले दुर्गम क्षेत्रमा समयमा उपचार नपाउँदा अल्पायुमै हुने मृत्यु दर रोक्न एयर एम्बुलेन्स सेवा विस्तार गर्ने भएको छ । अति दुर्गम, सुदूरपश्चिमका पहाडी र कर्णाली प्रदेशका जिल्लामा दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गर्ने योजना सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ ।

यस्तै नसर्ने रोग कार्यक्रम र सङ्क्रामक रोगका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना पनि सरकारले अघि सारेको छ ।

पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचार

सरकारले महिलाको पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचार गरिदिने भएको छ । महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई सरकारले विशेष कार्यक्रमको रूपमा अघि बढाउने भएको छ ।

यस्तै, अटिजम रोगको निदान र उपचारको व्यवस्था मिलाइने, स्थानीय तहमा मातृ तथा नवजात शिशु एवं उपचार सेवाका लागि विशेष कार्यक्रम ल्याइने घोषणा पनि नीति तथा कार्यक्रममार्फत गरिएको छ ।

निःसन्तानपन उपचार सेवा विस्तार गरिने

सरकारले सातै प्रदेशका सङ्‍घीय अस्पतालहरूमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार गर्ने भएको छ । राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने सरकारको योजना रहेको बताए ।

यस्तै, सबै पालिकाका वडामा रहेका सुत्केरी केन्द्रहरूको स्तरोन्‍नति गर्ने घोषणा पनि सरकारले नीति तथा कार्यक्रममा गरेको छ ।

प्रदेशस्तरको अस्पतालमा मुटुको शल्यक्रिया गरिने

सरकारले प्रदेशस्तरको कम्तीमा एउटा अस्पताललाई मुटुको शल्यक्रिया र क्यान्सर रोग समेतको निदान हुनसक्ने गरी ‘सुपर स्पेशियालिटी’ अस्पतालको रूपमा विकास गर्ने भएको छ । यसका लागि आवश्यक पूर्वाधार, प्रविधि र जनशक्तिको व्यवस्था गर्दै लगिने सरकारले जनाएको छ ।

खाद्य, औषधि तथा स्वास्थ्य प्रविधि विभाग बनाइने

सरकारले औषधि व्यवस्था विभागलाई खाद्य, औषधि तथा स्वास्थ्य प्रविधि विभागमा रूपान्तरण गर्ने नीति लिएको छ । आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने व्यवस्था  मिलाइएको राष्ट्रपति पौडेलले बताए ।

औषधिजन्य तथा स्वास्थ्यजन्य सामग्रीहरू स्वदेशमै उत्पादन गरी आत्मनिर्भर हुन वित्तीय र अन्य सुविधा एवं सहुलियत उपलब्ध गराइने व्यवस्था गरिने उनले बताए ।

आयुर्वेदिक औषधि उत्पादनमा जोड

सरकारले सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गरी आयुर्वेदिक औषधिको उत्पादन र उपलब्धता वृद्धि गर्ने योजना बनाएको छ । आयुर्वेदिक अस्पतालहरूको सेवा प्रभावकारी बनाइने राष्ट्रपति पौडेलले बताए ।

सङ्‍घीय अस्पतालहरूलाई शिक्षण अस्पताल बनाइने

सरकारले निजामती अस्पताल र सबै सङ्‍घीय अस्पतालहरूलाई शिक्षण अस्पतालको रूपमा विकास गर्ने भएको छ । निजामती अस्पताललाई विशिष्टीकृत चिकित्सा सेवासहितको सुविधासम्पन्‍न अस्पतालका रूपमा विकास गर्दै क्रमशः सातवटै प्रदेशमा विस्तार गर्ने नीति लिइएको राष्ट्रपति पौडेलले बताए ।

यस्तै, गेटा विश्‍वविद्यालयसम्बन्धी विधेयक यसै अधिवेशनमा प्रस्तुत गरिने र यसै वर्ष सो अस्पतालसमेत सञ्‍चालनमा ल्याइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

आँखाको लेन्स विश्व बजारमा ब्रान्डिङ गरिने

सरकारले तिलगंगा आँखा अस्पतालबाट उत्पादन हुने आँखाको लेन्सलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्ने भएको छ ।

सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्वबजारमा ब्रान्डिङ गरिनेछ ।’

बीमा कार्यक्रम पुनरावलोकन गर्ने

सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने नीति लिएको छ  । बीमामार्फत गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने नीति लिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

टेलिमेडिसिन सेन्टर विस्तार

यस्तै,  प्रदेशस्तरमा सेन्टर फर एक्सिलेन्सको रूपमा राष्ट्रिय र प्रदेशस्तरीय टेलिमेडिसिन सेन्टर स्थापना गर्दै लगिने, प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना पनि सरकारले अघि सारेको छ ।

अशक्त, असहाय र ज्येष्‍ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने राष्ट्रपति पौडैलले बताए ।

बहिरङ्‍ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म

सरकारले  सामुदायिक अस्पतालहरूमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चित गर्ने नीति लिएको छ ।  साथै बहिरङ्‍ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन हुने व्यवस्था मिलाइने योजना पनि सरकारले नीति तथा कार्यक्रममा राखेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप