आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कथा

गोरुको दूध ल्याउने त्यो केटी

शनिबार, ०६ जेठ २०८०, १० : ४०
शनिबार, ०६ जेठ २०८०

डडेल्धुरा सदरमुकामबाट १० किलोमिटरको दूरीमा तराई झर्ने बाटोमै पर्छ भात्काँडा बजार । मेरो घर दार्चुलामा राम्रो स्कुल थिएन । त्यसैले, फूपूको घरमा बसेर भात्काँडा बजार नजिकै सरस्वती माविमा पढिरहेको थिएँ ।

फुपाजु दुग्ध ब्यवसायमा हुनुहुन्थ्यो । बिहानै उठेर नजिकका गाउँहरूबाट आएको दूध सङ्कलन तथा बिक्री गर्नु हुन्थ्यो । फुपाजुलाई सघाउन म पनि एकछिन भए नि डेरीमा बस्थे । दूध पुर्‍याउन तथा किन्न मेरै उमेरका स्कुले केटाकेटीहरू पनि आउने गर्थे ।

पुस महिनाको बिहानीको कुरा थियो । कालो टोपी सहितको ज्याकेट अनि  रातो पछ्यौरीले मुखसमेत छोपेर हातमा दूधको बाल्टिन बोकेर एउटी युवती आइरहेकी थिइन् । मैले टाढै बाट देखिसकेको थिएँ । आफूले आफैलाई सोधिरहेको थिएँ, के उनी नै हुन् त ? जसलाई म स्कुलमा लुकेर हेरिरहन्थे, जसको मुहार देख्दा म हिउँझैँ पग्लिन्छु । ती गाजलु आँखाको सामना मैले फेरि गर्नुपर्ने हो ? 

नभन्दै मेरो सपनाको राजकुमारी आइपुगिन् । केही नबोली दूधको भाँडो मेरो अगाडि राखिन् अनि मैले खाली गरेर फिर्ता दिई रजिस्टरमा चढाउन नपाउँदै हतारिँदै निस्की हालिन् ।

हरेक बिहान उनी त्यही भेषमा आउने र दूध पुर्‍याएर जाने सिलसिला चलिरह्यो । म पनि बिहानै उनको मुहार हेर्न पाए आफूलाई धन्य सम्झिन्थे। अब त पुसको शीत छलेर फुपाजु भन्दा अगाडि नै पसलमा पुग्न थालेँ । 

मेरो यो चाला देखेर मलाई मिहेनतीको संज्ञा दिनु भन्दा पनि शङ्काको घेरामा राखेको हुनुपर्छ । किनकि, फुपाजुले मलाई प्रायः काममा भन्दा पनि किताबमा ध्यान दे भन्नु हुन्थ्यो । 

कहिलेकाहीँ दूध लिएर उनको बुवा आउँथे, तब मनमा खिन्नता जाग्थ्यो । मनमनै सराप्थे, ‘तँलाई जँड्याहा, बिहान बिहानै बजार मुन्टिनु पर्ने ? त्यही दूध बेचेर रक्सी खानलाई त होला, हैन ?’

एकदिन मैले केही न केही निहुँमा उनीसँग बोल्ने बिचार गरेँ । दूधको बाल्टिन समाउँदै मैले रातो पिरो हुँदै सोधेँ, ‘के को दूध हो यो ?’ 

मेरो यो प्रश्नको कुनै अर्थ थिएन  । किनकि मैले गाई र भैँसीको दूध छुट्टाछुट्टै राख्नुपर्ने पनि थिएन  । न त गाई, भैँसीको दूधको फरक मूल्य निर्धारण गरिएको थियो । 

उनी अलि अलि लजालु मुस्कान छरिन् तर केही उत्तर नदिई त्यहाँबाट सधैँ झैँ निस्किइन् । 

उनी त्यो दिन केही नबोलेकीले फेरि अर्को बिहान मैले त्यही अर्थहीन प्रश्न दोहोर्‍याउने निधो गरे । 

त्यो दिन त मैले दूधको बाल्टिन आफ्नै हातमा राखेर सोधेँ । किनकि बाल्टिन हातमा पर्‍यो कि भागी हाल्थिन् ।

‘के को दूध हो यो ?’ मैले सोधेँ ।

उनी बोलिनन्, बरु मेरो हातको बाल्टिन खोसेर लिइन् र फर्किनै लाग्दा नशालु मुस्कानसहित भनिन्, ‘बल्लको दूध ।’ 

(स्थानीय भाषामा गोरुलाई बल्ल अथवा बल्लु भनिँदो रहेछ । यहाँ गोरुलाई गाई सम्झिनुपर्ने भयो ।) 

मेरो मनमा अनगिन्ती लड्डु फुटे उनको त्यो बोलीले । गाण्डीवबाट निस्किएका तीरसरी मेरो मुटु वारपार गर्‍यो । त्यो दिनदेखि मेरो मनमा उनको साम्राज्यले झनै डेरा जमाउन थाल्यो । आँखाभरि छाउन थाल्यो त्यो मन्द मुस्कान ।

स्कुलमा म भन्दा २ कक्षा पछाडि थिइन् उनी । हाम्रो कक्षाकोठा आमने सामने थियो । अब त किताब भन्दा बढी ध्यान उनीतिर  हुन्थ्यो । कतिबेला बाहिर आउलिन् भनेर झ्यालबाट हेरिरहेको हुन्थें । स्कुलमा भेटेर कुरा गरुँ गरुँ लाग्थ्यो एक मनले तर हिम्मत जुटाउन सकिँदैनथ्यो ।

मेरो मन अब किन पछि हटोस् । उनी प्रतिको चाहना झनै बढ्दै गयो । अर्को दिन बडो हिम्मत जुटाएर प्रेमपत्र लेखेर साथीमार्फत उनलाई दिने निधो गरियो । 

उनले सोही दिन बेलुका स्कुलमा मलाई खोजिरहेकी छिन् भन्ने चाल पाएँ । तर, पत्र लेखेको कुरा गएर सरलाई पो भन्ने हुन् कि भन्ने डर थियो । अनि म छुट्टी हुनु अगावै भागिसकेको थिएँ । पछि साथीमार्फत जवाफी पत्र पठाइन् । मेरो प्रेमपत्र स्वीकार गरेकी थिइन् ।

समय न हो, वसन्तमा उडेर हावामा बिलाएका बनमाराका फूलहरूसरि बित्दै गयो हाँसेर, नजर जुधाएर । स्कुलबाहेक अन्त पनि मेसो मिलाएर भेट भइरहन्थ्यो । 

दूध पुर्‍याउन बुवालाई पठाए, दूध अन्तै बेचेर रक्सी खाइदिनु हुन्छ । बुवाको यो बानीले घरमा अशान्ति छ । आमाले बेलुका दाउरा बेच्न पनि मलाई नै पठाउनु हुन्छ । घरमा काम सघाउनु पर्ने भएकाले पढ्न समय कम मिल्ने कुरा सुनाउँथिन् उनले । यसरी मलाई आफ्नै ठानेर सुखदुःख शेयर गर्थिन् ।

.....

एसएलसीपछि म उच्च शिक्षाका लागि काठमाडौँ लागे । अहिलेको जस्तो सामाजिक सञ्जालको प्रचलन थिएन । हामी सञ्चारविहीन भयौँ । बेला बेलामा उनको मुहार आँखामा आइरहन्थ्यो ।

त्यो घातक मुस्कान, आनीबानी अनि चिठ्ठी लेखेर काफलको रुखमुनि छोडेको सबै याद आइरहन्थ्यो । 

करिब दुई वर्षपछि म गाउँ फर्किए । उनलाई भेट्न निकै आतुर थिएँ । भेट पनि भयो । तर, त्यो भेट मुटु छिया छिया पार्ने खालको थियो । 

मलाई टाढैबाट देखेर उनी दगुर्दै मेरो छेउ आइन् । अघिपछि भेट्दा सधैँ अंगालोमा बेरिने उनी आज मेरो अगाडि टक्क अडिइन् । त्यो पर्खाल मर्यादाको थियो । हामीबीच उनको सिउँदोको सिन्दूर कुनै विशाल पर्खालझैँ उभियो । म झसङ्ग भएँ, जब उनको सिउँदो रङ्गिएको देखे ।

उनी डराउँदै बोलिन्, ‘मलाइ माफ गर, घरमा.. ।’ पूरा वाक्य बोल्न नपाउँदै उनका गला अवरुद्ध भए । 

आँ गर्दा अलङ्कार भनेझैं मैले बुझिसकेको थिएँ कि बुवाआमाले उनका इच्छा चाहनाको बलि चढाइ बिहे गरिदिएका थिए । किनकि उनीसँग छुट्टिनु अघि घरमा धेरै पढाउन सकिँदैन । छोरी भनेको अरूको घर जाने धन हो, जसलाई चाहिन्छ पढाउँछ भनेर बुवाले रक्सी खाको बेलामा भन्नु हुन्छ भनेर सुनाएकी थिइन् । 

मेरो मनमा घृणाको भावना पटक्कै आएन । किनकि मैले उनको बाध्यता बुझेको थिएँ । सिउँदोको सिन्दूरमा अरूकै नाम थियो तर आँखामा मेरै नाम देख्न सकिन्थ्यो । गाजल अरूकै थियो तर आँखाबाट बगेका आँसु मेरा लागि थिए । अरूले नै दिएको फूलबुट्टे कुर्ताले आङ छोपेकी थिइन् तर हृदय मेरै नामले छोपिएको थियो ।

मेरा आँखाहरू रसाउन थाले जब सुनाउन थालिन्, अहिले भारतबाट फर्किएपछि श्रीमान् पनि रक्सीले मात्तिने हुनुभाको छ । अस्ति झन्डै कुट्न आका । पढाइलाई निरन्तरता दिन्छु भन्दा सासूआमा भन्न्नु हुन्छ, आफू स्कुल जान्छेस् अनि म तेरो नोकर्नी बनेर घरमा बस्नु ?

यति कुरा गरेपछि अहिले जान्छु ल भनेर उनी गह्रुँगो मनले पाइला चालिन् । 

यति उनका भन्दा गह्रुँगा पाइला मेरा भए ।

काँडापारी, दार्चुला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहनदेव भट्ट
मोहनदेव भट्ट
लेखकबाट थप