आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोलकातालाई १ रनले हराउँदै लखनउ प्लेअफ चरणमा, अब १ टोलीको टुंगो लाग्न बाँकी

आइतबार, ०७ जेठ २०८०, ०७ : ०२
आइतबार, ०७ जेठ २०८०

काठमाडौं । लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको प्लेअफ चरणमा पुगेको छ । शनिबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित हासिल गर्दै लखनउ प्लेअफ चरणमा पुगेको हो ।

जारी आईपीएलमा अब प्लेअफ चरणमा पुग्ने १ टोलीको टुंगो लाग्न बाँकी छ । गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् ।

गुजरात १३ खेलबाट १८, चेन्नई १४ खेलबाट १७ र लखनउ १४ खेलबाट १७ अंक बटुल्दै प्रतियोगिताको प्लेअफ चरणमा प्रवेश गरेका हुन् । गुजरातले अझ १ खेल खेल्न बाँकी छ ।

टस हारी ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोलकाताले भने निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको लखनउका लागि तल्लोक्रमका ब्याट्सम्यान निकोलस पुरनले ५८ रनको योगदान गरे । उनले ३० बलको सामना गरी ५ छक्का र ४ चौका हिर्काए । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।

ओपनर ब्याट्सम्यान क्विन्टन डि ककले पनि २८ रन बनाए । प्रेरक मन्कादले टोलीका लागि २६ रन जोडे । आयुष बदोनीले पनि टोलीको खातामा २५ रन थपे । कोलकाताका बलर वैभव अरोरा, सार्दुल ठाकुर र सुनिल नारिनले २÷२ विकेट लिए ।

घरेलु मैदानमा जवाफी ब्याटिङ गरेको कोलकाताका लागि रिंकु सिंहले अविजित ६७ र ओपनर जासन रोयले ४५ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । मध्यक्रमका ब्याट्सम्यान रिंकुले ३३ बलको सामना गरी ४ चौका र ६ छक्का हिर्काए । जासन रोयले २८ बलको सामना गरी १ छक्का र ७ चौका प्रहार गरे ।

अर्का ओपनर वेंकटेस ऐयरले पनि २४ रन बनाएका थिए । लखनउका बलर रवी विस्नोई र यश ठाकुरले २÷२ विकेट लिए ।

चेन्नई भने शनिबार नै भएको दिवा—रात्री खेलमा दिल्ली क्यापिटल्सलाई ७७ रनको फराकिलो अन्तरले हराउँदै प्लेअफ चरणमा पुगेको हो । पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय २३ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको दिल्लीले भने निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमात्र बनाउन सक्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप