आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

भ्रष्टाचारको जरो राजनीतिमा हुन्छ

आइतबार, ०७ जेठ २०८०, १२ : ५५
आइतबार, ०७ जेठ २०८०

नक्कली भुटानी शरणार्थीको विषयलाई फरक ढङ्गले हेर्नुपर्छ । अहिले भइरहेको भ्रष्टाचार भनेको पावरमा हुनेले आफ्नो शक्तिलाई समाजको हितका लागि, राज्यका हितका लागि नभएर आफ्नो हितका लागि दुरुपयोग गरेको छ । त्यो अख्तियारको दुरुपयोग हो । 

अहिले सार्वजनिक भएको भ्रष्टाचार राज्यविरुद्धको अपराध मात्रै होइन मानवताविरुद्धको अपराध हो । कुनै एउटा मुलुकको नागरिक भनेको त्यो राज्यको सदस्य हो । नागरिक सार्वभौम व्यक्ति हो । नागरिक सार्वभौम सत्ता सम्पन्न हुन्छ, उसको एउटा भोटले शासनको बागडोरमा कोही एक जना पुग्छ भने अरू गल्लीमा पुग्छन् । त्यो सार्वभौम नागरिकलाई अनागरिक बनाएर अर्को मुलुकमा पठाउने कार्य कल्पना बाहिरको कुरा हो । यो मानवताविरुद्धको अपराध हो । यसका विरुद्धमा लाग्नु हामी सबैको दायित्व हो । 

सामान्यतया: मानिसलाई के लाग्छ भने आर्थिक क्षेत्रमा, औद्योगिक क्षेत्रमा मात्रै भ्रष्टाचार हुन्छ । होइन, भ्रष्टाचारको जरो भनेको राजनीतिमा हुन्छ । म राजनीतिशास्त्रको विद्यार्थी हुँ । ४० वर्ष पढाएँ मैले । झापा, विराटनगर, काठमाडौँमा पढाएको छु । मैले पाएको निचोड के हो भने जुनसुकै भ्रष्टाचारको पनि जरो भनेको राजनीतिमा हुन्छ । जबसम्म राजनीति सङ्लिँदैन तबसम्म भ्रष्टाचार हट्दैन । भ्रष्टाचार गर्नेको न जाति हुन्छ, न कुनै लिङ्गभेद हुन्छ, न कुनै पार्टी हुन्छ । भ्रष्टाचार भनेको भ्रष्टाचार नै हो । यसका विरुद्धमा लाग्नुपर्छ । जसरी हात धोयो भने हात सफा हुन्छ । खुट्टा धुँदा खुट्टा सफा हुन्छ । तर टाउकोबाट पानी खन्यायो भने शरीर सबै सफा हुन्छ । त्यस्तै गरी राजनीति भनेको टाउको हो । त्यसकारण राजनीति सङ्लो हुनुपर्छ । राजनीतिक व्यक्तिको आड नभई प्रशासनमा पनि भ्रष्टाचार बढ्दैन । 

अहिलेकै केस हेर्ने हो भने अनुभव नभएको टेकनारायण पाण्डेलाई गृह मन्त्रालयको सचिव बनाइयो । त्यहाँ राजनीतिक चलखेल भयो । उनी पनि त्यहाँ जान तयार भए । त्यो काम गर्न मञ्जुर भए । यसले गर्दा उनलाई नै सामेल गराएर यो काम भयो । 

आजका युवाहरूमा प्रायः राजनीतिप्रति वितृष्णा छ । राजनीति भनेको हाम्रो सरोकारको कुरा होइन भन्ने उनीहरूको सोच छ । तर एउटा महत्त्वपूर्ण कुरा के छ भने राजनीति मन पराए पनि मन नपराए पनि त्यसको प्रभावबाट तपाईं मुक्त हुन सक्नुहुन्न ।

त्यसभन्दा अगाडि भूमि सुधार कार्यालयमा हुँदा पनि उनले नीतिगत भ्रष्टाचारको अभ्यास गरे । २०२१ सालमा भूमि सुधार ऐन लागू हुँदा कृषि उद्यम गर्नेहरूका लागि जग्गा हदबन्दी लाग्दैन भन्ने कानुनी व्यवस्था गरियो । त्यही कानुनका आधारमा झापामा चिया उद्योग खोलियो । सो ऐनमा त्यसरी सञ्चालित कृषि उद्योग बन्द भएमा जग्गा राज्यको हुनेछ भन्ने प्रस्ट व्यवस्था थियो । प्रस्ट कानुन छ । त्यहाँ एक हजार बिघाभन्दा बढी जग्गा थियो । तर त्यो कानुन परिवर्तन गर्ने काममा यिनै पाण्डे संलग्न भए । 

कानुन परिवर्तन गरेर त्यति नै जग्गा अरूतिर किनेर चिया बगान सार्न पाइने व्यवस्था बनाइयो । त्यो बिर्तामोडसँग जोडिएको चिया उद्योग थियो । त्यस्तो प्राइम लोकेसनको जग्गा बेच्न पाउने बनाउन त्यहाँ पोलेसी करप्सन भयो । त्यो भूमिसम्बन्धी ऐनमै संशोधन गरेर सट्टाभर्ना गरेर जान सकिने र बेच्न सकिने बनाए । त्यो पोलिसी करप्सन कसले गर्छ भन्दा राजनीतिक नेताले गर्छन् । त्यसलाई फिडब्याक कसले दिन्छ भन्दा कर्मचारी प्रशासनले दिन्छ । 

आजका युवाहरूमा प्रायः राजनीतिप्रति वितृष्णा छ । राजनीति भनेको हाम्रो सरोकारको कुरा होइन भन्ने उनीहरूको सोच छ । तर एउटा महत्त्वपूर्ण कुरा के छ भने राजनीति मन पराए पनि मन नपराए पनि त्यसको प्रभावबाट तपाईं मुक्त हुन सक्नुहुन्न । जसरी काललाई पर सार्न सकिँदैन त्यसरी नै राजनीतिलाई पनि टार्न सकिँदैन । त्यसको अनुकूल वा प्रतिकूल प्रभावमा प्रत्येक नागरिक पर्छ । त्यस कारण राजनीति जान्नु पनि पर्छ र राज्यका नीतिहरू सही बनाउनका लागि आन्दोलनमा उत्रन जरुरी हुन्छ भने सडकमा आउनु पनि पर्छ । 

मान्नुहोस् तपाईं बक्सिङ रिङमा हुनुहुन्छ । तपाईंलाई राजनीतिले बक्सिङ हानिरहेको छ । तपाईंलाई राजनीति अलिकति थाहा भयो भने मात्र न रोक्नु हुन्छ, थाहा नै पाउनु भएन भने रोक्न सक्नुहुन्न । त्यस कारण राजनीति बुझेर राज्यलाई खबरदारी गर्नुपर्छ । नेतालाई खबरदारी गर्नुपर्छ । यो कुरा युवाले बुझ्नुपर्छ । 

नेपालीले कहिलेसम्म बलिदान दिने ? २०४६ सालमा हामीले आन्दोलन गरेका छौँ । ०६२–०६३ मा जनताले आन्दोलन गरे । परिवर्तन आयो । त्यो परिवर्तनको लाभांश खोइ ?

हामी नागरिक अगुवा भनेको ७०–८० उमेरका भइसक्यौँ । हामी अस्ताउँदो सूर्य भइसक्यौँ । यो अभियान भनेको लामो रिले दौड हो । यो दौडको जिम्मा हामीले युवालाई हस्तान्तरण गर्न सक्यौँ भने मात्रै नागरिक आन्दोलन जीवित रहन्छ । म हिजो पनि यो आन्दोलनमा सहभागी भएको थिएँ । यस्तै यस्तै गर्दै, थोरै थोरै हुँदै जाने हो । एउटा एउटा लट्ठी हुँदै सय लट्ठी बन्नुपर्छ । थोपा थोपा हुँदै सागर बन्ने हो । यसरी नै थपिँदै जाँदा हामी अगाडि बढ्न सक्छौँ । यो जोश हामी कायम राख्छौँ । यहाँ मात्रै भइरहेको छैन, नेपालका विभिन्न ठाउँमा पनि भ्रष्टाचारविरुद्ध आन्दोलन भइरहेको छ । अहिले नेपालमा के भइरहेको भनेर हरेक नागरिकको मन उद्वेलित भइरहेको छ । 

अब विदेशीले नेपाल त मान्छे बेच्नेहरूको मुलुक हो भन्न थाले । भुटानी नेता टेकनाथ रिजाललाई सरकारले सुविधा दिएरै राखेको थियो । उनका दुईवटा छोरा क्यानडामा थिए । उनलाई किन यस्तो काम गर्नुपर्‍यो ? भ्रष्टाचारको भाइरसले उनलाई पनि छोडेन । यी कुरालाई ध्यानमा राखेर हामीले कुन ढङ्गले हुन्छ यो आन्दोलनलाई अगाडि बढाउनुपर्छ । हामीले स्वरमा स्वर मिलाउनुपर्छ । त्यसपछि मात्रै हामी एउटा विन्दुमा गएर सफल हुन्छौँ । यस पटक भ्रष्टाचारविरुद्ध जुन ढङ्गले काम अगाडि बढेको छ यो रोकिनेवाला छैन । 

नेपालीले कहिलेसम्म बलिदान दिने ? २०४६ सालमा हामीले आन्दोलन गरेका छौँ । ०६२–०६३ मा जनताले आन्दोलन गरे । परिवर्तन आयो । त्यो परिवर्तनको लाभांश खोइ ? परिवर्तनको लाभांश नेपालीले पाउने होइन ? उनीहरूको दैनिक जीवनमा सुखसुविधा आउने होइन ? विकास र समृद्धिको लाभांश उनीहरूले पाउने होइन ? विकास हेरेर मान्छे सन्तुष्ट हुने कुरा होइन । विकास भनेको उपभोग गर्ने कुरा हो । प्रत्येक नागरिकले त्यो फल प्राप्त गर्न सक्नुपर्छ । अनि मात्रै त्यो विकासको अर्थ हुन्छ । 

यत्रो बलिदानपछि आएको परिवर्तन नेताका लागि मात्रै हो ? मुठ्ठीभरका प्रशासकहरूका लागि मात्रै हो ? यो आजको अहम् प्रश्न हो । त्यो प्रश्नको उत्तर नखोजी हुँदैन । हामीले प्रश्न गर्न छाड्न हुँदैन । त्यो प्रश्न गरेरै यसको उत्तर खोज्नुपर्छ र जवाफ माग्नुपर्छ । जवाफ भनेको यस पटक जो जो यसमा सहभागी छन्, ती कोही पनि बाँकी रहनुहुँदैन । यो सुरुवात हो । यसले यसभन्दा अगाडिका भ्रष्टाचारका विषयलाई पनि उठान गर्छ । एकै पटक सबै कुरा लिएर आयौँ भने हराउँछ त्यहाँ । जसरी गाउँमा चोर आयो चोर खोज्न मान्छे हिँडे चोर पोखरीमा हामफाल्यो । खोज्नेहरू पनि पोखरीमा हामफाले । गाउँकै चोर थियो चोर पनि चोर खोज्दैछ गाउँले पनि चोर खोज्दैछन् भन्ने स्थिति आउन सक्छ । त्यस कारण हामीले पहिले एउटा इस्यु जुन अहिले आएको छ यसलाई पार लगाऔँ । त्यो पार लगाएपछि बाँकी कहाँ जालान् ? यही मुलुकमा रहलान् । मुलुक नै छोडेछन् भने पनि इन्टरपोलमार्फत घोक्रेठ्याक लगाएर ल्याउन सकिन्छ ।

विराटनगरमा शनिबार आयोजित भ्रष्टाचारविरुद्धको अभियानमा पोखरेलले दिएको मन्तव्यको सार सङ्क्षेप ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा. कृष्ण पोखरेल
प्रा. कृष्ण पोखरेल
लेखकबाट थप