आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

ओलीको प्रश्न : बालुवाटारको ललिता निवास काण्ड लगायतका काण्डको छानबिन गर्न कसले रोक्यो ?

आइतबार, ०७ जेठ २०८०, १३ : ३६
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भष्ट्राचारीमाथि छानबिन गरी कारबाही गरिनेछ भन्ने कुराको कटाक्ष गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले भ्रष्टाचार भएका सबै विवादित काण्डहरूको छानबिन गर्न सरकारलाई चुनौती दिए । 

उनले भने– ‘सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ तर बालुवाटारको ललिता निवास काण्ड, मातातीर्थको जग्गा काण्ड, सर्दु जलाधार क्षेत्रको सट्टाभर्ना काण्ड, धोवीखोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद काण्ड, वाइड बडी काण्ड, क्यान्टोनमेन्ट काण्ड लगायतका विषयहरूमा जो विवादित छन्, अनुसन्धान र मुद्दा दायर गर्ने कार्य यथाशीघ्र गरिनेछ भन्न यो सरकारलाई कसले रोक्यो ? किन नगर्ने हो ?’ 

अध्यक्ष ओलीले अगाडि भने– ‘हामी भ्रष्टाचार यो समयको र उ समयको, यसले गरेको र त्यसले गरेको भन्दैनौँ । भ्रष्टाचार भ्रष्टाचार नै हो । यसको पद, जात, लिङ्ग र समय हुँदैन । इतिहासको जुनसुकै कालखण्डमा जो सुकैले गरेको भ्रष्ट्राचार छानबिनको दायरामा ल्याइनुपर्छ ।  सयौँ वर्षपछि पनि गलत कार्यको स्वीकारोक्ति, क्षतिपूर्ति र सजाय भइरहेका धेरै उदाहरण हामी विभिन्न देशमा भइरहेको देख्न सक्छौँ । यो सरकारले ढाकछोप गरेर इतिहासको विस्मृतिमा राखेर उन्मुक्त हुन खोजे पनि नेपाली जनताले छोड्ने छैनन् ।’ एक छिन भ्रष्ट्राचार ढाकछोप गरे पनि त्यसको असर फेरि फर्केर आउने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप