आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

भुटानी शरणार्थी प्रकरणमा सरकारले जुँगामा ताउ लगाउनुपर्ने कारण देख्दिनँ : ओली

आइतबार, ०७ जेठ २०८०, १३ : ५३
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भुटानी शरणार्थी प्रकरणमा काम गरेँ भनेर जुँगामा ताउ लगाउनुपर्ने कारण नदेखेको बताएका छन् । आइतबार संसद् बैठकमा बोल्दै ओलीले भुटानी शरणार्थी प्रकरण पहिलेदेखि नै आफू समाधान गर्न लागेकाले गृहमन्त्रीले उधुम हल्ला गर्न नहुने बताए । ‘सरकार बढो भ्रष्टाचार विरोधी च्याम्पियन जस्तो गर्दै छ । आफूले के–के नै गरेँ भनेजस्तो गरेर बाघ मारे जस्तो गर्दै छ । गृहमन्त्री उधुम हल्ला गरी राख्नुभएको छ’ ओलीले भने, ‘यसमा सरकारले जुँगामा ताउ लगाउनु पर्ने कारणै देख्दिनँ । यो काण्ड अघिदेखि चलिराखेको रहेछ ।’ 

आफू भुटानी शरणार्थीको सेटलमेन्टमा लामो समयदेखि लागेको ओलीले बताए । ‘भुटानी शरणार्थी व्यवस्थापनमा म निक्कै लागेको थिए । केही सञ्चारमाध्यमहरुले र केही व्यक्तिहरूले यो केपी ओलीले सुरु गरेको रहेछ । त्यसो भएको हुनाले केपी ओलीलाई किन नसमाउने भनेको सुनेँ’ ओलीले भने, ‘भुटानी शरणार्थी सेटलमेन्ट गर्न त्यत्रो पहल गरेकोमा धन्यवाद भन्ने कता छ कता छ । बुद्धिको बाटो उल्टोतिर भयो ।’ अमेरिकी राष्ट्रपतिदेखि विदेश मन्त्रीसँग छलफल गरेपछि २००८देखि २०१२ सम्म भुटानी शरणार्थी अमेरिका गएको ओलीले दाबी गरे ।

अध्यक्ष ओलीले सो प्रकरणको छानबिनमा हस्तक्षेप नगर्न पनि सरकारसँग आग्रह गरे । उनले भने, ‘म सरकारलाई भन्न चाहन्छु सभामुख महोदय, सरकारले यसमा, मन्त्रीपरिषद्का नेताहरूले हस्तक्षेप गर्नुपर्ने आवश्यकता छैन । प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुस् त ।’ 

ओलीले नक्कली भुटानी प्रकरणमा दोषीलाई उम्काउने कोसिस भइरहेको बताए । ‘केपी ओलीले अर्थोक गर्ला । बाघ भोकै पर्छ, गाँस खाँदैन भन्छन् नि । म्याऊ म्याऊ गर्दैन । र यस भ्रष्टाचारको कारबाहीलाई निष्पक्ष र तटस्थ ढङ्गले कोही पनि अपराधी नउम्कने गरी काम गर्नुपर्छ’ ओलीले भने, ‘कोही पनि दोषी नउम्कियोस्, निर्दोष कोही नफसोस् । फेरि एकपल्ट म दोहोर्याउन चाहन्छु–म तथ्य प्रमाणसहित भन्दै छु–दोषीलाई उम्काउने कोसिस भइरहेको छ ।’ 

उनले भने, ‘मैले भने नि जेठ १९ कि ३० मा परेको निवेदनअनुसार पक्राउ परेका मान्छे किन छोडियो ? पुलिसले छोडेको होइन । छोड्न लगाइयो, बाध्य बनाइयो । यत्तिकै छुटे मान्छे ? छोड्न लगाइयो । त्यसकारण यो खालको कर्महरू नगरिउन् ।’  अध्यक्ष ओलीले भ्रष्टाचारका सबै काण्डहरूको छानबिनमा आफ्नो पार्टीले सरकारलाई पुरै सघाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप