आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती सरकार : ५ महिनामा २ गठबन्धनबाट १९ मन्त्री

यस्तो बन्यो मुख्यमन्त्री जम्कट्टेलको टिम
आइतबार, ०७ जेठ २०८०, २३ : ०१
आइतबार, ०७ जेठ २०८०

मकवानपुर । आइतबार बागमती प्रदेशका नवनियुक्त ६ मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तारका लागि कार्य विभाजनसहित प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेका थिए । सोही सिफारिस अनुसार प्रदेश प्रमुख शर्माले कार्यविभाजन तोकेर मन्त्रीहरुको शपथ ग्रहण गराएका हुन् । योसँगै प्रदेश सरकारले पूर्णता पाएको छ ।

५ महिनामा २ गठबन्धनबाट १९ मन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलकै नेतृत्वमा ५ महिनाको अन्तरालमा २ वटा गठबन्धनका सरकार बनेको छ । सरकार परिवर्तन नभए पनि यसबीचमा प्रदेशमा फरक गठबन्धनमा सरकार बनेको हो । जसअनुसार अहिलेसम्म प्रदेश सरकारमा १९ जनाले मन्त्री बन्ने अवसर पाए ।

माओवादी केन्द्र, एमाले र राप्रपाको गठबन्धनबाट ११ र हाल कायम रहेको कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट ८ जना गरी कुल १९ जना यस बीचमा मन्त्री बनेका हुन् ।

गत पुस २५ गते तत्कालीन सत्ता गठबन्धनबाट सरकारको नेतृत्व गरेका माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जम्कट्टेलले पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, हाम्रो नेपाली पार्टी र एकीकृत समाजवादी पार्टीको सत्ता गठबन्धनको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री बनेका जम्कट्टेलले पुस २६ गते एमालेका जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरेका थिए भने राप्रपाका उद्धव थापालाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

माघ ३ गते संसदबाट विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेलले माघ ११ गते पुनः मन्त्रिपरिषद् विस्तार गरे । उनले तत्कालीन गठबन्धनका आधारमा एमालेबाट ३, माओवादीबाट ३ राप्रपाबाट २ मन्त्री नियुक्त गरेका थिए ।

योसँगै उनले प्रदेशको ११ मन्त्रालयमा माओवादीका ४, एमालेका ४ र राप्रपाका ३ मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका थिए ।

तत्कालीन गठबन्धनमा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशव प्रसाद पोखरेल कृषि तथा पशुपक्षी विकास मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा थिए ।

यस्तै, माओवादी केन्द्रबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री, युवराज दुलाल ‘शरद’ भौतिक पूर्वाधार विकास मन्त्री, कुमारी मोक्तान सामाजिक विकास मन्त्री र राप्रपाबाट उद्धव थापा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री, राजु विष्ट वन तथा वातावरण मन्त्री, डम्बर तामाङ पर्यटन उद्योग तथा सहकारी मन्त्रीको जिम्मेवारीमा थिए ।

राजनीतिक घटनाक्रम बदलिएसँगै सो गठबन्धन करिब २ महिनामै भत्कियो । राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै प्रदेशमा पनि त्यसको प्रत्यक्ष असर देखियो । सत्ता गठबन्धनमा कांग्रेसको प्रवेश भएसँगै प्रदेश सरकारबाट राप्रपा अलग भयो । माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीबीच सत्ता गठबन्धन बन्दा फागुन १३ गते राप्रपाका ३ मन्त्रीले सरकार छाडे । राप्रपाले सरकार छाडेपछि प्रदेशका ११ मन्त्रालयमध्ये ७ वटामा एमाले र माओवादी केन्द्रका मन्त्री कायम रहे भने ३ मन्त्रालय रिक्त बन्यो ।

रिक्त मन्त्रालयको जिम्मेवारी आफैँ मातहत राखेर ७ मन्त्रीसहित करिब २७ दिन मुख्यमन्त्री जम्कट्टेलले सरकार चलाए । त्यसपछि चैत १० गते एमालेले सरकारको साथ छाड्यो । सोही दिन एमालेका ४ मन्त्रीले सामूहिक रुपमा मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा बुझाएका थिए ।

त्यसपछि सरकारमा मुख्यमन्त्रीसहित ४ मन्त्री कायम रहे भने ७ मन्त्रालय मन्त्रीविहीन बन्यो ।

यस्तो बन्यो मुख्यमन्त्री जम्कट्टेलको नयाँ टिम

एमालेका मन्त्रीको राजीनामापछि चैत १० गते मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका गरी ६७ सांसदले विश्वासको मत दिए ।

नयाँ गठबन्धनबाट कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री जम्कट्टेलले प्रदेशस्तरको कार्यदल निर्माण गरे । तर, सो कार्यदलले दलीय भागबण्डा मिलाउन सकेन ।

कार्यदलबाट सहमति जुट्न नसकेपछि मुख्यमन्त्री जम्कट्टेलले गत चैत २६ गते प्रतिनिधिमुलक ढंगबाट कांग्रेसका २ सांसदलाई सरकारमा सहभागी गराएका थिए । जसमा कांगेसका संसदीय दलका नेता बहादुर सिंह लामा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त भएका थिए ।

सरकारमा कांग्रेसका २ मन्त्री नियुक्त गरेको करिब ४३ दिनसम्म प्रदेश सरकारका ५ मन्त्रालय मन्त्रीविहीन रहे । बजेट निर्माणको चर्को दबाबका बीच मुख्यमन्त्री जम्कट्टेलले भागबण्डा मिलाउन गत जेठ १ गते मन्त्री लामालाई प्रदेशको थप ३ मन्त्रालयको जिम्मेवारी थमाए भने अन्य २ मन्त्रालयको जिम्मेवारी आफै मातहत राखे ।

आइतबार सरकारलाई पूर्णता दिँदै मुख्यमन्त्री जम्कट्टेलले एक बिना विभागीय मन्त्रीसहित ११ मन्त्रीलाई कार्यभार तोकेका छन् । कांग्रेसका रामकृष्ण चित्रकारलाई बिना विभागीय मन्त्री, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय, पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्कालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, एकीकृत समाजवादीका लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय र डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले सरकारमा कांग्रेसका बहादुर सिंह लामा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, तीर्थ बहादुर लामालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिएका थिए भने माओवादी केन्द्रबाट गंगा नारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा छन् ।

मन्त्रालय विभाजन गर्न चाहन्न : मुख्यमन्त्री जम्कट्टेल

मुख्यमन्त्री जम्कट्टेलले तत्काल मन्त्रालय विभाजन नगरेको बताएका छन् । नव नियुक्त मन्त्रीहरुको शपथपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफू मन्त्रालय विभाजनको पक्षमा नरहेको समेत बताए ।

‘तत्काल मन्त्रालय विभाजन गरेका छैनौं । मन्त्रालय विभाजन नगर्नेमा अझै पनि मेरो अडान छ,’ उनले भने, ‘मन्त्रालय विभाजन गर्ने निर्णयमा पुगिसकेका छैनौं । मन्त्रालय र बिना विभागीय मन्त्रीको विषयमा छलफल गरेर अघि बढ्छौं ।’

मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ११ बनाउनुलाई मुख्य उपलब्धिको रुपमा प्रचार गर्दै आएका मुख्यमन्त्री जम्कट्टेलले आफ्नै निर्णय उल्ट्याएर सरकारलाई पूर्णता दिएका छन् ।

गत पुस २६ गते मुख्यमन्त्री पदको शपथ गरेलगत्तै उनले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गर्दै माघ १० गते १४ मन्त्रालयलाई ११ वटा कायम गरेका थिए । गठबन्धन फेरिएसँगै दलीय भागबण्डा मिलाउन उनले आइतबार ११ मन्त्रालयमा १२ मन्त्री नियुक्त गरे ।

सबैतिरको सन्तुलन मिलाउँदा र सरकारमा सहभागी दलको प्रतिनिधित्व मिलाउँदा केही जटिलता आएको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

‘हिजो एउटा किसिमको गठबन्धनमा थियौं । सोही अनुसार अघि बढेका थियौं । अहिले नयाँ ढंगको गठबन्धनबाट सरकार निर्माण भएको छ । सोही अनुसार हामीले सरकारलाई पूर्णता दिएका हौं,’ उनले भने, ‘अहिलेको परिस्थितिमा सरकारको पूर्णता मुख्य विषय थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप