आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भ्रष्टाचारविरुद्धको प्रदर्शन

‘देश नै अपराधीमा दर्ज हुन लागेपछि सडकमा आइयो’

अहिले पार्टी भ्रष्टाचारीले कब्जा गरेका छन् : पूर्व सांसद राई
आइतबार, ०७ जेठ २०८०, २१ : १२
आइतबार, ०७ जेठ २०८०

विराटनगर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गम्भीर काण्ड सार्वजनिक भएसँगै त्यसको विरुद्धमा विराटनगरमा सुरु भएको भ्रष्टाचार विरुद्धको वृहत् नागरिक अभियान ११ औं दिनमा पुगेको छ । 

‘साझा मञ्च साझा सवाल, भ्रष्टाचार सबैको सरोकार वृहत् नागरिक आन्दोलन, भ्रष्टाचार विरुद्धको अभियान’ नामक् अभियानका क्रममा युवा, विद्यार्थी तथा नागरिक अगुवाहरु आन्दोलनमा सहभागी छन् । 

विराटनगरमा लगातार ११ दिनसम्म चलेको प्रदर्शनमार्फत् विराटनगरवासीले सन्देश दिइरहेका छन्,‘भ्रष्टाचारी नछुटुन्, दोषीलाई हदैसम्मको कारबाही होस् ।’

यो अभियानको सुरुवात गर्ने व्यक्ति हुन् निवर्तमान प्रदेशसभा सांसद सूयर्माराज राई । अघिल्लो प्रदेशसभामा कोशी प्रदेशको नेपाली काँग्रेस संसदीय दलको सचेतक भएका राई स्पष्ट वक्ताको छवि बनाएका छन् ।

नक्कली भुटानी शरणार्थीको प्रकरणले नेपाल भनेको ‘नागरिक बेच्ने देश’ भन्ने सन्देश विश्वभर गएको छ । यस्तो अवस्थामा हामी चुप लाग्न सक्दैनौं । 

उनै राईले त्यसबेला पनि प्रदेशसभामा सुशासन र प्राकृतिक स्रोत साधनमाथिको दोहनको विषय खरो ढंगले उठाएका थिए । आफ्नो कार्यकाल सकिएसँगै राजनीतिक गतिविधिमा नदेखिएका राई अहिले भ्रष्टाचारको विषयमा भने अगुवाइ रहेका छन् । 

मोरङ कानेपोखरीका स्थायी बासिन्दा राई नेपालबाट भ्रष्टाचारको जरो नउखेलेसम्म देश समृद्ध बन्न नसक्ने र जनताले सुख नपाउने बताउँछन् । 

‘यो साझा चासोको विषय हो । यो दलभन्दा माथिको विषय हो । त्यसकारण म सडकमा आएको हुँ,’ उनी भन्छन्, ‘पार्टीभित्रै यो विषयमा संघर्ष गरेको भए पनि हुन्थ्यो । तर, पार्टी तिनै भ्रष्टहरुले कब्जा गरेका छन् । त्यसकारण त्यहाँ बहस नै हुन दिँदैनन् । बहस भयो भने पनि त्यतिधेरै महत्त्व दिँदैनन् । त्यसैले, जनता अन्तिम सत्य हो भन्दै सडकमा आएँ ।’उनको प्रश्न छ, यहाँ जनता र देश नै विक्री गर्ने अवस्था आएपछि टुलुटुलु हेरिरहन सकिन्छ त ?

उनी अभियानमा विराटनगरका स्वच्छ छवि भएकाहरूले साथ दिएको दाबी गर्छन् । ‘भ्रष्टाचारको विषयमा अज्ञानता, उदासीनता सँगसँगै कोही खान पल्केकाहरूलाई भ्रष्टाचार विरुद्धको आन्दोलनप्रति रिस र आक्रोश होला । तर, विवेक भएका स्वच्छ छविका भएकाहरू अभियानमा जोडिनु भएको छ,’ उनले भने । 

पार्टी नै भ्रष्टको कब्जामा रहेको बताउँदा तपाईँलाई कारबाही हुँदैन त ?भन्ने प्रश्नमा उनी भन्छन्, ‘म पार्टीले के भन्छ भन्ने विषयमा कुनै चिन्ता गर्दिन । अहिले पार्टी भ्रष्टाचारीले कब्जा गरेका छन् । त्यसकारण मैले उठाएको इस्युले भ्रष्टको कब्जाबाट पार्टीलाई बाहिर ल्याउनेछ । काँग्रेसको विचारको रक्षा पनि हुन्छ नि । त्यही भएर म कसैसँग डराउन्न ।’

उनले भ्रष्टाचार विरुद्धको अभियान सुरु गर्नुभन्दा अगाडि यो विषयमा तीन जना मन मिल्ने युवासँग बसेर छलफल गरे । स्वतन्त्र सामाजिक अभियन्ताहरुसँग पनि कुराकानी गरे । त्यसपछि अभियान सुरु भयो । 

‘पहिलो दिनमा २०–२५ जना मानिसले प्रदर्शन गर्ने भन्ने योजना बनाएका थियौं । तर, पहिलो दिनमै १ सय भन्दा बढी सहभागी भए,’ उनले सुनाए, ‘त्यसले हामीलाई ऊर्जा दियो । नागरिक आन्दोलनमा धेरै जनमानस उतार्ने भन्दा त्यसले दिने सन्देश प्रमुख हुन्छ ।’

निरन्तरको आन्दोलनमा मानिसहरु कुनै दिन कम र कुनै दिन उत्साहजनक उपस्थिति हुने गरेको उनको अनुभव छ । ‘सामाजिक मुभमेन्टमा मानिस कम आउनु नौलो कुरा होइन । यो पार्टीले जस्तो उर्दी जारी गर्ने विषय पनि होइन । स्वेच्छाले हुने कुरा हो,’ उनी भन्छन्,‘अहिले पनि कतिपयमा दुबिधा जस्तो र अन्यौलजस्तो अवस्था पनि छ । तर, पनि ११ औं दिनसम्म आइपुग्दा मानिसको निरन्तर सहभागिताले धेरै उत्साह थपेको छ ।’

त्यसो त उनको अभियानलाई समर्थन गर्ने छुट्टै टिम पनि छ । कतिपयले स्वतस्फूर्त सहयोग पनि गरिरहेका छन् । प्रचारको काममा युवाहरु आफैं पनि लागेका छन् ।नपुग खर्च उनीआफैंले व्यहोरेको बताउँछन् ।

अभियान जारी रहँदा उनलाई पार्टीभित्रैबाट दबाब र अरु बाहिरिया व्यक्तिहरुले खिसिट्यूरी पनि गरिरहेकै छन् । तर, आफ्नो अभियान निरन्तर चलिरहने उनको दाबी छ ।

नक्कली शरणार्थी प्रकरणबारे अदालतमा मुद्दा दर्ता नगरेसम्म अभियान जारी रहने उनले बताए । ‘अहिलेको आन्दोलनको नेतृत्व गरेको कारणले मेरो आलोचना गर्नेहरु पनि धेरै छन् । सबै ढंगले हतोत्साहित बनाउने, कमजोर बनाउन खोज्ने, डरत्रासको वातावरण सिर्जना खोज्ने कामहरू पनि भइरहेका छन्,’ उनी सुनाउँछन् । 

अबका दिनमा राजनीतिक दलहरुरुपान्तरण हुनुपर्ने उनको धारणा छ । अहिलेको आफ्नो अभियान पनि नैतिक तागत सिर्जना गर्नका लागि भएको उनको जिकिर छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप