आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओलीलाई नेपालको व्यङ्ग्य : आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति छ

सोमबार, ०८ जेठ २०८०, १२ : ५८
सोमबार, ०८ जेठ २०८०

 काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीको नामै नलिई उनले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताएका हुन् । 

आइतबार ओलीले सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रम स्विकार गर्न नसकिने अडानसहितको धारणा राखेका थिए । सोमबार अध्यक्ष नेपालले ओलीको सो अभिव्यक्ति अरूलाई घोचपेज हुने गरी आएको भन्दै आलोचना गरे । उनले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरूलाई दोष नदिन ओलीलाई सचेत गराए । 

अध्यक्ष नेपालले भने, ‘यो देशलाई बनाउन सकिन्छ । त्यसका लागि हामीहरुबीच सहकार्यको आवश्यकता छ । एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन । आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन । सरकारमा बस्न सकिएन । त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन, त्यसको पछाडि पनि अरूलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको निम्ति अरूलाई सत्तोसराप गरेर पनि हुँदैन । त्यसो हुनाले सबभन्दा ठुलो समस्या के छ भने आफू भित्र के कमीकमजोरी रहेँ । त्यसको हामी सबैले समीक्षा गरौँ । कमीकमजोरी भएका छन् भने ती कमीकमजोरीको पहिचान गरौँ । त्यसलाई सुधार गरौँ । अहिले म समस्या देखिराखेको छु । हामी कहाँ सबभन्दा ठुलो समस्या यो व्यक्तिवादको रोग हो ।’

उनले थपे, ‘दोस्रो भनेको आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो । अनि, तेस्रो अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति हो । अरूको ज्ञान, अरूको बुद्धि र सबैको साथ लिने भन्दा पनि अनि आफ्नो पाराले चल्ने प्रवृत्ति पनि हो । यसबाट मुक्त हुन सकिएन भने, यो व्यक्तिवादको रोगबाट मुक्त हुन सकिएन भने अनि भ्रष्टाचारबाट चुर्लुम्म डुब्ने प्रवृत्तिबाट मुक्त भइएन भने, कुरा एउटा, काम अर्को । हाम्रो के छ भने ठूल्ठूला उपदेशहरू छाँट्ने प्रवृत्ति ज्यादा छ । तर व्यवहारमा लागू गर्ने प्रवृत्ति कम छ । साँचो अर्थमा हामीमा इमानदारिता छ भने कुनै पनि समस्याको समाधान गर्न सकिन्छ । म सभामुखजीमार्फत् प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु–तपाई इमानदारिताका साथ अगाडि बढ्नोस् । लगनशीलताका साथ अगाडि बढ्नोस् । र, यो भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्नु होस । स्वच्छ सरकार यो देशलाई प्रदान गर्नुहोस् । गतिशील सरकार यो देशलाई प्रदान गर्नुहोस् । र, काममा इमानदारसाथ खट्नेहरु र काम ठगहरू अनि सत्ताको दुरुपयोग गर्न खोज्नेहरू को–को हुन्, त्यसको पहिचान गरेर खराब तत्त्वहरूलाई दण्डित गर्नुहोस् । असलहरूलाई प्रोत्साहित गर्ने काम गर्नुहोस् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप