आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययनमा सरकारी वकिल कार्यालय, यसरी हुँदैछ दुई दिनभित्र मुद्दा दायर

सोमबार, ०८ जेठ २०८०, १५ : ०२
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन धन्दाको अनुसन्धान प्रतिवेदन बुझाएसँगै सरकारी वकिलको कार्यालय उक्त प्रतिवेदन अध्ययनमा जुटेको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले प्रहरी कार्यालयबाट प्रतिवेदन अध्ययनको क्रममा रहेको बताए । उनका अनुसार प्रहरीले सोमबार अध्ययन प्रतिवेदन सरकारी वकिल कार्यालयमा हस्तान्तरण गरेको हो । 

अब प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा सरकारी वकिलको कार्यालय अघि बढ्ने उनको भनाइ छ । प्रतिवेदन अध्ययनपछिमात्रै सरकारी वकिलको कार्यालयले अभियोग पत्र तयार गर्ने छ । 

‘नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरीले अनुसन्धान सकेर मुद्दा हामीसँग आएको छ । प्रहरी अनुसन्धानमा के देखियो,आधार प्रमाणहरु के हुन् । को–को विरुद्ध मुद्दा चल्ने वा नचल्ने अवस्था हो । कस्तो अपराध हो । कति कसुर वा बिगोको माग दाबी कति हो भन्ने पछिका कुरा हुन् । हामी सुरुवातमा मुद्दाको अनुसन्धानको विश्लेषण गर्छौं । आधार प्रमाणहरु हेर्छौं’, उनले सञ्चारकर्मीहरुसँग भने, ‘यो आधारमा हामी निर्णय गर्छौं । ’

उनले जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन सकेर बुधवारसम्म जिल्ला अदालतमा अभियोग पत्र दायर गर्नेगरी तयारी भइरहेको बताए । उनले क–कसलाई के—के मुद्दा लगाउने भन्ने विषयमा सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने बताए । 

‘अदालतमा मुद्दा लाने समय १० गतेसम्म रहेकाले त्यही समयमा प्रतिवेदन हेरेर लैजान्छौं । पक्राउ परेकाहरुलाई ठगी र संगठित अपराध र राज्य विरुद्धको अपराधको मुद्दा लाग्ने सम्भावना रहेको छ ,’ उनले भने । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तीमा ३२ जना संलग्न रहेको निष्कर्ष प्रहरीले निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप