आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली शरणार्थी प्रकरणमा भ्रष्टाचार र अकुत सम्पत्तिको अनुसन्धान गर्न अख्तियार र सम्पत्ति शुद्धिकरणलाई प्रहरीको पत्र

सोमबार, ०८ जेठ २०८०, १८ : २५
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धानका लागि काठमाडौँ प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पत्र पठाएको छ । सार्वजनिक पद धारण गरेका बालकृष्ण खाँण, टोप बहादुर रायमाझी, इन्द्रजित राई, टेक नारायण पाण्डे लगायतका व्यक्तिहरुको भ्रष्टाचारको विषयमा थप अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरले अख्तियारलाई पत्र पठाएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दान बहादुर कार्कीका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले भ्रष्टाचार गरेको सम्बन्धमा थप छानबिनका लागि परिसरले अख्तियारलाई पत्र पठाएको हो । 

त्यसैगरी सार्वजनिक पद धारण नगरेका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा लगायतका बिचौलियाहरूको हकमा अकुत सम्पत्तिमा छानबिनका लागि परिसरले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत पत्र पठाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले आफ्नो सीमित समय र अनुसन्धानको दायरा फराकिलो बनाउन नसकेको र कतिपय विषय आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेको भन्दै उनीहरुको सम्पत्तिको छानबिन तथा भ्रष्टाचारका सम्बन्धमा थप अनुसन्धानका लागि अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई गुहारेको हो । 

सोमबार मात्रै जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाएर २७ करोड ५० लाखको बिगो दाबी लिएर मुद्दा चलाउनुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा रायसहितको प्रतिवेदन बुझाइसकेको छ । पक्राउ परेका १६ जना र फरार रहेका थप १६ जना गरी कुल ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । 

प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन हाल अध्ययनकै क्रममा रहेको र बुधबार काठमाडौँ जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गर्ने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले रातोपाटीलाई बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप