आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केपी ओली र चन्द्र भण्डारीको भेट–‘मैले आमा बितेको २ महिनापछि मात्रै थाहा पाएँ’

बुधबार, १० जेठ २०८०, १५ : ४९
बुधबार, १० जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसद चन्द्र भण्डारीलाई भेटेर स्वास्थ्यलाभ भएकोमा खुसी प्रकट गरेका छन् । 

बुधबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएर सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेका सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष ओली पुगेका थिए ।  

भेटमा भण्डारीले ओलीलाई भने,‘मेरो बारेमा तपाईँले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ ।  गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो । थ्याङ्क यू सो मच ।’

ओलीसँगको कुराकानीमा उनले स्वास्थ्य लाभ भइरहेको र आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएको सुनाएका थिए । 

सो भेटमा एमाले अध्यक्ष ओलीले भने, ‘तपाईँ फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो । निको भएर आएपछि भेट भयो । खुसी लागेको छ ।’

सांसद भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न ध्यानाकर्षण गरेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जनाएका छन् । 

सभामुख घिमिरेले एक साताअघि निवासमै गएर भण्डारीसँग भेट गरेका थिए । सभामुखले भण्डारीको इच्छाअनुसार नीति तथा कार्यक्रममा बोल्न विशेष व्यवस्था मिलाएका थिए । 

ओली र भण्डारीको साथमा रहेका सभामुख घिमिरेले भने,‘जलनबाट घाइते हुनुभएका माननीय चन्द्र भण्डारीलाई भेट्न एक साताअघि उहाँ आराम गरिरहनुभएको निवास पुगेको थिएँ । माननीयज्यूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा हुने इच्छा राख्नुभएको थियो । उहाँको इच्छाअनुसार संसद् सचिवालयलाई बोल्न विशेष व्यवस्था मिलाउन निर्देशन दिएको थिएँ । आज माननीयज्यूले सदनमै आएर सम्बोधन गर्नुभएको छ । उहाँलाई सम्बोधनपछि कार्यकक्षमा नै स्वागत गर्ने र पुनः स्वास्थ्यलाभको कामना गर्ने अवसर पाइयो । पुनः माननीयज्यूको स्वास्थ्य लाभको कामना गर्दछु ।’

गत पुस ३ गते सांसद भण्डारी आफ्नै घरमा ग्याँस लिकबाट भएको आगलागीमा परेका थिए भने सोही घटनामा परेर आमा गुमाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप