मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रेमका नाममा कसरी बढिरहेछ अपराध ?

आइतबार, २७ फागुन २०७४, १२ : २४
आइतबार, २७ फागुन २०७४

शैलेन्द्र थापा

एक हप्ताअघि आफ्नै  प्रेमिकालाई  हत्या  गरी  काली  गण्डकी नदीमा  बगाउने पर्वत बिहादी गाउँपालिका का २३  वर्षीय युवक प्रदीप पराजुली यतिखेर  जेलमा छन् । उनले कमला शर्माले आफू गर्भवती  भएको  र  बिहेको प्रस्ताव  गरेपछि उनले नै  लगाएको सलले घाटी बाँधेर  काली   गण्डकी नदीमा बगाएका थिए । रामेछाप रस्नालुकी २३ वर्षीया सञ्चिता तामाङको दोलखा पैतेश्वरका प्रशान्त तामाङले घाँटी थिचेर हत्या गरे ।

उनीहरू  दुवै जना प्रेम सम्बन्धमा थिए । सञ्चिता गर्भवती भइन् तर उनले गर्भपतन गराइन । यसै विषयमा भएको विवादका क्रममा गत वैशाख  ८ गते काठमाडौँ गङ्गाहिटी स्थित सञ्चिताकै कोठामा हत्या गरी प्रेमी प्रशान्त फरार भए । हत्यालगतै फरार रहेका उनी जेठ २४ गते पक्राउ  परे ।

गत चैत्रमा काठमाडौँका व्यापारी श्यामसुन्दर अग्रवाल अपहरण काण्डमा जोडिएकी राधिका श्रेष्ठ हत्या काण्डमा पनि उनकै प्रेमी प्रकाश  लामिछानेको  संलग्नता थियो । काठमाडौँ मख्खन गल्लीमा कपडाको व्यापार गर्दै आएका अग्रवालको लामिछानेले प्रेमिका राधिका श्रेष्ठको सहयोगमा अपहरण गरी सुन्धारास्थित एक होटलमा बन्धक बनाई फिरौती लिएका थिए । तर अपहरणपछि पोल खुल्ने डरले प्रेमी  लामिछानेले प्रेमिका राधिका श्रेष्ठको हत्या गरी फरार भएका थिए । उनले हत्याको क्रममा  किशोर गिरी र सरोज घोरासैनीको समेत सहयोग  लिएका थिए । 

गत भाद्र पहिलो साता काठमाडौँको गौशलास्थित एक होटलमा सिन्धुलिका २७ वर्षीय अविनाश थिङले १८ वर्षीया प्रेमिका सोनिका श्रेष्ठको हत्या गरे । लामो समयको मित्रता प्रेम हँुदै शारीरिक सम्पर्कसम्म पुगेपछि श्रेष्ठले विवहाको कुरा उठइन् । यही कुरा पछि विवादमा  परिणत भयो । प्रेमीकाको विवहा गर्ने दबाब अस्विकार गर्दै थिङले हत्यासम्मको अपराध गरेका थिए ।
केही महिनाअघि मात्र प्रेममा धोका भएको भन्दै धादिङका २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैँडाकोटकी २७ वर्षीय तुलसा  सापकोटाको एसिड प्रहार गरी हत्या गरे । प्रारम्भिक अनुसन्धानमा देखिए अनुसार उनीहरू केही वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

गत असोज पहिलो साता रामेछाप भलुबाजोरका आसमान तामाङले श्रीमती चमेली तामाङको हत्या गरी आफूले पनि आत्महत्या गरे । चमेली आसमानकी आठौँ श्रीमती थिइन् । यता चर्चित फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको पनि उनकै प्रेमी आशीष चौधरीले हत्या गरेका थिए । यीमाथिका केही प्रतिनिधि घटना मात्र हुन् । जहाँ माया प्रेम शारीरिक सम्बन्ध र हत्या जोडिएका छन् ।

माया प्रेम त वास्तवमै मायालु र सुखी हुनुपर्ने हो तर हालैका दिनमा हत्याका थुप्रै घटना माया प्रेम बनेको छ । एउटा युवती आफूलाई मन पराएको युवकसँग सुरक्षित र खुशी महशुस गर्नुपर्नेमा त्यसको ठीक उल्टो असुरक्षित र मृत्यु वरणको स्थितिसम्म पुगेका छन् । प्रविधिको बढ्दो विकाससँगै विपरीतलिङ्गीप्रतिको भेटघाट र चिनजान तीव्र हुँदै जाँदा ती सम्बन्ध अपराधतर्फ उन्मुख भइरहेका छन् । सामाजिक सञ्जाल मार्फत भएको चिनजान आपसी प्रेममा परिणत भएका छन् भने त्यो हत्यासम्म पुग्न पनि समय लागेको देखिँदैन । यसमा आफ्नो शारीरिक आवश्यकता पूरा गर्ने लक्ष्य बढी देखिएको छ । नत्र आफूले माया गरेको वा मन पराएको मान्छेको हत्या गर्नेसम्मको आँट त्यति सजिलै गर्न सकिन्न । माया त आखिर माया हो, जुन भावनामा बग्दछ तर देह सुखका लागि गरिएको प्रेम अपराधमा गएर टुङ्गिन्छ ।

समयको विकास क्रमसँगै बढेका इच्छा आकाङ्क्षा पूरा गर्न प्रेमी वा प्रेमीकाको साहारा लिने तर पछि त्यही सहारा अपराधतर्फ उन्मुख भएका थुप्रै उदाहरण पाइन्छ । प्रेम गर्ने, शारीरिक सम्पर्क राख्ने तर गर्भवती भए पछि स्वीकार्न नसक्दा प्रेम अपराधमा गएर टुङ्गिएको छ भने कतै चाहिँ प्रेमिका भनेर विश्वास गर्ने र ठूलो धनराशिसमेत खर्च गरी सक्दा प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै हत्या भएका छन् । यसका साथै प्रेमीको भनाइ अनुसार नचल्दासमेत हत्या भएका छन् । प्रेम दुई आत्माको मिलन हो वा प्रेम पवित्र हुन्छ, आदि कुरा जुन बेला मनन गरिँदैन तब यस्ता अपराधका घटना हुन्छन् । प्रेम अन्धो हुन्छ, (दृष्टिविहीन भनिनुपर्ने हो  तर नेपाली उखानलाई समावेश गरिएको) त्यही अन्धोपनले अपराध निम्त्याउँछ भनेजस्तै भएको छ । आवेगमा आएर हत्या गरिएको भने पनि एक प्रेमीको मनमा रहेको तनाव प्रेमीकाले मलाई अप्ठ्यारो पर्दै छ भन्ने सोचाइबाट आएको हुन्छ । तब उसले आफ्नो साथ र सम्पर्कबाट उनलाई टाढा राख्न खोज्छ र परिमाण हत्या सम्म पुग्छ । अधिकांश अवस्थामा जब एक युवक युवतीप्रति आकर्षित हुन्छ तब उसले ती युवतीलाई आफ्नो प्रेमिका बनाउन वा उनीसँग नजिक हुन र प्रेममा पार्न हरसम्मको प्रयास गर्छ । थुप्रै खतराको सामना गर्छ तर जब युवती मायामा पर्छिन तब् युवक उनलाई अपनाउने मनस्थितिमा छैन भने युवक केही पछि हट्न खोज्छ तर त्यस बेला युवती खतरा मोल्न तयार हुन्छे । हो, यहीँबाट विवाद सुरु हुन्छ । अझ अनुहार र कसैको धन सम्पत्ति हेरेर गाँसिएको मायाप्रिति देह सुखमा रमाएको प्रेम ती सबै प्राप्त भएपछि छुट्काराको प्रयासमा लाग्छ । विवाद सृजना हुन्छ । माया प्रेममा भावना हुनुपर्नेमा बनावटी र देखावटी बढी हुँदा माया धेरै दिन टिक्दैन र अपराध कर्मतर्फ घटना मोडिन्छ । 

त्यसैले कोही युवक माया गर्दै छ कि मायाको नाटक गरेर शारीरिक आवश्यकता पूरा गर्न खोज्दै छ । कोही युवती माया गर्दै छिन् भने केही स्वार्थ पूरा गर्न भन्ने कुरा बुझ्न जरुरी छ । यसमा सामाजिक रूपमा बढ्दै गएको विकृति धर्मसंस्कृति नमान्ने प्रवित्ति तथा बढ्दो फेसन पनि त्यतिकै जोडिएर आउँ छ । वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्माको भनाइलाई आधार मान्ने हो भने माया प्रेम शारीरिक सम्पर्क अनि हत्या “एन्टी सोसियल पर्सनालटी डीसअडर” (गैर सामाजिक व्यक्तित्व विकार) हो । जहाँ दया माया केही हुँदैन हुन्छ त केवल स्वार्थ र व्यक्तिगत इच्छा र यस्ता व्यक्तिहरूमा घटनापछि पनि कुनै प्रकारको हिनता वा ग्लानि नहुन सक्छ र यस्ता व्यक्तले गरेको माया बनावटी हुन्छ । बढ्दो सामाजिक सञ्जालको प्रयोग, इच्छा आकाङ्क्षा बढ्नु र प्रेमलाई फेसनको रूपमा लिनु आदि पनि यस प्रकारका घटनाको कारण रहेको डा. शर्माको ठम्याइ छ ।

 प्रेम कसैले चाहेर वा नचाहेर हुने होइन । तर प्रेमभित्रको अपराध चाहिँ धेरै अवस्थामा जानीजानी हुने गरेका छन् । अत्यन्तै छिटो विश्वास गर्ने र प्रेम पछि तुरुन्तै देह सुख खोज्दा आउने परिणाम अपराधसम्म पुगेर टुङ्गिने यथार्थ नेपाली समाजमा बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत चिनेर वा रूप, वैश र पैसाको आडमा गरिएको प्रेम कति टिकाउ होला आफै बुझ्न सकिन्छ । यस हिसाबले पनि नेपाली समाजमा प्रेमको नाममा जघन्य अपराध बढदै गएको छ ।

यसका लागि प्रत्येक व्यक्ति र आम जनसमुदाय सचेत हुनुपर्ने जरुरी छ । माया र प्रेमका नाममा हुने जघन्य अपराध अन्ततः सामाजिक विकास र समाज रूपान्तरणको समस्याका रूपमा खडा हुन सक्नेतर्फ त्यतिकै सचेत हुन जरुरी छ । उमेरको जोशमा होस् गुमाउँदा आइपर्न सक्ने समस्या र चुनौतीको विषयमा व्यक्ति स्वयम् सचेत हुन जरुरी छ भने मायाँ र प्रेम केको लागि हो वा कसैले चाहे त्यो केटा होस वा केटी मलाई कोही किन मायाँ गर्दै छ ।

कतै यो सुनेर बनावटित होइन भन्नेतर्फ पनि उत्तिकै सचेत हुनु जरुरी छ । मायामा भवना हुन्छ र दुई आत्माको मिलन हुन्छ तर उल्लेखित घटनाहरूलाई विष्लेषण गर्ने हो भने त्यो कतै भएको अभाव मिल्दैन । त्यस्तो अवस्थामा जब इच्छा पूरा भइसक्दछ अनि सम्बन्धलाई अगाडि बढाइ रहनुपर्ने कुनै जरुरी देखिँदैन तब ती सम्बन्ध अपराध कर्ममा गएर टुङ्गिन्छन् । यस्ता प्रकारका विकृति रोक्न र अपराधको शिकार हुनबाट बच्न स्वयम्  व्यक्ति सचेत हुनुपर्ने जरुरी छ ।

लेखक सशस्त्र प्रहरी निरीक्षक हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप