आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जलहरी प्रकरण

पशुपतिको जलहरी पित्तलको हो ? यस्तो छ महालेखाको प्रतिवेदन

शुक्रबार, १२ जेठ २०८०, १४ : ३१
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । सत्तासिन माओवादीका सांसदले पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएकोमा आपत्ति जनाउँदै एमालेका सांसदहरुले शुक्रबार प्रतिनिधिसभा बैठकमा नारावाजी गरे । एमाले सांसदको नारावाजीका कारण बैठक अवरुद्ध भयो ।

जेठ १० गते बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा विभिन्न भ्रष्टाचारको काण्ड भएको आरोप लगाएका थिए । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपालको वैदेशिक ऋण ७ खर्बबाट १७ खर्ब कसरी पुग्यो भन्दै प्रश्नसमेत गरे ।

सांसद दाहालले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भन्दै पित्तल लगाएर भ्रष्टाचार गरेको आरोपसमेत एमालेमाथि लगाएका थिए । ‘गएको ३ वर्ष उहाँ (ओली) सरकारमा जाँदा ७ खर्ब ऋण थियो भने सरकार छोड्दा १७ खर्ब ऋण कसरी पुग्यो ? यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्दा उहाँ सरकारमा छँदा कति भ्रष्टाचार काण्ड आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको २ अर्बको भ्रष्टाचार । त्यतिमात्र हैन, पशुपतिनाथमा जलहरी लगाउँदा पनि सुन भनेर पित्तल लगाइदिएको सयौँ यस्ता भ्रष्टाचारका काण्ड छन्,’ सांसद दाहालले भनेका थिए ।

महालेखाको प्रतिवेदनमा के छ ?

पशुपतिमा सुनको जलहरी लगाउँदा अनियमितता भएको र चार किलोभन्दा बढी सुनको हिसाब नदेखिएको महालेखा परीक्षणको कार्यालयले जारी गरेको उनान्साठीऔं प्रतिवेदनमा उल्लेख छ ।

महालेखाको प्रतिवेदनमा ‘जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन’ भन्ने उल्लेख  छ ।

‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रु.८० करोड ११ हजारमा खरिद गरेको छ । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको उल्लेख छ,’ महालेखाले भनेको छ, ‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन ।’

Sun Jalahari Bare Mahalekha

महालेखाले जलहरी निर्माणको ज्याला खर्चमा पनि प्रश्न उठाएको छ र भनिएको छ, ‘जलहरी निर्माण कार्यको लागि दाताबाट व्यहोरेको रकमको हिसाब लेखाङ्कन गरेको छैन । पाटन औद्योगिक क्षेत्रको एक रोलिङ मिल्समार्फत उक्त निर्माण कार्य गराएकोमा मिल्ससँग सम्झौता र संलग्न १३ जना कालीगढलाई भुक्तानी भएको विवरण पेस गरेको छैन । सबै प्रकारका आम्दानी र खर्चको विवरण कोषबाट नै लेखाङ्कन हुनुपर्नेमा परिषद्ले दातामार्फत ज्याला सोझै भुक्तानी गर्ने व्यवस्था उल्लेख गरेकाले दाताबाट प्राप्त नगद एवं जिन्सी आम्दानी खर्चको लेखाङ्कन नभएकाले जलहरी निर्माण कार्यमा भएको खर्चको यथार्थ यकिन हुन सकेन ।’

प्रतिवेदनमा सो रकम यकिन गरी कोषको खातामा आम्दानी बाँधिनुपर्ने र नियमावली अनुसार प्राप्त चन्दा अनुदान भेटीघाटी लगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्ने व्यवस्था गरिनुपर्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप