आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शिक्षा बहस

सबै विषय पढेकाले शिक्षक लाइसेन्स दिन पाउने व्यवस्था ठिक कि बेठिक ?

बुधबार, १७ जेठ २०८०, ०६ : १९
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । सरकारले सबै विषय पढेकाहरूले शिक्षक लाइसेन्स दिन पाउने व्यवस्था गर्न लागेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त घोषणा गरेको  हो । 

हालसम्म शिक्षा विषय लिएर पढेको वा शिक्षण अभ्यास तालिम लिएकालाई लाइसेन्स दिन पाउने व्यवस्था थियो । अब सरकारले सबै विषय पढेकाले पनि लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था गरिने बताएको हो । 

हालसम्म विज्ञान, लेखालगायत केही विषय पढेकाले शिक्षक लाइसेन्स परीक्षामा सहभागी हुन पाउँदैनन् । यसका लागि उनीहरूले निश्चित समय शिक्षण अभ्यास तालिम लिएको हुनुपर्ने व्यवस्था छ । लाइसेन्स परीक्षामा जुनसुकै विषय पढेकाहरू सहभागी हुन पाउने व्यवस्थाले शिक्षामा भइरहेको जनशक्ति अभाव पूरा गर्ने लक्ष्य सरकारको छ । 

सबै विषय पढेकाले लाइसेन्स परीक्षामा सहभागी हुन पाउने विषय यतिबेला बहसमा आएको छ । यसबारे मिश्रित प्रतिक्रिया आइरहेको छ । शिक्षासँग सम्बन्धित सरोकारवालासमेत यो विषयमा विभाजित देखिएका छन् । शिक्षाविद् डा. मनप्रसाद वाग्ले यो विषय अनौठो भएको प्रतिक्रिया दिए । 

‘अहिलेसम्म बीएड वा एमएड पास गरेकोले मात्र दिन पाउँछन् । बजेटले कुनै पनि विषय पढेकाले भाग लिन पाउने भनिदियो । यो भनेको शिक्षाशास्त्र संकायको भूमिकालाई नजरअन्दानज गरिदियो,’ शिक्षाविद् वाग्लेले भने ।

यसको अर्थ तालिमप्राप्त नभएका पनि शिक्षक हुन पाउने संकेत गरेको उनको भनाई छ । विश्वमा प्रचलित मानक् शिक्षकको तालिमको रूपमा रहेको यसलाई सरकारले कुल्चिने काम गरेको वाग्लेको भनाई छ ।  

‘अन्य देशहरूमा पहिला ट्रेनिङ, अनि लाइसेन्स र त्यसपछि कुनै पनि आवेदन दिन योग्य हुन्छ भन्ने छ । हामी उच्च शिक्षामा पनि यो विषय लागू गर्नुपर्छ भनेर विश्वविद्यालय अनुदान आयोगसँग छलफल चलाइरहेका छौं । आयोगले पनि यसलाई स्वीकार गर्न सुरू गरेको छ । तर, बजेटमा यस्तो आउनु भनेको खतराको कुरा हो,’ डा. वाग्लेले भने । 
अर्का शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले भने यो एकदमै राम्रो रहेको प्रतिक्रिया दिए । 

‘यो एकदमै ठिक गर्यो । सन् १९५४ मा शिक्षाशास्त्र अध्ययन शास्त्र अध्ययन संस्थानको सुरूवातदेखि नै विषयगत दक्षता भएको मान्छे भर्ना गर्ने कि सीपयुक्त मान्छे भर्ना गर्ने भन्ने लडाई रहेछ,’ प्राडा कोइरालाले भने, ‘त्यो बेलाको लडाईलाई कन्टेन भर्सेज पेडागोजी भन्थे । त्यो भनेको कस्तो रहेछ भने विषयगत दक्षता पनि छैन, किनभने त्यो बेला मान्छे नै थिएनन् ।’ 

शिक्षण कलामा दक्षता नभएपछि त्यो बेला संयुक्त रूपबाट लाने र विषय पनि पढाउने र शिक्षण विधि पनि पढाउने भनेर अघि बढेको उनको भनाई छ । त्यही आधारमा सबै प्रक्रिया अगाडि बढेको र जुन अहिलेसम्म नै चलिरहेको बताए । 

विस्तारै विषयवस्तु घटाउँदै लगेको र कोर्षसमेत कमजोर बन्दै गएको उनको भनाई छ । त्यसको असर अहिले शिक्षक सेवा आयोगले लिने परीक्षामा समेत देखिएको छ । 
‘शिक्षाशास्त्र विषय पढेको विद्यार्थीले पेडागोजीमा राम्रो गर्दो रहेछ । अरू विषय पढेकोले अरूमा राम्रो गर्न सक्ने र पेडोगोजीमा राम्रो गर्ने देखिएन । ’ उनले भने । 

अहिले विद्यार्थीहरू धेरै विषयमा जानकार भइसकेको भन्दै विगतको जसरी शिक्षा पढेकोलाई मात्र लाइसेन्स दिन पाउने व्यवस्था परिमार्जन गर्न लागिएको कुरा निकै सकारात्मक भएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप