आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल र श्रीलंकामा अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापेबीच समझदारी

शुक्रबार, १९ जेठ २०८०, १० : १९
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपेले, नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासको लागि सहकार्य गर्न श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क: लंकापेसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस किसिमको डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रबीचका प्रयोगकर्ताहरूलाई निर्बाध रूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउँछ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवस कुमार सापकोटा र लंकापेका सिइओ चन्ना डि सिल्भाले समझदारी पत्र(एमओयु)मा हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौंस्थित श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सर प्रमुख निलुषा दिलमिनीको विशेष उपस्थिति रहेको थियो भने एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजि डिरेक्टर डेनियल डि. श्रेष्ठ र फोनपेका अध्यक्ष विश्वास ढकालको उपस्थिति रहेको थियो ।

यो सहकार्य दुई देशबीच भ्रमण गर्नेहरूको सहजताका लागि अत्यन्त प्रभावकारी हुनेछ । श्रीलंकाका नागरिकहरू नेपाल भ्रमण गर्दा लंकापेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोनपे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी, श्रीलंका जाने नेपाली नागरिकहरूले फोनपेद्वारा अधिकृत एपहरू प्रयोग गरी ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन् । यस पश्चात फोनपे वा लंकापे मध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरूले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्नेछन् ।

यस सहकार्यमा उत्साहित हुँदै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने, ‘यो सहकार्य भनेको नयाँ अवसरहरू विस्तार गर्न, वित्तीय समावेशीकरण बढाउन र समृद्ध डिजिटल अर्थतन्त्र सिर्जना गर्न प्रविधिको प्रयोग गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । यो सहकार्यले, नवप्रवर्तन र अन्तरआबद्धताद्वारा राष्ट्रको आर्थिक वृद्धिलाई नयाँ उचाइमा पुग्नको लागि मद्दत पुर्‍याउने छ ।’

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै, लंकापेका प्रमुख कार्यकारी अधिकृत चन्ना डि सिल्भाले भने, ‘यो साझेदारी, श्रीलंकामा डिजिटल भुक्तानीमा फड्को मार्ने उद्देश्यको महत्त्वपूर्ण कोसेढुङ्गा साबित भएको छ । यो रणनीतिक साझेदारीले हाम्रा ग्राहकहरूको लागि सहज र समावेशी भुक्तानीको वातावरण सिर्जना गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप