रामोसले पनि पीएसजी छाड्दै
काठमाडौं । प्रभावशाली स्पेनिस डिफेन्डर सर्जियो रामोसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाड्ने घोषणा गरेका छन् । रामोस यो सिजन पीएसजी छाडने दोस्रो महत्वपूर्ण खेलाडी हुन् ।
यसअघि अर्जेन्टिनी स्थार लियोनल मेसीले पीएसजी छाड्ने निश्चित भइसकेको छ । ‘भोलि मेरा लागि विशेष दिन हुनेछ । म आफ्नो खेल जीवनको अर्को अध्याय सुरु गर्दैछु । म पीएसजीबाट बिदा हुँदैछु,’ रामोसले शुक्रबार राति सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन् ।
३७ वर्षीय रामोस सन् २०२१ मा पीएसजीमा आबद्ध भएका थिए । उनले हालसम्म पीएसजीबाट ५७ खेल खेलेका छन् । पीएसजीमा रहँदा उनले दुई पटक घरेलु लिग फ्रेन्च लिगको उपाधि जितेका छन् ।
उनी स्पेनिस क्लब रियल म्याड्रिड छाडेर पीएसजीमा आबद्ध भएका थिए । ‘सर्जियो रामोसले पीएसजीलाई थुप्रै सफलता दिएका छन् । पीएसजीमा रहँदा उनको खेल क्षमता र ब्यवसायीकतामा प्रश्न गर्ने कुनै ठाउँ रहेन । पीएसजीले उनको योगदानको उचित मूल्याङ्कन गर्नेछ,’ पीएसजीका अध्यक्ष नासिर अल खेलाइफीले भनेका छन् ।
रामोस स्पेनिस राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी पनि हुन् । उनले स्पेनलाई विश्वकपको उपाधि पनि चुमाएका छन् । यसैगरी उनले स्पेनिस राष्ट्रिय टोलीबाट दुई पटक युरो कपको उपाधि पनि जितेका छन् ।