मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रातीको समयमा नारायणगढ मुग्लिन सडक बन्द गर्न संसदको विकास समितिको निर्देशन

मङ्गलबार, २० असार २०७४, १३ : ५५
मङ्गलबार, २० असार २०७४

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले मुग्लिन नारायणघाट सडक खण्डमा ढेड महिना रात्रीकालीन समयमा सावारी चलाउन रोक लगाउन निर्देशन दिएको छ । मंगलबार समितिको हलमा भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग लगायतका सरोकारवाला निकायसँग कलंकी, नाङढुङ्गा, मुग्लिन–नारायणघाट सडक खण्डका बारेमा भएको छलफलपछि समितिका सभापति रविन्द्र अधिकारीले उक्त निर्देशन दिने निर्णय गरेको जानकारी दिए । 

बर्षायाममा पहिरोका कारण सडकमा हुने असुरक्षा रोक्न र रात्रीकालीन समयमा सडक बिस्तारमा तिब्रता दिन सो निर्णय गरको हो । रात्रीकालीन समयमा सडक बिस्तारको काममा निर्माण व्यवसायीलाई खटाउनसमेत समितिले निर्देशन दिएको छ । 

मुग्लिन नारायणगढ सडक विस्तारको काम ५० प्रतिशत सम्पन्न भएकोले द्रुत गतिमा सडक बिस्तार गरी सन् २०१७ भित्र सम्पन्न गर्न भौतिक पूर्वाधार मन्त्रालय तथा सडक विभागलाई समितिले निर्देशन दिएको हो । 

यस्तै काठमाडौं उपत्यका भित्रका सडक मापदण्ड अनुसार निमाणर््ा गरी ३ महिनाभित्र दुरुस्त गर्न सडक विभाग, काठमाडौं उपत्यका सडक बिस्तार आयोजना तथा विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । 

समितिले नेपालमा सडक निर्माण गर्ने निकायहरुबीच समन्वय नहुने गरेको भन्दै प्रभावकारी र गुणस्तरीय कार्यसम्पादन गर्न पनि संबन्धित निकायलाई निर्देशन दिएको छ । यस्तै त्रिपुरेश्वर कलंकी नागढुङ्गा सडक बिस्तारमा मुआब्जा तथा मापदण्डबारेको बिवाद छिटो भन्दा छिटो टुङ्ग्याउन पनि निर्देशन दिएको छ । यसबारेमा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका सडक विस्तार प्राधिकरणलाई निर्देशन दिएको छ । 


यस्तै मुग्लिन नारायणगढ सडकखण्ड अन्र्तगत रहेका पुलहरुको टेन्डर प्रक्रिया शूरु गरि काम छिटो अघि बढाउन समेत निर्देशन दिएको छ । 

छलफलमा बोल्दै मुग्लिन नारायणगढ सडक खण्डका बिस्तार आयोजनाका संयोज सञ्जय श्रेष्ठले भूकम्प र नाकाबन्दीका कारण आयोजनको काम प्रभावित भएको बताए । उनले भने–‘भूकम्पका कारण काम गर्ने मजदुरको घर फर्किएको कारण दुई महिना काम प्रभावित भयो । त्यसपछि भएको नाकाबन्दीले झन्डै ९ महिना काम प्रभावित हुन पुग्यो । स्थानीय निकायको असहयोग र निर्माण सामाग्रीको अभावले पनि काममा ढिलाई हुन पुगेको हो ।’

उनले सडक बिस्तारका लागि १२ पुलको डिजाईन तथा इस्टिमेट भइसकेको र ४ वटा पुलको टेन्डर आवाह्वान भएको जानकारी दिए । मुग्लिन–नारायणघाट ३६ किलोमिटर सडकमा २९ उच्च खतराजनक स्थान पहिचान गरेको ती स्थानमा सावधानी अपनाइएको जानकारी दिए । मौसमले साथ दिएमा र निमार्ण सामग्रीको सहज उपलब्धता भए निर्धारित समयमा काम सकिने श्रेष्ठले बताए । 

काठमाडौं नआउ भइसक्यो : सांसद 

सांसद तुलसा रानाले मुग्लिन नारायणघाट र कलंकी सडक खण्डका कारण काठमाडौं आउन मन नलाग्ने गरेको बताइन् । काठमाडौंको कलंकी चोकमा भइरहेको निमार्ण कार्यका कारण सात आठ घण्टासम्म जाममा फस्नुपरेको उनको गुनासो थियो । यस्तै मुग्लिन नारायणघाट सडकको बैकल्पिक सडकको सुधार गरी संचालन गर्नुपर्नेमा उनको जोड थियो । 


यस्तै अर्का सांसद गणेश पहाडीले सडक बिस्तारका लागि ठेक्का लगाउनु पूर्व कन्सल्ट्यान्टले राम्रो काम नगरेको आरोप लगाए । उनले भने–‘कहाँ कहाँ खराब अवस्था छ, त्यहाँ काम भएको छैन, पूर्व तयारी गरेर काम नहुँदा सडक अलपत्र परिरहेको छ ।’


उनले मुग्लिन नारायणघाट सडकको विकल्पमा बिपी राजमार्गलाई प्रयोग गर्नुपर्ने  र यसका लागि खुर्कोट देखि सिन्धुलीमाढीसम्म ३९ किलोमिटर टनेल खनेर सडक निमार्ण गर्नुपर्ने सुझाव दिए । 


यस्तै सांसद आङदावा शेर्पाले विकास समितिले एउटा ठेकेदार कम्पिनीले ८० प्रतिशत काम नसकी अर्को आयोजनाको काम नदिन विकास समितिले निर्देशन दिँदा पनि सडक विभागले किन नमानेको भनेर प्र्रश्न गरे । 


उनले काठमाडौंको तिलगंगाको पुल अब्यवहारिक तरिकाले बनाएको भन्दै बिकसित देशले पुल बनाउने तरिकाको उदाहरण प्रस्तुत गरे । 


छलफलमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोविन्द कार्कीले अन्य सरकारी निकायसँग तालमेल नहुँदा पनि केही समस्या आएको बताए । 


उनले विद्युत विकास विभागले जलासययुक्त आयोजना निर्माण क्षेत्रमा पुल नबनाउन सार्वजनिक सुचना जारी गरेका कारण केही पुल निमार्णमा समस्या आएको बताए । उनले ती आयोजनाहरु तत्काल अघि बढने अवस्थामा पनि नरहेको र काम शूरै हुने दश पन्ध्र बर्ष लाग्ने अवस्था रहेको बताए । 


यस्तै सचिव कार्कीले अर्को बर्षदेखि पी वान सडक र ठूला सडक योजना पनि स्थानीय तहमा जाने बताए । सडक निर्माणका लागि टनेल बनाउनेबारे त्यसको अध्ययनका लागि मन्त्रालयमा शाखा पनि स्थापना गरेको जानकारी दिए ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप