सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साबिक विजेता मच्छिन्द्रलाई उपाधि लक्ष्यमा धक्का

आइतबार, २१ जेठ २०८०, १९ : २५
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । विभागीय टोली नेपाल पुलिसविरुद्ध लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा साबिक विजेता मच्छिन्द्र फुटबललाई सहिद स्मारक ए डिभिजन लिग उपाधिको लक्ष्यमा धक्का लागेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा आइतबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबसँग २–१ ले पराजित भएपछि मच्छिन्द्र फुटबल क्लबको उपाधि लक्ष्यमा धक्का लागेको हो । मच्छिन्द्रले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न असफल रहेको थियो । 

निकै प्रतिष्पर्धात्मक बनेको खेलको पहिलो हाफमा ओलावाले अफिजको गोलमार्फत मच्छिन्द्रले सुरुवाती अग्रता बनाउन सफल भएको थियो । दोस्रो हाफमा पुलिसले सुधारिएको खेल देखाउँदा मच्छिन्द्र निरीह बन्न पुग्यो । पुलिसको जितमा दुवै गोल विदेशी खेलाडी मोसेस टोएमले गोल गरेका थिए ।

राजधानीमा जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पहिलो स्थानमा रहेका अफिजले २३औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । छिरिङ गुरुङको क्रसलाई सदुपयोग गर्दै अफिजले जाली चुमाउन सफल हुँदा मच्छिन्द्रले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । 

दोस्रो हाफमा सुधारिएको खेल देखाएको पुलिसका लागि ७३ औं मिनेटमा मोसेसले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि खेल बराबरीको अवस्थामा आएको थियो । त्यसको  १० मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मोसेसले पुलिसलाई २–१ को रोमाञ्चक अवस्थामा पु¥याएका थिए । 

बाँकी समयमा मच्छिन्द्र खेलमा फर्किन निकै प्रयास गरे पनि बलियो पुलिसको रक्षापंक्तिलाई तोड्न असफल रह्यो ।

जितसँगै पुलिसले लिगमा मच्छिन्द्रविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा मच्छिन्द्र २–१ ले विजयी भएको थियो । पछिल्ला पाँचौं खेलमा सुखद नतिजा निकालेको पुलिसले २४ खेलबाट ३७ अंक भएको छ । हारपछि ३९ अंक जोड्दै दोस्रो स्थानमा रहेको मच्छिन्द्र शीर्ष स्थानको चर्च ब्वाइजभन्दा पाँच अंकले पछि परेको छ ।

लिग अन्तर्गत आइतबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल रहित खेलेका थिए । 

दोस्रो हाफको ५२औं मिनेटमा हिमालयन शेर्पाले दिवस उराउको गोलबाट अग्रता निकाले पनि ५५औं मिनेटमा दिपेश आले मगरले गोल फर्काउँदा खेल १–१ को बराबरीमा पुगेको थियो । त्यसपछिको बाँकी समयमा दुवै टोलीले गोलका लागि केही प्रयास गरे पनि सफल हुन सकेनन् र दुवैले अंक बाँड्न बाध्य भए । बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोडेको छ । हिमालयनले २४ खेलमा ३१ अंक जोडेको छ ।

यस्तै संकटा क्लवले रेलिगेसन क्षेत्रको एफसी खुमलटारमाथि ३–० को सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार सम्पन्न खेलमा संकटालाई जित दिलाउन निशान खड्का, आयुष घलान र चन्दनकुमार दासले समान एक गोल गरे । 

जितसँगै संकटाले खुमलटारबिरुद्धका दुवै लेगमा सुखद नतिजा हात पारेको छ । यस अघि पहिलो भेटमा संकटा १–० ले विजयी भएको थियो । जितसँगै संकटाले २४ खेलमा ३० अंक जोडेको छ । पराजय व्यहोरेको खुमलटारको समान खेलबाट २४ अंकका साथ तालिकाको पुछारमा यथावत् छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप