आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

प्रधानमन्त्रीले भारत भ्रमणमा छोरी लगेपछि ओलीको टिप्पणी : ‘फस्ट लेडी भनेर ‘स्पाउज’लाई मात्र राख्न सकिन्छ’

सोमबार, २२ जेठ २०८०, १६ : १३
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा प्रोटोकल नमिलेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफ्नी छोरी गंगा दाहाललाई भ्रमणमा लगेकोमा आपत्ति जनाएका छन् । 

उनले भने– ‘पराराष्ट्रमन्त्री कता छ थाहा छैन, अर्थमन्त्री कहाँ छ थाहा छैन । नेताहरु कता छन् थाहा छैन । प्रधानमन्त्रीको छेउमा उहाँको छोरी देखिन्छिन् । आफ्नो छेउमा पराराष्ट्रमन्त्री छैन, परराष्ट्र सचिव छैन, छोरी राखेको छ । परराष्ट्रको चिफ अफ प्रोटोकल छैन परिवारको सदस्य राख्नुभएको छ । म एउटा के भन्न चाहन्छु भने फस्ट लेडी भनेर ‘स्पाउज’लाई राख्न सकिन्छ, अरु भनेको परिवारका सदस्य हो । छोरो लिएर जानुभयो भने फस्ट जेन्टलम्यान ? ‘स्पाउज’ त हैन । न्यूजिल्याण्ड लगायतका प्रधानमन्त्रीले ‘स्पाउज’ लिएर जान्छन् । महिला प्रधानमन्त्रीले पनि लिएर जान्छन् ।  फस्ट लेडी भनेर परिवारका सदस्यलाई भनिँदैन ।’ 

उनले अगाडि भने– ‘भोलि नाती–नातिनी लिएर जानुभयो भने के भन्ने ? सेकेन्ड लेडी ? यस्तो भ्रमणलाई त्यस्तो भद्रगोल गर्नुहुँदैन, त्यहाँ त परराष्ट्रमन्त्री हुनुपर्छ । त्यहाँ मन्त्रीहरु, परराष्ट्र सचिव, शिष्टाचार महापाल हुनुपर्छ । त्यहाँ अफिसियल नोट लेख्ने मान्छे हुनुपर्छ । तपाईले मोदीसँग के के कुरा गर्नुभयो अहिले फेरि यहाँ आएर त्यही शब्द भन्न सक्नुहुन्छ ? सकिँदैन । तपाईंले त्यहाँ कति कुरा गर्नुभयो त्यो सबै सम्झन सकिन्छ ? यस्ता कुराहरुमा रेकर्ड राखिनुपर्छ । यो त पारिवारिक भ्रमण हो कि ? धार्मिक हो कि ? पर्यटकीय हो कि ? तिर्थाटन हो कि ? कहिँ हेर्यो पारिवारिक भ्रमण हो कि जस्तो देखिन्छ, यस्तो कमजोर खालको नेपालको प्रस्तुति हुनुहुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप