आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ठगी काण्ड

सिंगापुर लैजाने भन्दै ३९ जनाबाट ४ करोड ठगी, प्रेमिका परिचालन गरी पैसा असुल

सोमबार, २२ जेठ २०८०, १८ : ११
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । आफूलाई कान्छा पत्रकार भन्दै कुनैबेला एकाएक भाइरल बनेका सुजन आचार्यले करोडौं ठगी गरेको पीडितहरुले बताएका छन् ।

अछामका अनिल अधिकारी, कैलालीका पारस अधिकारी, काठमाडौँका सुमन दंगाल लगायतका ३९ जना पीडितहरूले आइतबार पत्रकार सम्मेलन गर्दै आचार्यले आफूहरूसँग ४ करोड ३० लाख रुपैयाँभन्दा बढी ठगी गरेको बताए । 

सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको सञ्चालक रहेको र त्यहाँ काममा लगाइदिने भन्दै आचार्यले उनीहरूसँग ७ देखि ४४ लाख रुपैयाँसम्म ठगी गरेका छन् । 

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरू ठगिएको तर, सुजनलाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको बताए । 

अछामका अनिलको ४४ लाख तथा काठमाडौँका सुमन दंगालको १२ लाख रुपैयाँ लिएर सिंगापुर लगिएन । उनले हालसम्म सम्पर्कमा आएका ३९ जनाबाट ४ करोड ३० लाख रुपैयाँ ठगी गरेको देखिएको अनिलको भनाई छ ।

g

उदयपुरको त्रियुगा नगरपालिका–१० स्थायी घर भई हाल सिंगापुर बस्दै आएका आचार्यले प्रेमिका भनेर चिनाएकी बिनु शाक्य र सानिमाको छोरा सृजन निरौला लगायतलाई परिचालन गरी ठगी गरेको उनीहरूको आरोप छ । 

आचार्यले सिंगापुरमा आफ्नै कम्पनीमा आकर्षक तलब सुविधासहित रोजगारी दिने भन्दै उनीहरूबाट लाखौं रुपैयाँ लिएका हुन् । 

पैसा बुझाउनेमध्ये केहीलाई उनले ‘ट्राभल हिस्ट्री’ बनाउनुपर्ने भन्दै भिजिट भिसामा सिंगापुर बोलाएका थिए । त्यो बेला अनिल अधिकारी, प्रेम साउद, पारस अधिकारी, प्रकाश विके, आयुष विके, मनोज उप्रेती, अभिषेक श्रेष्ठ, ऋषिमान तामाङ, महेश तामाङ, सुमन दङ्गाल, अनिल भण्डारी, गोविन्द पुरी, अमित तामाङलगायत व्यक्तिहरू सिंगापुर समेत गएका थिए । 

त्यहाँ उनले आफू सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको मालिक हुँ भन्दै नक्कली र फोटोसप गरिएका कागजपत्र देखाएका थिए । जुन त्यो बेला आफूहरूले नक्कली र फोटोसप गरेको रहेको थाहा नपाएको उनीहरूको भनाई छ । 

कम्पनीले हस्पिटालिटी बिजनेसमा ठूलै लगानी गर्न लागेको र सिंगापुरको पाँचतारे भिलान्द्रो होटलमा पनि आफ्नो शेयर रहेको आचार्यले दाबी गरेका थिए । आचार्यले आफूहरूलाई १० करोड रुपैयाँमा गोरखा, एभरेस्ट र हिमालयनजस्ता नेपाली रेस्टुरेन्ट किन्ने डिल भइसकेको दाबी गरेका थिए । 

यतिमात्र नभएर उनले सिंगापुरको बैंकमा आफ्नो पाँच लाख डलर बचत रहेको विवरण समेत देखाएको उनीहरूको भनाई छ । 

विश्वास दिलाउन उनीहरूकै अगाडि फोन गरेर रेस्टुरेन्टका थप सामानहरू मगाए जस्तो गरेका थिए । नेपालीहरूलाई ठगेको पैसाले उनी त्यहाँ मोजमस्ती गर्ने गरेको अनिलको भनाई छ । 

उनले एकपल्ट सिंगापुर पुगेर फर्किँदा ‘ट्राभल हिस्ट्री’ बन्ने, त्यसपछि नेपालमा दुई महिना बस्नुपर्ने, यता बस्दा महिनाको हजार सिंगापुर डलरका दरले दुई महिनाको दुई हजार डलर पाउने, त्यसपछि फेरि सिंगापुर गएर आरामले काम गर्न पाइने आश्वासन दिएका थिए । 

सिंगापुर पुगेपछि महिनाको ३ हजार सिंगापुर डलर अर्थात् २ लाख ९३ हजार नेपाली रुपैयाँदेखि ४ हजार ८०० सिंगापुर डलर (४ लाख ७० हजार रुपैयाँ) सम्म कमाइ हुने भनी प्रलोभन देखाएका थिए । 

त्यसरी ठगिनेमा कैलाली, कञ्चनपुर, अछाम, बाजुरा, बैतडी, झापा, मोरङ, काठमाडौँ, पाँचथर, दाङ, काभ्रे र बाँके गरी १२ जिल्लाका रहेका छन् । 

यसरी पैसा माग्दा उनले प्रेमिका भनिएकी बेली डान्सरसमेत रहेकी बिनु शाक्य र भाइ सृजन निरौलाको खातामा पैसा पठाउन लगाउने गरेका थिए । धेरै जसोले बिनु शाक्यको नेपालस्थित इन्भेस्टमेन्ट बैंकको खातामा पैसा जम्मा गरिदिएको उनीहरूको भनाई छ । 

आचार्य यतिबेला सिंगापुरमै लुकेर बसेका छन् । उनले सिंगापुरबाटै उनीहरूलाई धम्की दिने गरेका छन् । 

पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि उनका भाइ सृजनलाई भने प्रहरीले पक्राउ गरेको छ । उजुरीपछि विभागले ७ जेठ २०८० मा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा सुजनलाई पक्राउ गर्न अनुरोध गर्दै पत्र लेखेको थियो । तर, उनी हाल सिंगापुरमै लुकेर बसेका छन् । 

m

कसरी आए आचार्यको सम्पर्कमा ?

भारतमा काम गर्दै आएका अनिल अधिकारी सामाजिक सञ्जालमार्फत् आचार्यसँग जोडिएका थिए । त्यही आधारमा उनीहरूको भेट भएको थियो । भेटपछि अधिकारीलाई सिंगापुरमा आफ्नो होटल रहेको र त्यसमा काम गर्न जागिर दिने आश्वासन तथा प्रलोभनमा पारे । 

त्यही आधारमा अनिलले करिब ९ महिना अघि १२ लाख रुपैयाँ तिरे । पैसा दिएपछि सुजनले अन्तिममा अर्को सर्त राखे । सिंगापुरमा आफ्नो लगानीमा रहेको होटलमा धेरै नेपाली कामदारको आवश्यकता रहेको र आफ्ना दाजुभाइ, इष्टमित्र जो भएपनि बोलाउन भने । 

s

तर, अन्तिम अवस्थामा कोही नआउने भनेपछि उनले कोही थप मान्छे नखोजे टिकट क्यान्सिल गराईदिने धम्की दिए । त्यसपछि अनिलले आफ्नै काका पारस अधिकारीलाई सम्पर्क गरे । र, उनलाई पनि सिंगापुरमा रोजगारीलाई आउन आग्रह गरे । त्यसरी एकले अर्कोलाई बोलाउँदै धेरैलाई आफ्नो ठगी जालमा फसाएको उनीहरूको भनाई छ । 

यतिसम्म कि अनिलको खातामा पैसा जम्मा गर्नसमेत लगाएका थिए । त्यसपछि उनले यतिबेला अरूलाई अनिलको खातामा पैसा दिएकाले त्यो बारे आफूलाई थाहा नहुने बताउँदै आएका छन् । जसले गर्दा आफू थप पीडामा परेको अनिलको भनाई छ ।

पारसलाई २९ दिनको भिजिट भिसामा सिंगापुर बोलाइएको थियो । सिंगापुर जाँदा न उनको होटल बुक गरिएको थियो, न कुन कुन ठाउँमा घुम्ने भनेर त्यसको जानकारी दिइएको थियो । 

आफ्नो होटलसमेत बुक नभएको अवस्थामा भिजिट भिसामा जान मिल्ने बताएपछि आचार्यले एयरपोर्टमा सबै सेटिङ मिलाएको र ढुक्क भएर आउन भनेका थिए । त्यही आधारमा उनी सिंगापुर पुगे । तर, १ महिना बित्न लाग्दा समेत कुनै काममा लगाएनन् । 

m1

भिसा अवधि सकिन लागेपछि उनलाई फिलिपिन्स भिजिट भिसामा पठाइयो । तर, फिनल्याण्डको अध्यागमनले उनलाई डिपोट गरिदियो । 

आफूहरूले ऋण निकालेर रोजगारीका लागि भनेर पैसा दिएको तर, आचार्यले न जागिर दिएको, न त पैसा नै फिर्ता गरेको उनीहरूको भनाई छ । 

सुजनले आफ्नो कम्पनीमा जागिरको लागि भन्दै आफ्नै हस्ताक्षर सहितको पत्रसमेत दिएका थिए । त्यस्तै, ठगिएपछि पैसा फिर्ता गर्न भन्दा उनले चेकसमेत दिएका थिए । तर, ती चेकसमेत बाउन्स गरिसकेका छन् । 

उजुरी दिएको लामो समय भइसक्दा पनि आचार्यलाई पक्राउ गर्न नसकेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप