आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बेथिति

द रिभर ओभरसिजले ७ महिनामा पनि फिर्ता गरेन रकम, उल्टै पीडितलाई धम्की

बुधबार, २४ जेठ २०८०, ०७ : २१
बुधबार, २४ जेठ २०८०

काठमाडौं ।  मलेसिया पठाउने नाममा लाखौं रूपैयाँ असुल गरेको द रिभर ओभरसिजले १९ जना श्रमिकलाई झुलाएको छ । वैदेशिक रोजगार विभागलाई समेत अटेर गरेको छ । 

वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै ओभरसिजले प्रति व्यक्ति २ लाख ५५ हजार रूपैयाँसम्म बढी असुल गरेको थियो । उक्त असुल गरेको रकम तीन दिनभित्र फिर्ता गर्ने लिखित प्रतिबद्धता गरेको थियो । 

रातोपाटीलाई प्राप्त प्रतिबद्धता पत्रमा १ कात्तिक २०७९ मा पीडितहरूलाई ३ दिन भित्रमा उक्त रकम फिर्ता गर्ने भन्ने उल्लेख गरिएको छ । तर, लिखित प्रतिबद्धता गरेको सात महिना वितिसक्दा पनि पैसा फिर्ता नगरेको पीडितहरूले बताएका छन् । 

मलेसिया उड्नुअघि विभागले उक्त कम्पनीमा छापा मारेको थियो । त्यही क्रममा बढी रकम लिएको पाइएपछि विभागले कारवाही गरेको थियो । र, ३ दिन भित्रमा बढी लिएको रकम फिर्ता गर्ने प्रतिबद्धता जाहेर गरेको थियो । 

भएको के थियो ? 
२०७९ कात्तिक १ गते रोजगारीका लागि मलेसिया जान लागेका २० जना श्रमिकबाट पैसा लिएको भन्ने सूचना वैदेशिक रोजगार विभागमा आयो । सूचनाको आधारमा विभागको टोली अनुगमनका लागि द रिभर ओभरसिज प्रालिमा पुग्यो ।  अनुगमनमा खटिएको विभागको टोलीले देवान कन्सल्टेन्ट प्रालिबाट वैदेशिक रोजगारीको लागि मलेसिया जानको लागि अन्तिम श्रम स्वीकृति र टिकट भएका १९ जनासँग २ लाख ५६ हजार रूपैयाँसम्म लिएको पाइयो । 

उनीहरूबाट ४३ लाख ७४ हजार रूपैयाँ लिइसकेको पाइयो । विभागको टोली म्यानपावरमा पुग्दा एक कोठामा श्रमिकहरूलाई पूर्व प्रस्थानको बारेमा जानकारी दिइराखेको थियो । उनीहरूलाई सोधपुछ गर्दा उक्त पैसा लिएको पाइएपछि विभागले आवश्यक कागजात नियन्त्रणमा लिएको थियो । 

द रिभर ओभरसिज प्रालिले मलेसियामा २० जना श्रमिकलाई आफ्नो मेनपावरमार्फत् पठाउन लागेको भनेको तर देवान कन्सल्ट्यान्टबाट भिसा र श्रम स्वीकृति लिएको पाइएको थियो । 

यसरी श्रमिकहरूलाई आफूले नै पठाउन लागेको र मलेसिया पुगिसकेपछि पनि सबै जिम्मेवारी आफूले नै लिने द रिभर ओभरसिज प्रालिले बताएको थियो । तर, भिसा र श्रम स्वीकृति भने अर्कै म्यानपावर कम्पनीबाट लिएको थियो । 

देवान कन्सलट्यान्टमार्फत् भिसा र श्रम स्वीकृति लिई कात्तिक २ गते मलेसियाको उडान तय भएको थियो ।  त्यसपछि विभागको टोलीले सबै श्रमिकहरूलाई निःशुल्क मलेसिया पठाउने र तिरेको रकम उनीहरूका आफन्तलाई दिन निर्देशन दिएको थियो । सोही आधारमा तीन दिन भित्रमा पैसा दिने भन्ने कागज गरेको थियो । 

दुवै संस्थाका प्रतिनिधिहरूको रोहवरमा छलफल गरी तीन दिनभित्र मेनपावरले लिएको रकम श्रमिकका आफन्तलाई फिर्ता गर्ने लिखित प्रतिबद्धता गरिएपनि उक्त रकम अझैसम्म नपाएको पीडितहरूको भनाई छ । 

रकम फिर्ता माग्दा धम्की  
रातोपाटीको सम्पर्कमा आएका एक जना पीडितका आफन्तले मेनपावर कम्पनीले स्वयम् व्यक्ति आएपछि मात्र पैसा फिर्ता गर्ने भनेको बताए । ‘हामीले पटक पटक सम्पर्क ग¥यौं । तपाईंहरूलाई पैसा दिन्नौं । जो व्यक्ति विदेश गएको हो, त्यही व्यक्ति आएपछि मात्रै फिर्ता गर्छौ भन्यो । अहिले त फोन पनि उठाउनै छोडेको छ ।’ ती पीडितका आफन्तले भने । 

मेनपावरवालाले फोन गरेर पैसाको कुरा गर्दा पैसा नदिने भन्दै धम्की दिने गरेको उनीहरूको भनाई छ ।  दुई महिना अघिसम्म निरन्तर फलोअप गर्दा मेनपावरले विभिन्न बहाना बनाएर टार्दै गएको उनीहरूको भनाई छ । पैसा दिन आनाकानी गरेपछि आफूहरूले अहिले फलोअप गर्न छोडेको उनीहरूको भनाई छ । 

कोही आए पत्र तुरून्तै पत्र काट्छौं : विभाग 
विभागका तत्कालीन महानिर्देशक उमाकान्त आचार्य र उद्धार तथा समन्वय शाखाका निर्देशक डम्बरबहादुर सुनुवारको रोहबरमा श्रमिकसँग सहमति गरिएको थियो । 
अहिले दुवै जनाको सरूवा भइसकेको छ । विभागको महानिर्देशकमा मदन दाहाल आएका छन् भने निर्देशक सुनुवार उक्त शाखाबाट इजरायल÷जापान शाखामा छन् । 

उद्धार तथा समन्वय शाखामा अहिले गोपालराज तिमिल्सिना आएका छन् । निर्देशक तिमिल्सिनाले हालसम्म पैसा जम्मा भएकोबारे विभागमा कुनै जानकारी नआएको बताए । 
त्यो बेला तीन दिनभित्रमा पैसा फिर्ता गर्ने सहमति गरिएको तर विभागको सिस्टममा अहिलेसम्म पनि पैसा दिएको नदेखिएको बताए । 

पैसा नपाएपछि कुनै पनि पीडितहरू विभागमा नआएको भन्दै उनले कोही आएर पैसा नपाएको भन्दै निवेदन दिएमा तत्काल पत्र काट्ने बताए ।  यो विषयमा सम्बन्धित मेनपावर सञ्चालकसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।  

part 1part 2


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप