मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा झर्दैन पानी

बुधबार, २४ जेठ २०८०, २० : ०५
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

तर यो वास्तविकता हो । विसं २०७७ चैत २० गते शुक्रबार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा मेलम्चीको पानी वितरण यही धारामा पानी खोलेर गर्नुभएको थियो । त्यसबेला कार्यक्रम सञ्चालकले अब सधैँ यो धाराबाट पिउने पानी पाइने उद्घोष गरेका थिए । तर अहिले त्यो धारामा पानी आउँदैन । 

यो धारामा राखिएको शिलालेख हेरेर पानी पिउन चाहने मानिस नजिकै जान्छन् । तर धारामा पानी खस्दैन । धाराको केही संरचना त उक्किसकेको छ । भृकुटीमण्डपमा आइरहने विद्यार्थी नरराज कुइँकेलले यही धाराले मेलम्चीको पानीको वितरण अवस्था राजधानीमा के छ भन्ने प्रष्ट हुने बताए । पानी प्यास लागेका बेला धारा देखेर पिउन जाँदा नआएको उनले गुनासो गरे ।

विभिन्न प्रदर्शनी भइरहने भृकुटीमण्डपको यो कुनामा प्रायः जुत्ता र चप्पल मेला लाग्ने गरेको छ । अहिले पनि जुत्ता र चप्पल मेला भइरहेको छ । जुत्ता र चप्पल मेलाका लागि घेरिएको जस्ताले धारालाई पनि ओझेलमा पारेको छ । पानी वितरणको शुभारम्भ गरिएकै धारामा पानी नआएपछि ग्राहकका धारामा पानी जाला र ? भन्ने सन्देश यसबाट प्रवाह भएको भृकुटीमण्डपमा भेटिनुभएका बागबजारका स्थानीयवासी समिना खड्गीले बताइन् । 

एक दिन पानी झरेको देखाउन बनाइएको यो धाराका लागि कति खर्च भयो होला भनी राजधानीवासीले खोजी गर्नुपर्ने उनको माग छ । सार्वजनिक सेवा प्रदायकका यस्तै गतिविधिले राजधानीवासीलाई आक्रोशित बनाउने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप