सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खुमलटार युथ क्लब ए डिभजिन लिगको रेलिगेशनमा

शुक्रबार, २६ जेठ २०८०, १८ : ४२
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । तनावपूर्ण खेलमा च्याम्पियन चर्च ब्वाईजसँग स्तब्ध खुमलटार युथ क्लब सहिद स्मारक ए डिभजिन लिगको रेलिगेशनमा पर्दा अर्को खेलमा फ्रेण्ड्सले विभागीय टोली एपिएफ क्लबलाई पराजित गर्दै रेलिगेशन संकट टारेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा तनावपछि भएको खेलमा चर्च ब्वाईजले खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो । यस हारसँगै खुमलटारको सहिद स्मारक ए डिभिजन लिगबाट दोस्रो डिभिजनमा घटुवा भएको हो । यसै सिजन बढुवा भएपनि खुमलटारले शीर्ष डिभिजन रहने प्रदर्शन गर्न सकेन । 

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा १० खेलाडीमा सीमित चर्च ब्वाइजले पहिलो हाफमा गरेको २ गोल नै जितका लागि पर्याप्त भएको हो । चर्च ब्वाइजका लागि सुशील शाह र जोस्पे बेम्पाले १–१ गोल गरेका हुन । १२ औं मिनेटमा एरिक बिष्टको फ्रिकिक पासमा सुशीलले सुन्दर गोल गरेका थिए । 

पहिलो हाफकै इन्जुरी समयमा खेल तनावग्रस्त बनेपछि रेफ्रीले सुरक्षा माग गर्दै खेल स्थगित गरेका थिए । आधा घण्टापछि शुरु भएको खेलमा चर्च ब्वाइजले अर्को गोल दोस्रो गोल गरेको थियो । इन्जुरी समयमा बेम्पाले गोल गर्दै चर्च ब्वाईजको अग्रता दोब्बर बनाएका थिए ।

यसअघि पहिलो हाफमा खुमलटारका बेन्चमा रहेका खेलाडी र अफिसियलले रेफ्रीमाथि आक्रमण गर्दा खेल तनावग्रस्त भएको थियो । रेफ्रीले खुमलटारको बेन्चमा रहेका ३ अफिसियल र १ खेलाडीलाई रातो कार्ड दिएका थिए भने चर्च ब्वाइजका गोलरक्षक एभ्स प्रिसोले दोस्रो हाफमा रातो कार्ड खाँदा चर्च ब्वाइज १० खेलाडीमा सीमित भएको थियो । यससँगै च्याम्पियन चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोड्दै लिगको अन्त्य गरेको छ ।  खुमलटार भने २६ खेलमा २७ अंकका साथ पुछारमा रह्यो ।

लिग अन्तर्गत शुक्रवार नै दशरथ रंगशालामा भएको खेलमा फ्रेण्ड्स क्लवले अन्तिम खेलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबलाई ४–० ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रेण्ड्सलाई जित दिलाउन टोरिक जेब्रिन, विकाश थापा, रफिक अमिनु र अख्रोबेक उक्टामोभले समान एक÷एक गोल गरे । यस जितसँगै फ्रेन्ड्सले आउँदो सिजन ए डिभिजन लिगमा रहने पक्का गरेको छ । एपिएफको यो हारले भने अब थ्री स्टार र एपिएफमध्ये एक टोली अर्को सिजन बी डिभिजनमा घटुवा हुने समीकरण बनेको छ । थ्री स्टारले रेलिगेसन टार्न अन्तिम खेलमा शनिवार जावलाखेल युवा क्लबलाई पराजित गर्नुपर्नेछ ।

यस्तै शुक्रबारकै अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले सातदोबाटो युथ क्लबमाथि १–० को रोमाञ्चक जित निकाल्दै सिजनको सुखद् अन्त्य गरेको छ । 

च्यासल मैदानमा शुक्रबार पुलिसले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो । पुलिसको जितमा अहमद हिजाजीले निर्णायक गोल गरे । हिजाजीले खेलको २१ औं मिनेटमा गोल गरेका थिए । जितसँगै पुलिस लिगको सुखद अन्त्य गरेको छ । पुलिसले २६ खेलमा ४१ अंक जोड्यो । पुलिसले तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । सातदोबाटोले हारबाट सिजनको अन्त्य गरेको छ । सातदोबाटोले २६ खेलमा ३५ अंक जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप