आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जानकारी

रङ्गशाला एक उपयोगिता अनेक

शनिबार, २७ जेठ २०८०, ०६ : ०८
शनिबार, २७ जेठ २०८०

अगस्ट ०६, २०२२ को बिहान, हामी अमेरिकाको कोलोराडो राज्यको डेन्भर सहरको पश्चिम दक्षिणतिर रहेको रेडरक्स् रङ्गशाला (रेडरक्स् एम्फिथिएटर) घुमघामका लागि हिँड्यौँ । अमेरिकाका चिल्ला सडकमा बिनाबाधा दौडिरहेका गाडीसँग प्रतिस्पर्धा गर्दै हामी पनि एक घन्टामा त्यहाँ पुग्यौँ ।

यो ठाउँ पुग्नुअघि ठुलो ढुङ्गालाई झ्यालको आकारमा काटेर गाडीहरू हिँड्ने बाटो बनाइएको रहेछ, त्यही बाटो भएर हामी पनि अगाडि बढ्यौँ । 

दुलहीको घर पुग्न लागेका जन्तीको लस्करजस्तै मन्द गतिमा बाटोभरि गाडीहरू एकापसमा प्रतिस्पर्धा गर्दै गुडिरहेका थिए । खण्डखण्डमा रहेका पार्किङ स्थल सबै भरिभराउ थिए । आ–आप्mनो गाडी उचित ठाउँमा पार्किङ गर्ने स्थलको खोजीमा सबै चालक चारैतिर आँखा दौडाइरहेका थिए । कोही त्यहाँको दृश्यावलोकन गरेर फर्कन्छन् र पार्किङ गरेर राखेको गाडी निकाल्छन् कि भनेर हामीले पनि त्यही लस्करमा कहिले तलको पार्किङस्थल त कहिले माथिको चहार्दाचहार्दै बल्लतल्ल हामीले आफ्नो गाडी राख्ने ठाउँ पायौँ ।

दिउँसोको १० बजेतिर गाडी छाडेर अगाडि बढेपछि बाटोको छेउमै राता रङका दुईवटा ठुला ढुङ्गा भेटिएका थिए । यी ढुङ्गा, मानौँ मान्यजनलाई स्वागत गर्न सोह्र शृङ्गारले सजिई हातमा पूmलको माला लिएर बाटोमा बसेका कुमारीजस्ता लाग्थे । 

घडीको सुईसँगै नपत्याउँदो तरिकाले डेन्भरको गर्मी पनि बढ्दै थियो । ती दुई ढुङ्गाको बीचमा मानिस हिँड्ने फराकिलो चिप्लो बाटो बनाइएको थियो । बाटोको माथिल्लो भागमा पर्यटक सूचना केन्द्र र शौचालय थियो भने तल्लो भागमा दायाँबायाँ हिँड्ने सिँढी छोडेर बाँकी भागमा स्टिलको छेकबार लगाइएको रहेछ । 

हामी यही छेकबारमा पुगेर हेर्दा सिधा अगाडि केही टाढा डेन्भर सहरको बिच भाग, चिप्ला बाटाहरू र मानवनिर्मित पोखरीहरू देखिँदा रहेछन् । हामी उभिएको छेकबारको तल एउटा ठुलो रङ्गशाला रहेछ । गन्दै जाँदा यो रङ्गशालाका ७९ वटा सिँढी रहेछन्, एकदम फराकिला । 

मानिस बस्ने ठाउँमा काठ र बाँकी पछाडिको भाग सिमेन्टले बनेका रहेछन् । रङ्गशालाको मञ्चको मुखबाट पनि भित्र जाने बाटो बनाइएको रहेछ । मञ्चको अगाडिपट्टिको होँचो भागमा केही वाद्यवादक सङ्गीतका विभिन्न सामग्री मिलाइरहेका थिए । यसबाट साँझ कुनै ठूलै सांस्कृतिक कार्यक्रम हुने छनक मिल्थ्यो । 

अहिले हाम्रा परिवारका सबैजना यस सङ्गीतमय दृश्यबाट आफ्नो ध्यान मोडेर रेडरक्स् एम्पिथिएटर हेर्दै थियौँ । आकाशमा कतै एक टुक्रा बादल थिएन । स्वतन्त्र रूपमा घामको किरणले यस धर्तीमा आफ्नो पूरै स्वामित्व फैलाएको थियो । बढ्दो दिनसँगै हाम्रो शरीरले पनि अत्यधिक गर्मी महसुस गरिरहेको थियो ।

त्यो ठाडो सिँढीमा कोही बसिरहेका थिए, कोही तलदेखि माथि उल्टो हिँडिरहेका थिए, कोही माथिदेखि तल गरिरहेका थिए । कोही रमाइलोका लागि गरेको जस्तो देखिन्थ्यो भने कोही शारीरिक व्यायामका लागि त कोही आफ्नो क्षमता प्रदर्शन गर्नका लागि त्यस्तो गरेको आभास हुन्थ्यो । कोही आपूmले पालेको कुकुरसँग तल–माथि गरिरहेका देखिन्थे । 

हामीले हेर्दाहेर्दै एउटा मात्र खुट्टा भएकी एउटा अधबैँसे महिलाले बैसाखी टेकेर सबै (७९ वटा) सिँढी सजिलै चढिन् । यस्ता क्रियाकलाप गर्नेहरूमा वृद्धवृद्धादेखि बालकसम्म सामेल थिए । हामी पनि यी सबै चर्तिकला हेरेर दङ्ग थियौँ । यिनै व्यायामकर्ताका बीचमा तलबाट व्यायाम गर्ने पहिरनमा हातमा पन्जा लगाएर टाउको तल खुट्टामाथि गरेर चार हात खुट्टा टेकेर एकजना करिब २०–२२ वर्षकी महिला माथितिर आउँदै थिइन् । 

हामी मात्र होइन, त्यहाँ जम्मा भएका सबैले उनको यो व्यायामलाई एक टकले हेरिरहेका थियौँ । अन्तत्वगत्वा उनले ती सबै सिँढी त्यसरी नै कटाएर माथि हामी बसेको नजिक आइपुगिन् । तिनलाई हेरिरहेका सबैले जोरजोरले ताली पिटे । ती महिलाको ताकत र साहस देखेर हामी एकछिन त टोलायौँ । एकछिनपछि हामीले पनि ताली पिटेर यसमा सक्दो साथ दियौँ । 

यसै बीचमा एक्कासि हामीसँगै उभिएका हातमा कुकुरलाई बाँधेको डोरी लिएका एकजना पुरुषले कुकुरसहित ठुलो आवाज निकालेर माथिबाट तल उल्टो हाम फाल्न थाले । एकछिन त त्यहाँ भएका हामी सबै त्रसित भयौँ, उनी अब कतिखेर डङ्रङ्ग लड्छन् र टाउको फुट्छ भन्ने डरले, तर केही मिनेटमै उनले ती सबै सिँढी सजिलै पार गरे । 

त्यहाँ देखिएका क्रियाकलाप खेल देखाउन गरिएको होइन । सबै आ–आफ्नो सुरमा थिए । हामीलाई पनि त्यो टन्टलापुर घाममा कमसे कम सिँढी त उक्लने प्रयास गरौँ भन्ने लाग्यो र मानिस हिँड्ने बाटोबाट तल झरेर हामी दुई बुढाबुढी पनि अरुहरूसँगै सिँढी उक्लियौँ । धन्न बिना विश्राम माथि त पुगियो तर सजिलो थिएन ।

यो ठाउँ खासगरी संसारका धेरै ख्यातिप्राप्त सङ्गीतकार र गायकले बेलाबखत आफ्नो कार्यक्रम प्रस्तुत गर्ने, त्यहाँका डाँडाकाँडामा पदयात्रा गर्ने, पुराना अवशेषको सङ्कलन गर्ने, योगा सिकाउने, सिँढीहरूमा व्यायाम गर्ने र पर्यटन सूचना केन्द्र आदिका कारणले अत्यन्त प्रसिद्ध रहेछ । यहाँको यस थिएटरमा कार्यक्रम प्रस्तुत गर्न अत्यन्त महँगो पनि भएकाले सानोतिनो पुँजी भएका गरिब देशका कलाकारका लागि करिब असम्भव रहेछ ।

पर्यटन सूचना केन्द्रको तल्लो तलामा त्यो रङ्गशालाका बारेमा आद्योपान्त लेखिएको रहेछ । त्यहाँ लेखिएको इतिहास अनुसार यो थिएटर अर्थात् यो रङ्गशाला सन् १९०६ मा बनेको रहेछ । खुला आकाशमुनिको यस रङ्गशालामा एकैपटक नौ हजार पाँच सय ४५ दर्शक अटाउँदा रहेछन् । सन् १९०६ भन्दा अगाडि यो ठाउँ एउटा उराठलाग्दो ठुल्ठुला चट्टान र रुखा डाँडा भएको बिरानो पाखो रहेछ । रङ्गशाला स्थापना भएदेखि आजसम्म सांस्कृतिक कार्यक्रम (कन्सर्ट) प्रस्तुत गर्नेहरू सबैको फोटो र नाम लस्करै भित्तामा लेखेर राखिएको थियो । 

विश्वप्रशिद्ध कति कलाकारहरूले आफ्ना वाद्यवादनहरूमा आफ्नो हस्ताक्षर गरेर मायाको चिनोस्वरूप त्यहाँ उपहार पनि दिएका रहेछन् । ती वाद्यवादन पनि अत्यन्त सुन्दर तरिकाले फ्रेममा सजाइएर राखिएका थिए । ती कार्यक्रमको महँगा टिकट किन्ने व्यक्ति तथा संस्थाका नामका सूचीहरू पनि पूरै जतनका साथ भित्तामा लस्करै टाँगिएका रहेछन् ।  

यस रङ्गशालाको सन् १९०६ अगाडिको अर्थात् निर्माण पूर्वको केही न केहीको उराठलाग्दो ढिस्कोको फोटो, आजको यहाँको भव्य अवस्था र उता आफ्नो देशमा विद्यमान सयौँ सुन्दर स्थान दिनानुदिन उराठलाग्दा बन्दै गएको सम्झिँदा हामी सबैकोे मन एक्कासि विरक्तियो । मान्छेको मन यति उदेकलाग्दो र छिटो छ कि आफू संसारको जुन कुनामा गए पनि पैसा खर्च गर्नुपर्दा आफ्नो देशको पैसाको मूल्य र कुनै पर्यटकीयस्थल घुम्न जाँदा आफ्नो देशमा भएका यस्तै ठाउँको दुरवस्थासँग तुलना गर्न मन लागिहाल्छ । 

मैले यो उमेरसम्म यस्ता रुखासुखा डाँडा मात्र होइन कैयौँ अत्यन्त सुन्दर ठाउँ देख्ने अवसर पाएकी छु । हामी मान्छेको विध्वंशकारी सोच र फितलो सरकारी व्यवस्थाका कारण प्रकृतिले रचेका ती सबै सुन्दर बनोटहरू द्रूतगतिमा सिद्धिँदै गएका छन्, भत्किँदै गएका छन्  । कति ठाउँको त इतिहास मात्र बाँकी छ भने कति ठाउँको यही इतिहास समेत क्रमशः मेटिन थालिसक्यो भन्दा अत्युक्ति नहोला । 

किन हाम्रो देश पनि यस्तो भव्य बन्न सकेन त ? कसरी त्यस्तो उराठ भूमि यहाँ यस्तो मनोरम बन्न पुग्यो, कि हाम्रा हरिया जङ्गल उजाड बन्न थाले ? पक्कै पनि डेन्भरको यो रङ्गशाला बनाउने योजना कुनै राजनीतिक पार्टी र पार्टीका नेताको स्वार्थले बनेन होला । सर्वप्रथम उपयुक्त ठाउँको छनोट भयो होला, ‘हाम्रो’ होइन ‘राम्रो’ इन्जिनिएरको छनोट भयो होला । कमिसन घरमा बुझाउने होइन राम्रो काम गर्ने ठेकेदारले ठेक्काको काम पायो होला । काम एक वर्षमा नसकिए अर्काे वर्षको बजेट बनाउने नेता फरक आएमा यो म अथवा मेरो गुटको वा मेरो पार्टीले बनाएको योजना होइन, त्यसैले यसलाई बजेट दिन हुन्न भनेनन् होला । 

यो क्षेत्रका जनताको नाममा विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताले काममा बाधा पु¥याउने र चन्दा माग्ने गरेनन् होला । नेताले पनि यस्ता बाधा अड्चन खडा गर्ने कार्यकर्ताको संरक्षण गरेनन् होला । सबै पार्टीका कार्यकताले मिलेर बजेट बाँडेर खाएनन् होला । त्यहाँ खटिएका कर्मचारीले मेरो जागिर सुरक्षित छ, तलब उसै पनि पाकिहाल्छ, त्यसै पनि पाकिहाल्छ, आफ्नो जिम्माको काम किन गर्ने, बरु यो काम गर्नुभन्दा आफ्नो व्यक्तिगत काम वा नेताको चाकडीमा समय बिताएनन् होला । 

यहाँका स्थानीय नेताले आफू सिन्को नभाँच्ने तर भाषणमा आकाशका तारा झार्ने काम पक्कै गरेनन् होला । त्यसैले त त्यस्तो बन्जर स्थान यति धेरै रमणीय छ, एकै दिनमा हजारौँ पर्यटकको ओइरो लागेको छ, प्रकृति आफैँले उपहारस्वरूप हामीलाई दिएका रमणीय ठाउँ कतै हिलाम्मे बाटोका रूपमा त कतै घडेरीका रूपमा दिन दुना त रात चौगुनाका दरले बिगँ्रदै गएका छन्, भत्कँदै गएका छन् । मनमा हुँडलिएका यस्तै यस्तै अनेकौँ सोचमा केहीबेर एक्लै त्यही पेटीमा ओहोरदोहोर गरिरहेँ । 

केहीबेरको मानसिक तनाव झेलेपछि घरपरिवारसँग तल ओर्लेर गार्डेन अफ द गड्स, ब्यालेन्स रक, ग्रे रक, किहोल विन्डो, किसिङ क्यामेल, स्लिपिङ जायन्ट आदि हेर्दाहेर्दै साँझ परिसकेको थियो । अमेरिकाका चिप्ला सडक, ठुल्ठुला चोक, अत्यन्त व्यवस्थित रूपमा बनेका मानव बस्तीबाट माथि उठेका घामका टुक्रा छेउछाउको पहाडका थाप्लासम्म पुग्न लागेका थिए । ती टुक्रा एकछिन पहेँला देखिए, त्यसपछि सुन्तला रङका राताराता भएर टाढा कतै क्षितिजमा एकछिनपछि हराए । 

सडकमा एकनासले दौडिरहेका विभिन्न आकार, विभिन्न प्रकारका गाडीहरू धमाधम आफ्ना वासस्थानतर्फ लाम लागेर गइरहेका झँै देखिन्थे । साँझको कमलो रङ वातावरणभरि फैलिँदै गएको थियो । साँझ बिस्तारै छिप्पिन थालेको थियो । रात पर्न लागेको आभास भएकाले त्यस दिनको घुमाइलाई बिट मार्दै हामीले पनि आफ्नो वासस्थानतर्फ चक्का अगाडि बढायौँ । 

(लेखक लैङ्गिक विषयमा विद्यावारिधि हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. राधिका बुढ्थापा
डा. राधिका बुढ्थापा
लेखकबाट थप