सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनुषाको नगराइन नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा

शनिबार, २७ जेठ २०८०, २२ : ४१
शनिबार, २७ जेठ २०८०

धनुषा । धनुषाको नगराइन नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । शनिबार नगराइनमा आयोजित पूर्ण खोप नगर घोषणासभामा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले पूर्ण खोपयुक्त नगर घोषणा गरे ।

त्यस अवसरमा मन्त्री सिंहले मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गति हटाएर जनतालाई सहज एवं सर्वसुलभ स्वास्थ्य सेवा दिनु सरकारको दायित्व भएको बताए । उनले प्रदेशका आठ वटै जिल्ला अस्पतालका समस्या समाधान र सार्वजनिक स्वास्थ्यमा नागरिकको विश्वास जागृत गर्ने गरी सेवाप्रवाहमा सुधार वर्तमान सरकारको प्राथमिक विषय भएको बताए ।

“मधेस प्रदेश अरु क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि निकै पछाडि रहेको छ । सबै मिलेर अगाडि बढेमा यस क्षेत्रमा भएका समस्या पनि समाधान गर्न सकिन्छ”, मन्त्री सिंहले भने, “आगामी आर्थिक वर्षको बजेटमा तिनै समस्याहरू सम्बोधनको प्रयास हुनेछ । विशेषगरी महिलामा पाठेघरको क्यान्सर र बालबालिका लक्षित विशेष कार्यक्रम ल्याइने छ । जिल्ला तथा पालिकास्तरीय अस्पतालमा स्वास्थ्य उपकरणसहितको सेवाप्रवाहमा हाम्रो जोड रहने छ ।”

मन्त्री सिंहले नागरिकको नजिक रहेका स्वास्थ्य संस्थाहरूको व्यवस्थापनमा पनि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रमोदकुमार यादव, नगराइनका नगरप्रमुख विनयकुमार यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नगराइनका प्रमुख प्रशासकीय अधिकृत रामगुलामलाल कर्णले नगरक्षेत्रमा रहेका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोपयुक्त नगर घोषणा गरिएको जानकारी दिए । अठार पालिका रहेको धनुषामा नगराइनसहित १० पालिका खोपयुक्त घोषणा गरिएका छन् ।

यसअघि जिल्लाका क्षिरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मिनिया गाउँपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, धनौजी र औरही गाउँपालिकालाई पूर्णखोपयुक्त पालिका घोषणा गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप