आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेको मिसन २०८४ : एकल बहुमतको कसरत

आइतबार, २८ जेठ २०८०, १२ : ४१
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । २०८४ सालमा हुने निर्वाचनमा एकल बहुमत ल्याउने गरी सङ्गठन सुदृढ अभियानमा जुटेको नेकपा एमालेले सोही अनुसारको कार्ययोजना र संयन्त्र बनाउने भएको छ । 

मिसन २०८४ उद्देश्य अनुरुप नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्ने र कसैसँग तालमेल नगरी पार्टीको एकल बहुमत प्राप्त गर्ने योजना अनुरूप पार्टी अघि बढेको महासचिव शङ्कर पोखरेलको भनाइ छ ।  

एमाले नेताहरूका अनुसार आगामी २०८४ मा हुने निर्वाचनमा पार्टीले कसैसँग चुनावी तालमेल समेत गर्नेछैनन् ।  एकल बहुमत ल्याउने गरी सङ्गठन निर्माणको काममा एमालेका सबै तहका नेताहरू अबको केही दिनमा  मैदानमा उत्रदैछन् । 

त्यसका लागि एमालेले हालै मात्र केन्द्रीय समितिका सबै नेताहरूको कार्य विभाजन गरिसकेको छ । जसअन्तर्गत ३३ वटा विभागको समन्वय गर्न वरिष्ठसहित सात उपाध्यक्षलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै प्रदेश इन्चार्जका रूपमा ६ वटा सचिवलाई जिम्मेवारी तोकेको एमालेले बागमतीको हकमा तत्काललाई केन्द्रीय कार्यालयले नै समन्वय गरेको छ । केन्द्रीय कार्यालय महासचिव शङ्कर पोखरलेको मातहतमा सञ्चालन भइरहेको छ ।  

‘केन्द्रीय कमिटीको पाँचौँ बैठकको निर्णयको जगमा सचिवालयले गरेको कार्य विभाजनका आधारमा कामलाई प्रभावकारी ढङ्गले अघि बढाउने सन्दर्भमा केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ’, महासचिव पोखरेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘जिल्ला बाहिर जानुहुने इन्चार्जलाई काममा अनुकूलता सिर्जना गर्ने तथा पालिका इन्चार्जहरूलाई पालिकाको कामको नेतृत्व गर्नका लागि संयन्त्र निर्माण गर्ने सन्दर्भमा योजना बनेको छ ।’ 

महासचिव पोखरेल भन्छन्, ‘जनसङ्गठनको कामलाई बैठकको योजना अनुसार अघि बढाउने सन्दर्भमा जनसङ्गठनको समन्वयको बैठक सम्पन्न भएको छ । प्रदेश तहमा समेत केन्द्रीय सदस्यलाई संयोजनको जिम्मेवारी प्रदान गरिएको छ ।’ 

पोखरेलले उक्त जिम्मेवारीलाई प्रभावकारी बनाउन योजना बनिसकेको बताए । सोही अनुसार विभागीय कामका सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा विभागीय कामका संयोजक र विभाग प्रमुखहरूको बैठक पनि हालै पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । ‘बैठकले एक हप्ता भित्र जिम्मेवारी अनुसारको काम अघि बढाउने र असार मसान्तसम्म वार्षिक कार्य योजना तयार गरी काम अघि बढाउने निर्णय गरेको छ’, महासचिव पोखरेलको भनाइ छ । 

‘भूगोलको कामलाई प्रभावकारी ढङ्गले सम्पादन गर्ने सन्दर्भमा प्रदेश इन्चार्जहरूले परामर्श बैठकहरू आयोजना गर्ने र काम अघि बढाउन पहल गरिरहनु भएको छ । वाग्मती प्रदेशको कामका सन्दर्भमा केन्द्रीय कार्यालयले सोमवार १ बजे बैठक आयोजना गरिएको छ’, पोखरेलले जानकारी दिए । 

एमाले उपमहासचिव विष्णु रिमालले एक वर्षका लागि तय गरिएको कार्य योजना र कार्य विभाजनको विशेष अर्थ र महत्त्व रहेको जानकारी दिए । 

‘कोही पनि नेताहरूले पाएको जिम्मेवारीमा काम गरेको नगरेको मापन गर्न मिलोस् भनेर मापदण्ड बनाइएको छ । त्यसका लागि सबै संयोजन महासचिवले गर्नुहुन्छ’, उपमहासचिव रिमालको भनाइ छ ।

मङ्सिरमा सम्पन्न निर्वाचनमा एमाले सिट सङ्ख्याको हिसाबमा दोस्रो प्रतिनिधि सभातर्फ ७८ सिटसहित दोस्रो ठुलो दल बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप