मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको निर्वाचनमा मतदान पछि कसले के भने ?

मङ्गलबार, २९ फागुन २०७४, १७ : ०७
मङ्गलबार, २९ फागुन २०७४

काठमाडौँ । मंगलबार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा भएको राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री देखि केन्द्रीय मन्त्रीहरु, संघीय सांसद तथा सात वटै प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदहरुले मतदान गरेका छन् । मतदान पछि संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरुले राष्ट्रपतिको निर्वाचनमा सहभागी हुन पाँउदा खुसी लागेको र यसले नयाँ परिर्वनलाई स्थापित गर्ने बताएका छन् ।    

पुष्पकमल दाहाल प्रचण्ड, माओवादी संसदीय दलको नेता 

यो बर्ष नेपालको इतिहासमा चुनावको वर्षको रुपमा रह्यो, आगामी दिनमा एउटा ऐतिहासिक बर्षका रुपमा स्थापित भइनै सकेको छ । यो निर्वाचन प्रक्रिया मैले दोश्रो पटक प्रधानमन्त्री भएको बेला स्थानीय तहको पहिलो चरणको निर्वाचन गरेर शुरु गराएको थिँए । 

राष्ट्रपतिको निर्वाचनमा भोट हाल्दा त्यो करिब करिब पूरा भएको महशुस भएको छ । यो सिंगो राष्ट्र र नेपाली जनताका लागि ठूलो खुसीको कुरा हो । निर्वाचन प्रक्रिया बढो उत्साहका साथ जनताको तहदेखि प्रदेश, प्रतिनिधीसभा र राष्ट्रियसभासम्म आइपुग्दा यसले पूर्णता पाप्त गरेको छ । यसले हामी स्थीरता र विकासको नयाँ लडाँइमा हामी पुगेका छौँ । सरकार गठनको बारेमा प्रधमानमन्त्रीसँग मैले आज पनि कुरा गरेको छु । अब दुई तिन दिनभित्र पूरा हुन्छ । 

माधव कुमार नेपाल, पूर्वप्रधानमन्त्री  


अब राष्ट्रपतिको निर्वाचन गर्न पाँउनु त ठुलो खुसीको कुरा हो । हामीकहाँ प्रत्येक जनप्रतिनिधी मुलक निकायहरु निर्वाचित हुनुपर्दछ भन्ने मान्यता हो । संविधानले यस्तो व्यवस्था गरेको छ । संविधानले गरेको व्यवस्था अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री देखि लिएर सबै तहमा निर्वाचित हुनुपर्छ । अहिले भएको राष्ट्रपतिको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण चरण हो । यसका साथ साथै लोकतन्त्रको एउटा अभ्यास बढ्यो । यसले लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्छ । 

सुवास नेम्वाङ, संविधानसभा अध्यक्ष 
साह्रै खुसी लागेको छ, म शब्दमा बर्णन गर्न सक्दिन । किनभने हामीले लामो मिहेनत पछि ५ वर्ष लगाएर बनाएको संविधान हो । अब साँच्चिकै कार्यान्वयनमा गयो  भन्ने अनुभूति भएको छ । अब कार्यान्वयनका लागि एउटा महत्वपूर्ण चरण पार गरेका छौँ । त्यसैले म साह्रै खुसी छु । 

लालबाबु पण्डित, मन्त्री 


अब लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सबभन्दा माथिल्लो पद राष्ट्रपति पदको मतदान पहिलो पटक गर्न पाँउदा साह्रै हर्षित छु । खुसी लागेको छ । संविधान कार्यान्वयनको दिशामा अब हामी धेरै सफलता प्राप्त गरेका छौँ ।  यो प्रजातान्त्रिक प्रक्रिया हो त्यसकारण जित हारलाई सवभाविक रुपमा लिनुपर्छ । 

कञ्चन खनाल, प्रदेश सांसद, माओवादी केन्द्र, चितवन 


देशले राष्ट्रपति चुन्ने कुरा यो आफैमा महत्वपूर्ण कुरा हो, आफूले स्वेच्छाएको पात्रलाई मतदान गर्दै गर्दा गौरवको महशुस भएको छ । मतदान जे गरियो ढुक्कका साथ गरिएको छ । यसमा सन्तुष्ट छु । प्रर्तिस्पर्धाका आधारमा दुबै उम्मेदवार योग्य हुनुहुन्छ । दुबै महिला भएकोले पनि धेरै खुसी लागेको छ । 

राधेश्याम अधिकारी, राष्ट्रिय सभा सदस्य, नेपाली कांग्रेस


ठिकै छ, हामी एउटा लोकतान्त्रिक प्रक्रियामा सहभागी भएका छौँ, जित हार भन्ने स्वभाविक नै हो । यो प्रक्रियामा हामी सहभागी भयौँ । यो प्रक्रियालाई लोकतान्त्रिक अभ्यास अवलम्बनको अभ्यासको रुपमा हामीले लिनुपर्छ । हार र जित भन्दा पनि लोकतन्त्र भित्र उम्मेदवारहरु उठ्न, स्वस्थ निर्वाचनबाट जे परिणाम आँउछ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ । 

चन्द्रबहादुर बुडामगर, सांसद, प्रदेश नं. ४ 


नेपालको सन्र्दभमा नयाँ अध्यायको शुरुवात भएको छ । स्वभाविक रुपमा नयाँ अनुभुति भएको छ । यसले नयाँ ब्यवस्थालाई स्थापित गर्छ जस्तो लाग्छ । 

गुलेफुन खातुन, सांसद प्रदेश नंं. १  


धेरै खुसी लागेको छ, राष्ट्रपतिमा फेरी बिद्या भण्डारी उठ्नुभएको छ, उहाँलाई दिएको जिम्मेवारीले देशमा राम्रो हुन्छ । उहाँलाई भोट हाल्नका लागि हिजो आएको । बिराटनगरबाट प्लेनमा आँउन लागेका थियौँ, हिजो दिँउसो दुर्घटना भएको थाहा पाएपछि माइक्रो चढेर काठमाडौं आयौँ । 

नविना लामा, सांसद, प्रतिनिधी सभा 


मतदान गरेपछि एकदमै खुसी लागेको छ, मेरो जीवनमा राष्ट्रपतिलाई मतदान गरेको यो पहिलो पटक हो । अर्को कुरा महिला राष्ट्रपति भएका कारण पनि एकदमै गौरव लागेको छ । पाँच बर्षसम्म अब फेरी महिला राष्ट्रपति हुने भएकोले दक्षिण एसियाकै लागि शक्तिशाली महिलाको रुपमा चुन्दैछौँ । त्यसैले एकदमै गवृ लागेको छ । 

राजेन्द्र महतो, सह–अध्यक्ष, राष्ट्रिय जनता पार्टी 
मतदान गरियो, राम्रै लाग्यो । हाम्रो बिचमा सबै कुरा बाँकी छ, यो मतदान सट्टामा मतदान गरिएको हो । प्रदेश नंबर २ मा निशर्त रुपमा बाम गठबन्धनले हामीलाई मतदान गरेकोले हामीले पनि यहाँ बाम गठबन्धनलाई मतदान गरेका हौँ । बाँकी कुरा सबै यथावत छ, आफ्नो ठाँउमा छ । सबै कुराका लागि आगामी दिनमा छलफल हुन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप