आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विश्वविद्यालय माग्दै आन्दोलन

सुदूरपश्चिमका सांसदलाई प्रदेश सभा प्रवेशमा अवरोधको तयारी

सोमबार, २९ जेठ २०८०, ११ : ३७
सोमबार, २९ जेठ २०८०

धनगढी । कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै सोमबार सुदूरपश्चिम प्रदेशका सांसदहरूलाई प्रदेश सभा प्रवेशमा अवरोधको तयारी गरिएको छ ।

आइतबार सुदूरपश्चिममा आमहड्ताल गरेको विश्वविद्यालय स्थापनार्थ संघर्षले सोमबार पनि आन्दोलनलाई निरन्तरता दिँदै सांसदहरूलाई प्रदेश सभा प्रवेशमा अवरोध गर्ने भएको हो ।

प्रदेश सभाको बैठक सोमबार ३ बजेका लागि बोलाइएको छ । प्रदेश सभामा नीति तथा कार्यक्रम माथिको छलफल जारी छ । सो बैठकलाई लक्षित गर्दै दिउँसो २ बजे प्रदेश सभाको गेटमा अवरोध गर्ने कार्यक्रम रहेको सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए । प्रदेश सभा अगाडि धर्ना तथा घेराउको कार्यक्रम समेत रहेको पाण्डेको भनाइ छ ।

सङ्घीय मन्त्रिपरिषद्ले गेटामा विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्य विश्व विद्यालय सञ्चालन गर्ने भनिएको छ । तर जेठ १५ गतेको सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय शय्याको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा सङ्घर्ष सुरु भएको छ ।

यसैबीच प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विश्वविद्यालयबारे प्रदेश सरकारको आधिकारिक धारणा माग गरेको थियो ।

आइतबार बसेको प्रदेशसभाको बैठकमा एमालेका सांसद धर्मराज पाठकले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै प्रदेशवासी आन्दोलित भएका बेला प्रदेश सरकारले कुनै धारणा नआएको भन्दै धारणा सार्वजनिक गर्न माग गरेका थिए । 

विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको समर्थन रहेको बताउँदै उनले भनेका थिए, ‘गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको ऐक्यबद्धता छ तर यसबारे प्रदेश सरकारको धारणा के हो ? अहिलेसम्म केही आएको छैन । सभामुख महोदय धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन गरियोस् ।’

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खेमादेवी विष्टले प्रदेश सभा बैठक बहिष्कार गर्दै आएकी छिन् ।

विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रदेशवासी आन्दोलित भएकाले प्रदेश सभा बैठक बहिष्कार गरेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप