सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रेष्ठ, लोहनी र भट्टराईलाई मधुपर्क सम्मान

बुधबार, ३१ जेठ २०८०, ११ : १८
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । साहित्यिक मासिक पत्रिका मधुपर्कले वर्षिकोत्सवका अवसरमा कवि कृष्णभक्त श्रेष्ठ, आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराई सम्मानित गरेको छ । जेठ ३० गते बानेश्वर बेङ्क्वेटमा आयोजित कार्यक्रममा आयामेली कवि वैरागी काइँलाले स्रष्टात्रयलाई सो पुरस्कार हस्तान्तरण गरेका हुन् । सो पत्रिकाले आफ्नो ५६ औँ वार्षिकोत्सवको अवसर पारेर मधुपर्क सम्मान २०८० प्रदान गरेको हो । 

सम्मानित कवि कृष्णभक्त श्रेष्ठ महाकवि लक्ष्मीप्रसद देवकोटाको जीवनको उत्तरार्धकालमा फस्टाएका कवि हुन् । कृष्णभक्त श्रेष्ठका समकाली कविहरूमा मोहन कोइराला, ईश्वर बल्लभ, द्वारिकालाल श्रेष्ठ, मोहन हिमांशु थापा, उपेन्द्र श्रेष्ठ, मदन रेग्मी, भूपि शेरचन, कुमार नेपाल आदि हुन् । श्रेष्ठका ‘कृष्णभक्त श्रेष्ठका कविता’, ‘मान्छेको कथा’, ‘ठूलो मान्छे’ जस्ता विशिष्ट कविता सङ्ग्रह प्रकाशित छन् ।

तर उनी स्वास्थ्यका कारण सो कार्यक्रममा उपस्थित हुन सकेनन् । सो सम्मान मधुपर्कका सम्पादक जयदेव भट्टराईले श्रेष्ठकै घरमा गई पुरस्कार हस्तान्तरण गर्नेगरी कार्यक्रमका प्रमुख अतिथि वैरागी काइँलालाई  हस्तान्तरण गरेका थिए ।  यसैगरी गद्यतर्फ नेपाली आख्यानमा समर्पित वरिष्ठ साहित्यकार पुष्कर लोहनीलाई मधुपर्क सम्मान प्रदान गरियो । खासगरी यौनवादी साहित्यकारका रूपमा परिचित लोहनी ‘चिसो चुल्हो तातो खरानी’ कथा प्रकाशन गरेर सार्वजनिक नेपाली साहित्यमा २०१६ सालमा प्रवेश गरेका थिए । उनका ‘चहकदार मइन्टोल र पिलपिले बत्ती’ कविता सङ्ग्रह, ‘कौडी’, ‘धरालोको टुप्पा’ कथा सङ्ग्रह, असङ्ख्य हाइकु, ताङ्का, चोका, सिजो जस्ता जापानी शैलीका कविता, ‘आकाश विभाजित छ’ संयुक्त उपन्यास लगायत थुप्रै कृति प्रकाशित छन् ।

Krishna Bhakt shrestha madhu samman

यसैगरी बाल साहित्यमा सक्रिय छन्द कवि प्रभा भट्टराईलाई सम्मान गरिएको थियो । २०२२ कात्तिक १६ गते चुँदी रम्घा, तनहुँमा जन्मिएकी भट्टराईका पोषिला कविता, मेरो सानो भाइ बाल कविता सङ्ग्रह, सन्तु र सुगा बाल कथा सङ्ग्रह, गीता पापा बालकाव्य, सरित्–सङ्गम, छन्दोबद्ध कविता सङ्ग्रह प्रकाशित छन् ।  कार्यक्रममा बोल्दै कवि भट्टराईले भनिन्, ‘मेरो तीन पुस्ताको सम्मान मधुपार्कसँग  जोडिएको छ । कुनै बेला छापा पत्रिका भन्ने बित्तिकै गोरखापत्र भन्ने बुझिने गरिन्थ्यो । त्यो गरिमा र उचाइ मधुपर्कले आजसम्म कायम गरेको छ ।’ 

यस्तै सम्मानित आख्यानकार पुष्कर लोहनीले भने, ‘नेपाली साहित्यमा २०१० सालदेखि लेख्दै आएको छु । मधुपर्कमा यौन साहित्य छापिएको थियो । यौनबारे भोगेर देखेर लेख्न सकेको छु । आलोचकको कुरालाई वास्ता नगरी साहित्य सेवा गरिरहेको छु ।’ कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले पुरस्कारमा लगाइएको करबारे प्रश्न उठाएका थिए । उनले भने, ‘मधुपर्क सम्मान भनेर ३५ हजार भनिन्छ तर दिने बेलामा कर कटाएर त्योभन्दा कम दिइन्छ । यसरी कुनै पनि सम्मानमा कर लगाउनु राम्रो होइन । मधुपर्क सम्मानमा पनि लगाइएको कर राम्रो होइन ।”

कार्यक्रममा बैरागी काइलाले उठाएको प्रश्नलाई गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले पुरस्कारमा लाग्दै आएको कर अबदेखि आन्तरिक रुपमै व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘आगामी वर्ष पुरस्कार रकम ३५ हजारबाट  ५० हजार गर्नेछु र पुरस्कार रकममा कर नलाग्ने निर्णय आजै मिटिङमा राख्नेछु ।” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप