आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदीय समितिका सभापति अविलम्ब चयन गर्न सांसदहरुको माग

बिहीबार, ३२ जेठ २०८०, १८ : १७
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । सांसदहरुले अविलम्ब संसदीय समिति सभापति चयन गर्न माग गरेका छन् । 

प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरुमा हालसम्म सभापतिको चयन हुन सकेको छैन । हाल समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरिरहेका छन् ।   

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसदहरुले निर्वाचित समिति सभापति नहुँदा समितिका काम कारबाहीहरूमा  अप्ठ्यारो परेको भन्दै छिटोभन्दा छिटो समिति सभापतिको चयन गर्न माग गरेका हुन् । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समिति सभापति चयन नगर्दा समिति र संसद्ले तीव्र गतिले काम गर्न नसकेको बताए । उनले गठबन्धनका नेताहरूले भागबण्डा गर्न ढिलाइ गर्नु नहुने र समिति सभापति चयन हुनुपर्नेमा जोड दिए ।  

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले समिति सभापति नहुँदा समितिको काममा प्रभाव परेको बताए ।     उनले कतिपय विषय सभापति आएपछि गर्ने भनेर पनि राखिएको बताए । उनले बजेट पास भएपछि समिति सभापति चयन हुने बताए ।  

नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले यतिका दिनसम्म समिति सभापति चयन हुन नसक्नु अनुत्तरदायी र गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए । उनले सत्तापक्षको कारण सभापति चयन हुन नसकेको उल्लेख गर्दै सत्तापक्षलाई गम्भीर बन्न आग्रह गरे ।  

नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले अविलम्ब सभापति चयनको कार्यतालिका सार्वजनिक गर्न सभामुखलाई आग्रह गरे ।   अनन्तकालसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नु नहुने उनको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले समितिको कामलाई प्रभावकारी बनाउन समिति सभापति चाँडै चाहिएको बताए ।   

जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले ज्येष्ठ सदस्यले समिति बैठकको अध्यक्षता गरिरहेको उल्लेख गर्दै समितिको प्रभावकारिता ज्येष्ठ सदस्यको इच्छाशक्तिमा भर पर्ने बताइन् । यद्यपि हालसम्म समितिको काम नरोकिएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप