आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

कुशलको शतकमा विश्वकप छनोटअघि ओमानमाथि नेपालको जित

बिहीबार, ३२ जेठ २०८०, २१ : ५८
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअघि खेलिएको अभ्यास खेलमा बिहीबार नेपालले चिर प्रतिद्वन्द्वी ओमानमाथि दुई विकेटको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । खेल जिम्बाबेको हरारे स्पोर्टस क्लबमा खेलिएको हो ।

टस जिती पहिलो ब्याटिङको निर्णय लिएको ओमानले ४९.२ ओभरमा अलआउट हुनुअघि दुई सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४४.५ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि कुशल भुर्तेलले शतकीय योगदान गरे । ओपनर ब्याट्सम्यान भुर्तेलले एक सय एक रन बनाए । उनले ९४ बलको सामना गरी दुई छक्का र १३ वटा चौका पनि प्रहार गरे । उनी रिटायर्ड हर्ट भई मैदानबाट बाहिरिएका थिए ।

दोस्रो विकेटका लागि भुर्तेल र भीम सार्कीले एक सय १५ रनको साझेदारी गरेका थिए । सार्कीले ७४ बलको सामना गरी ५६ रन बनाए । ओपनर ब्याट्सम्यान आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । आसिफले २३ रनको योगदान गरे । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन जोडे । कुशल मल्लले १७ रनको योगदान गरेका थिए । कप्तान रोहित पौडेलले ३१ रन बनाए ।

पहिलो ब्याटिङ गरेको ओमानका लागि कप्तान जिसन मक्सुदले शतकीय पाली खेले । उनले एक सय ६ बलको सामना गरी एक सय नौ रन बनाए । मक्सुदको आक्रामक ब्याटिङसामु नेपालका बलर निरीह देखिएका थिए । सोइब खानले पनि ४८ बलको सामना गरी ३८ रन बनाएका थिए ।

ओमानका लागि आयान खानले पनि ४६ बलमा ५६ रनको योगदान गरे । सन्दीप गउडले ३१ बलमा १५ रन बनाए ।  नेपाली टोलीका बलर सोमपाल कामीले पाँच विकेट लिए । सन्दीप लामिछानेले तीन विकेट लिए । करण केसी र प्रतिष जीसीले पनि एक÷एक विकेट लिए ।

 खेलको प्रारम्भमा नेपाली बलरहरूले ओमानका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । ओमानले केवल सात रनको कुल स्कोरमा आफ्नो चार विकेट गुमाएको थियो । पहिलो र दोस्रो विकेट सोमपाल कामीले लिएका थिए भने तेस्रो विकेट करण केसीले हात पारेका थिए ।

त्यसपछि ओमानको चौथो विकेट सोमपाल कामीले लिए । पाँचौं विकेट सन्दीप लामिछाने र छैटौँ विकेट प्रतिष जीसीले लिएका थिए । सातौँ विकेटका रूपमा सोमपालले ओमानका कप्तान मक्सुदलाई पेभेलियन फर्काएका थिए ।

 कप्तान मक्सुदका कारण नै ओमानको ब्याटिङ लयमा फर्किएको थियो । उनलाई त्यसपछिका अन्य ब्याट्सम्यानले पनि गतिलो साथ दिएका थिए । ओमानको आठौँ र नवौँ विकेट सन्दीप लामिछानेले लिएका थिए । १० औँ तथा अन्तिम विकेट भने सोमपाल कामीले लिएका हुन् ।

यसअघि जिम्बाबेमा खेलिएको पहिलो अभ्यास खेलमा नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग तीन विकेटले पराजित भएको थियो ।  त्यसअघि दक्षिण अफ्रिकामा खेलिएको अभ्यास खेलमा पनि नेपाली टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सँग पराजित भएको थियो ।

आईसीसी एकदिवसीय विश्वकपको छनोट खेल भने जिम्बाबेमै जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना हुँदैछ । छनोट प्रतियोगितामा नेपाली टोली समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा आयोजक जिम्बाबे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् ।

समूह ‘बी’ मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र यूएई रहेका छन् । यो विश्वकप छनोट प्रतियोगिताबाट यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि दुई टोली चयन हुनेछन् ।

छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल जुन १८ तारिखमा आयोजक जिम्बाबेसँग खेल्नेछ । त्यसपछि जुन २० तारिखमा नेपालले अमेरिकासँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले आफ्नो तेस्रो खेल जुन २२ तारिखमा बलियो वेस्ट इन्डिजसँग खेल्नेछ । नेपालले आफ्नो चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप