आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल च्याम्पियन रुपेशले भारतीय आईएमसँग बराबरी खेले

शुक्रबार, ०१ असार २०८०, १८ : ०१
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । नेपाल बुद्धिचाल संघद्वारा आयोजित ‘दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप’ को तेस्रो  दिन शुक्रबार चौथो र पाँचौं चरणका खेल सम्पन्न भएका छन् । पाँचौं चरणको खेलको समाप्तिमा भारतीय २४१५ रेटेड इन्टरनेशनल मास्टर (आईएम) नुबैर शाह शेख शीर्ष स्थानमा छन् । उनले साढे चार अंक बटुलेका छन् ।

यसैगरी भारतिय ग्रान्ड मास्टर (जीएम) २५०८ रेटेड सयतन दास र पाकिस्तानी फिडे मास्टर (एफएम) २०४६ रेटेड आमिर करिम  चार अंकसहित संयुक्त रूपमा दोस्रो स्थानमा छन् । उनीहरुले शीर्ष स्थानमा आसिन नुबैरलाई पछ्याइ रहेका छन् ।

नुबैरलाई चौथौं चरणको खेलमा नेपाल च्याम्पियन फिडे मास्टर २१४६ रेटेड रुपेश जैसवालले बराबरी गरेका थिए । नुबैरले पाँचौ चरणको खेलमा पूर्वनेपाल च्याम्पियन २०३२  सुरवीर लामालाई पराजित गरेका थिए ।

रुपेशले नुबैरविरुद्घको निकै प्रतिस्पर्धात्मक खेलमा कालो गोटी लिएर खेल सुरुआत गरेका थिए । खेलको मध्य भागसम्म पुग्दासम्म खेल निकै रोचक बनेको थियो । दुबै खेलाडीले खतरा मोल्न चाहेनन् र खेलको ३९औं चालमा बराबरीमा टुंग्याउन दुबै सहमत भए ।

उच्च वरियताका भारतीय खेलाडी ग्रान्ड मास्टर सयतनका लागि चाौथौ र पाँचौं चरणको खेल सुखद रह्यो । उनले चौथो चरणको खेलमा बंगलादेशका २११३ रेटेड अब्दुल मलेक मोहम्मदलाई पराजित गरे भने पाँचौं चरणको खेलमा नेपालका फिडे मास्टर २०२८ रेटेड  क्षितिज भण्डारीलाई हराए ।

यसैगरी पाकिस्तानी खेलाडी २०४६ रेटेड अमिरले पनि दवै चरणको खेलमा सफलता हात पारे । उनले पाँचौं चरणको खेलमा नेपालका  १८२८ रेटेड पुरुषोत्तम सिलवाललाई माथ गरे भने चौथो चरणको खेलमा बंगलादेशका फिडे मास्टर २२१२ रेटेड हसन पराग मोहम्मदलाई निरास बनाए ।

ललितपुरको गोदावरीस्थित होटेल भ्यु भृकुटीमा जारि प्रतियोगितामा नेपालका रुपेश जैसवाल, क्षितिज भण्डारी र बंगलादेशका हसन पराग मोहम्मदले साढे दुई अंक जोडेका छन् । पुरुषोत्तम सिलवाल र  अब्दुल मलेक मोहम्मदको दुई अंक रहेको छ ।

महिलातर्फ तेस्रो र चौथो चरणको खेल सम्पन्न हुँदा भारतीय इन्टरनेशनल मास्टर २२२५ रेटेड साक्षी आनान्दले चार अंक जोडेर एकल अग्रता लिएकी छन् । १९१३ रेटेड बंगलादेशका डिफेन्डिङ च्याम्पियन वहिदा वादिफा तीन अंकसहित दोस्रो स्थानमा रहेकी छन् ।

साक्षीले चौथो चरणको खेलमा दोस्रो चरणको खेलसम्म संयुक्त अग्रता लिएकी बंगलादेशकी वदिफा अहमदमाथि जित हासिल गरिन् । तेस्रो चरणको खेलमा माल्दिभ्सका नुहा रिजवानबाट वाक ओभर पाएकी थिइन् । वादिफाले चौथौ चरणको खेलमा नेपालकी १३३६ रेटेड शुसिला गुरुङलाई पराजित गरिन् ।

महिलातर्फ नेपालकी राष्ट्रिय विजेता फिडे मास्टर १७५३ रेटेड सुजना लोहनी र १८५२ रेटेड जन्नत उल फेडोस साढे दुई अंकसहित संयुक्त रूपमा तेस्रो स्थानमा रहेका छन् । सुजनाका लागि तेस्रो र चौथो चरणको खेल राम्रो रह्यो । उनले तेस्रो चरणको खेलमा रिया श्रेष्ठलाई हराइन् । चौथो चरणको खेलमा उनले बंगलादेशकी जन्नतउलसँग बराबरी खेलिन् । नेपालका शान्ति धिमाल र रिया श्रेष्ठलेले दुई अंक प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप