सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
कविता

कविता : धन्य तिमी नारी

शनिबार, ०२ असार २०८०, १२ : १६
शनिबार, ०२ असार २०८०

जन्म हुँदा छोरी थियौ पछि भयौ नारी,
जन्म रूप हेरे सबले मन अमिलो पारी ।
जन्म दिने आमालाई कति कष्ट भयो,
बाउ भनाउँदो नाक खुम्चाउँदै, केही नबोली गयो ।

न त तिम्रो गल्ती थियो छोरी भई आउन,
आमालाई नि थियो होला, रहर छोरा पाउन ।
पुरुषकै हात हुन्छ छोराछोरी पाउन,
किन सकेन पुरुषले ‘वाई’लाई पठाउन ।

बढ्दै गयौ पढ्दै गयौ साथमा थिइन् आमा,
दाइजो कुरा उठन थाल्यो तिम्रो विवाहमा ।
सम्पत्तिसँग दाँज्न खोज्ने, के रहेछौ नारी,
हिजोसम्म छोरी आज भइसक्यौ बुहारी ।

नौलो घर, नौलो ठाउँ, नौलो परिवेशमा,
भित्रियौ नि पराई घरमा, बुहारीको भेषमा ।
जन्म घर छाडी आयौ, पर्‍यौ ठूलो घरमा,
कामधन्धा सबले छाडे, तिम्रै आस र भरमा ।

झिसमिसेमै उठ्नुपर्ने घरको धन्धा गर्न,
अरु सबै सुतेकै छन् कोही लाछन् घुर्न ।
दैलो–कुचो पूजापाठ चियाखाजा पनि,
मन ढुकढुक भइरहने, केही गल्ती भो कि भनी ।

कोही उठ्दा नौ बज्छ, कोही उठ्दा आठ,
सासु बजै चिच्याइहालिन्, भ्याइनस् पूजापाठ ?
साढे नौमा ससुरालाई पर्छ खाना खान,
ढिलो गरिस् भने तेरा उखेल्दिउँला कान ।

चिसो चिया कोही पिउन्नन् तैँले बुझ्नुपर्‍यो,
तातो चिया सबको रुममा, टाइममै पुग्नुपर्‍यो ।
नन्द जान्छे स्कुल पढ्न स्कुलको बसमा,
किताबकापी ठिक्क पार्नु, ठिक पौने दशमा ।

बाबु उठ्छ दश बजे तैँले ख्याल गर्नु,
नुहाउने लुगासाबुन, मन्जन सबै ठिक्क पार्नु ।
जेठाजु र जेठानी नि जान्छन् पसल खोल्न,
तँ सानी होस् जे भने नि, हुन्न केही बोल्न ।

जेठानीको आवाज आयो, के हो कानै नसुन्नी !
स्कुटरको चाबी खोज्देऊ कता पर्‍यो कुन्नि !
जताततै भ्याउनैपर्ने, हौ तिमी बुहारी,
मसिन हौ कि मानिस हौ, धन्न तिमी नारी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवराज अर्याल
नवराज अर्याल
लेखकबाट थप