सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो प्रेम

शनिबार, ०२ असार २०८०, १४ : ४६
शनिबार, ०२ असार २०८०

आजकै दिनदेखि यस्तो प्रेम सुरु हुन सक्छ 
यो प्रेमलाई साँचो प्रेम भन्ने भ्रम सुरु हुन सक्छ 
मुक्तिदायक प्रेम कतै हुन त सक्छ 
तर यो कज्याउने प्रेमको सुरुवात हुन सक्छ 
उ तिम्रो नहुन सक्छ तर तिमी उसको हुनुपर्ने शर्त हुन्छ 
प्रेममा हुने ठुलल्ठुला ऐजन ऐजन बाचाहरु सुन्नेछौ 
तिम्रो पछ्यौरीमा ताराहरु जडिने प्रतिज्ञा 
चन्द्रमालाई एक चुट्कीमा तिम्रो पाइलामा झार्ने आश्वासन 
तिम्रो कपालको बादलभित्र उसको लुकेर बस्ने चाहना 
उसको हत्केलामा तिम्रो पैताला राख्ने बहाना 
अन्त्यमा तिम्रो सम्राटले भित्री इच्छा तिम्रो सामु राख्नेछ 
केवल तिम्रो फेसबुकको पासवर्ड चाहिन्छ उसलाई 
त्यति भए उ या त गद्दी त्याग्नेछ 
या त तिम्रो पाउमा राज्य चढाउने छ 
यसरी उ सच्चा प्रेम गर्नेछ  ।

याद राख उसलाई तिम्रो पहिलो प्रेम रातो हुनुपर्नेछ 
तिम्रो लागि त्यसपछिका प्रेमहरु रंगहीन हुन सक्नेछन् 
त्यसपछि तिम्रो मायाको प्रोक्सी खडा हुनेछ 
फलामझैं गरुङ्गो तर अमूर्त एउटा अस्मिता भन्ने वस्त्र 
तिमीलाई लगाई दिनेछ 
उसलाई चाहिएको बेला मात्रै उसैले मात्रै 
फुकाल्न मिल्ने छ यो वस्त्र 
उसको माया उसलाई चाहिएको बेला चढ्नेछ 
तिमीलाई चाहिएको बेला ओर्लनेछ 
तिम्रो मायामा उ सिस्कार हैन, चित्कार खोज्नेछ 

सिन्दूरले तिमीलाई उसको छाप हानेको याद दिलाउने छ 
सारी र फरियाले तिम्रो पाइला छोटो बनाउनेछ 
पाउजु बज्नेछ छन् छन् 
पोतेको दाम्लो छिनाएर तिमी भागेर जान खोज्दा 
हुन त बन्धनहरु सुनको हुनेछन्, हीराको हुनेछन् 
वा केवल सुनको जलप लगाएको पित्तलको हुनेछन् 
गच्छे अनुसारको हत्कडी तिमीलाई मिल्नेछ 
उसको अन्तिम अस्त्र भगवान् हुनेछ 
त्यो तिम्रो अन्तिम पिंजडा हुनेछ 

स्वतन्त्रताको पखेटा आउने ठाउँ पलाएको हो भने 
यो प्रेमको बन्धनबाट मुक्त हुने लक्षण छ 
तर अपशोच यो मुक्ति तिमीले आफैले कमाउनु पर्नेछ 

पिंजडाभन्दा बाहिर छु म 
म पनि प्रेम हुँ 
तर अर्को गोलार्द्धको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रुबन जोशी
रुबन जोशी
लेखकबाट थप