आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

शनिबार, ०२ असार २०८०, १६ : ५९
शनिबार, ०२ असार २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार पर्वतको जलजला गाउँपालिका-८ फर्सेस्थित सडकमा ग.१ ख ५६५७ नम्बरको बस र ग.१३ प ६४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार म्याग्दी बेनी नगरपालिका-९ बस्ने २० वर्षीया सुशिला श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धौलागिरी अञ्चल अस्पताल बागलुङ हुँदै ग्रेन्डी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिका-१० नगवास्थित सडकमा लु.७४ प ४४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने तोयानाथ गौतमको छोरा १० वर्षीय सचिन गौतमको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पिपरा अस्पताल हुँदै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको कञ्चन गाउँपालिका-४ म्याग्दी चोकमा सोही ठाउँ बस्ने जुनु बरालले चलाएको लु.८६ प ९७१६ नम्बरको स्कुटरबाट खसेर उनकै छोरा ८ वर्षीय श्रवण बरालको शुक्रबार राति मृत्यु भएको छ । स्कुटरबाट खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता स्याङजाको पुतलीबजार नगरपालिका-१० बरजास्थित सडकमा राङखोलाबाट स्याङजा बजारतर्फ जाँदै गरेको बा.१५ च १७०९ नम्बरको स्कारपियो आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा स्कारपियोमा सवार चापाकोट नगरपालिका-४ दार्सिङ  बस्ने चापाकोट नगरपालिकाका पूर्व मेयर ६० वर्षीय शिब गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल स्याङजामा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी कैलालीको गोदावरी नगरपालिका-४ खैरेनास्थित सडकमा प्रदेश ३ ०१-०२४ च ५१४८ नम्बरको जिपले से.३ प ८९२५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक डोटी शिखर नगरपालिका-९ बस्ने ३५ वर्षीय राजेन्द्र सिंह खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप