सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ख्वाजाको शतकमा इंग्ल्याण्डलाई पछ्याउँदै अस्ट्रेलिया

आइतबार, ०३ असार २०८०, ०६ : ३८
आइतबार, ०३ असार २०८०

बर्मिङहम । उस्मान ख्वाजाले उत्कृष्ट शतक बनाएपछि अस्ट्रेलियाले एसेज टेस्ट शृङ्खलाको पहिलो खेलमा आफूलाई बलियो स्थानमा उभ्याउन सफल भएको छ । दोस्रो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३११ रन बनाएको हो ।

अब अस्ट्रेलिया इंग्ल्याण्डभन्दा मात्र ८२ रनले पछि रहेको छ । यसअघि इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३ सय ९३ रन बनाउँदै आफ्नो पहिलो पाली समाप्तिको घोषणा गरेको थियो । 

दोस्रो दिनको सुरुवातदेखि नै इंग्ल्याण्डले अस्ट्रेलियामाथि दबाब राखेको थियो । मात्र ९ रन बनाएर डेभिड वार्नर आउट भए भने मार्नस लाम्बुसेन पहिलो बलमा नै स्टुअर्ट ब्रोडको शिकार हुन पुगे । पूर्वकप्तान स्टिभन स्मिथ १६ रन बनाएर आउट भएपछि अस्ट्रेलिया ३ विकेटको क्षतिमा ६७ रनको अवस्थामा पुगेको थियो ।

तर, त्यसपछि ट्राभिस हेड र ख्वाजाले अस्ट्रेलियाको पाली सम्हाले । हेड ५० रन बनाएर आउट भएपछि ख्वाजाले क्यामरुन ग्रिन (३८ रन) र एलेक्स केरी (५२ रन) सँग मिलेर अस्ट्रेलियालाई इंग्ल्याण्डको स्कोर नजिक पुर्‍याए । ख्वाजाले २७९ बलको सामना गर्दै १२६ रन बनाएर नटआउट रहेका छन् । यस क्रममा उनले २ छक्का र १४ चौका प्रहार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप