सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भन्सार छली गरी ल्याइएको डेढ करोड बढीको कपडासहित २ जना पक्राउ

आइतबार, ०३ असार २०८०, १३ : ५४
आइतबार, ०३ असार २०८०

हेटौंडा । मकवानपुरको रातोमाटेबाट भन्सार छली गरी ल्याएको करिब डेढ करोड मूल्य बराबरको कपडासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको ९० बोरा कपडासहित हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चौकीबाट २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा जनाएको छ ।

सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बरको बी आर ०६ जी ई ५०५३ नम्बरको ट्रकलाई हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट शनिबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सो ट्रकमा चारैतिरबाट प्याजको बोराहरुले छोपी बीच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा बरामद भएको हो ।

विशेष सूचनाको आधारमा गत शुक्रबार साँझ ७ः ४० बजेको समयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रातोमाटे चेकपोष्ट सो ट्रकलाई नियन्त्रणमा लिइएको थियो । पूर्व पश्चिम सडकखण्ड अन्तर्गत पर्ने उक्त चेकपोष्टमा सिराहाबाट हेटौंडातर्फ आउँदै गरेको सो ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सो ट्रकको पछाडीको भागमा चारैतिरबाट १६८ बोरा प्याजको बोराले छोपी ल्याइएको कपडा बरामद भएको उनले बताए ।

प्रहरीका अनुसार ट्रकमा ल्याएको १६८ बोरा प्याजको प्रतिकिलो ५० दरले भन्सार काटिएको छ । प्याजको बोराले छोपेर ल्याइएको अवस्थामा सो परिमाणको अबैध भन्सार छलिका विभिन्न किसिमका कपडाहरु बरामद भएको उनले बताए । नियन्त्रणमा लिएको उक्त कपडाको बजार मूल्य एक करोड ५५ लाख ६९७ रुपयाँ बराबर रहेको प्रवक्ता कार्कीले बताए ।

पक्राउ पर्नेमा ट्रक चालक भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर–७ बस्ने वर्ष ३३ का रन्जौद सिंह र सह–चालक विहार प्रान्त मोजफरपुर माहामाद बस्ने वर्ष २६ का सुधीरकुमार सहनी रहेको उनले बताए । ट्रकमा पाइन्टको कपडा एक करोड २८ लाख ९६ हजार रुपैयाँ, सुटको कपडा ३ लाख रुपैयाँ, सर्टको कपडा १६ लाख ७६ हजार २५० रुपैयाँ, सेरवानी कुर्था एक लाख ३ हजार रुपैयाँ र कोरा कपडा ५ लाख २५ हजार ४४७ रुपैयाँ बराबरको बरामद भएको प्रवक्ता कार्कीले बताए । कार्कीले ट्रकमा २ लाख ५२ हजार रुपैयाँ बराबरको ८४ कुन्टल प्याजको रहेको बताए ।

ट्रक, कपडा र मानिस प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य अघि बढाइएको उनले बताए । उका अनुसार उक्त ट्रक र कपडा अनुसन्धानका लागि राजस्व कार्यालय हरिहर भवन लतितपुर पठाइने प्रहरीले जनाएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप