आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई घाइते

सोमबार, ०४ असार २०८०, १० : २१
सोमबार, ०४ असार २०८०

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा सोमबार बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना सम्पर्कविहीन बनेका छन् । 

पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियलाले जानकारी दिनुभयो । उहाँका अनुसार सुरेशका बाबु केशरबहादुर राई सम्पर्कमा नरहेको बताइएको छ ।

मेहेलेको मुकुभञ्ज्याङ क्षेत्रमा पहिरो गएको थियो । घाइते भएकाको उपचारका लागि अन्यत्र लैजान हेलिकप्टरको आवस्यकता देखिएकाले स्थानीयस्तरबाट पहल भइरहेको उहाँको भनाइ छ । घर नजिकै सडकमा रहेको मोटरसाइकल थन्क्याउन निस्किएका समयमा आएको पहिरोमा परी घाइते र बेपत्ता बनेको खबर आफूले पाएको स्थानीय भुपाल मंरातीले जानकारी दिए ।

 शनिबार साँझदेखि भएको वर्षा अझै रोकिएको छैन । मेहेले साविक ९ नम्बरका अधिकांश मानिसले आफ्नो घर छाडेर अन्यत्र  सरेका छन् तर सुरक्षित भनिएकै ठाउँ पनि भारी वर्षाका कारण जोखिममा रहेको कमल कडरियाले बताउनुभयो । मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी क्षेत्रमा यो पटक अत्यधिक वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण त्यहाँका नागरिक त्रसित भएर बस्नुपर्ने बाध्यता रहेको स्थानीयले बताए ।

 मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता रहेका छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा मात्र छ घर पूर्णरुपमा बाढी पहिरोले बगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप