आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृषि ऐन छिट्टै ल्याइन्छ : कृषिमन्त्री भुसाल

सोमबार, ०४ असार २०८०, २१ : ५८
सोमबार, ०४ असार २०८०

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले मुलुकमा कृषि क्षेत्रको विकासका लागि छिट्टै ऐन ल्याउने बताएका छन् । युवा किसान सङ्घको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै मन्त्री भुसालले अहिलेसम्म कृषि ऐन नबन्दा यस क्षेत्रमा सिर्जित समस्या समाधान गर्न नसकिएको बताए ।

ऐनमा वास्तविक किसानलाई स्थानीय तहको सिफारिसअनुसार मल, बीउ बिजनको व्यवस्था गरिएको जानकारी दिँदै उनले यस वर्ष मलको अभाव हुन नदिन आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणमा जोड दिन आग्रह गर्दै मन्त्री भुसालले भने, “कृषिको आधुनिकीकरण र यान्त्रिकीकरणमा हाम्रो ध्यान गएको छैन । अनुदानको रकम सदुपयोग गरेर यान्त्रिकीकरणमा ध्यान दिनुपर्छ ।” उत्पादनमुखी क्षेत्रमा अनुदानका लागि प्रदेश र स्थानीय तहमा समन्वय गरिएको उनले जानकारी दिए ।

मन्त्री भुसालले कृषिजन्य उत्पादनको प्रयोगमा उपेक्षा हुन थालेकामा चिन्ता व्यक्त गर्दै यसको प्रयोग बढाउने गरी काम गर्नुपर्नेमा जोड दिए । कृषिजन्य उत्पादनलाई विषादी मुक्त गर्न आग्रह गर्दै उनले भने, “घरघरमा, चुलोचुलोमा विषादी छ भन्ने आम धारणा छ । यसको नियमन, अनुगमन कार्य आवश्यक छ ।”

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रयोगशाला स्तरोन्नतिमा आफ्नो विशेष जोड रहने बताउँदै उहाँले त्यसका लागि आफूले सक्दो पहल गर्ने विश्वास दिलाए । मन्त्री भुसालले स्रोत, साधन र जनशक्ति भएर मात्रै काम नहुने भन्दै त्यसको व्यवस्थापनमा विशेष ध्यान पुर्याउनुपर्ने बताए ।

हालै मात्र सरकारले तरकारी र फलफूलको विषादी चेकजाँजसम्बन्धी नयाँ निर्णय गरेको उनको भनाइ थियो । कतिपय ऐन र कार्यविधिको अभावले पनि सोचेजस्तो काम हुन नसकेको भन्दै मन्त्री भुसालले तत्काल खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसद्बाट पास गर्नुपर्नेमा जोड दिए ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले अब कृषिमा नतिजामुखी भएर काम गर्नुको विकल्प नभएको भन्दै यसका लागि सरकारले लगानी वृद्धि गर्नुपर्ने बताए । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य प्रमेश पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको आधार कृषि उत्पादन भएको बताउँदै यसतर्फ युवा वर्गलाई आकर्षित गर्न आवश्यक नीति अवलम्बन गर्नुपर्ने विचार व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप