आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बेथिति

सिँचाइमा छिरेका राजभण्डारीले २७ वर्षमा कसरी आर्जन गरे करोडौंको सम्पत्ति ?

यस्तो छ उनले सम्पत्तिका सम्बन्धमा दिएको बयान
सोमबार, ०४ असार २०८०, २२ : ४१
सोमबार, ०४ असार २०८०

काठमाडौं । दाङ, तुल्सीपुरका मधुकरप्रसाद राजभण्डारीविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलाइएको हो ।

उनले २०५१ फागुन २० गते जलस्रोत मन्त्रालयमा प्राविधिक (इन्जिनियर) तर्फको शाखा अधिकृत सरहको पदबाट जागिरे जीवन सुरु गरे । झण्डै पाँच वर्ष मन्त्रालयमा काम गरेका उनी मन्त्रालय अन्तर्गतकै सिँचाइ विभागमा सरुवा भए २०५५ कात्तिक ११ मा ।

विभागमा पाँच वर्ष काम गरेका राजभण्डारी धनुषास्थित पोर्ताहामा कमला सिँचाइ व्यवस्थापन डिभिजन नं ३ नम्बर कार्यालयमा सरुवा भए । तराईमा सिँचाइको काम त्यतिबेला भर्खरमात्रै सुरु भएको थियो । सिँचाइ व्यवस्थापन गर्नुपर्छ भन्ने जोड त्यहाँका स्थानीय नेतादेखि सबैमा थियो । फलस्वरुप राजभण्डारी पोर्ताहामा तीन वर्ष बसे । उनको बढुवा भयो । उपसचिव भएपछि उनी पुनः मन्त्रालयमै फर्किए । २०६६ वैशाख १ गते उपसचिव सरह (सिडिई/राप. द्वितीय श्रेणी) मा बढुवा भएका राजभण्डारी सिँचाइ विभाग हरिहरभवन, पुल्चोकमा सरुवा भए । तीन वर्ष विभागमा काम गरेका उनी २०६८ मा मध्यपश्चिमाञ्चल सिँचाइ विकास डिभिजन १ नम्बर कार्यालय दाङमा सरुवा भए ।

उनी त्यहाँ दुई वर्ष कार्यकाल रहँदै गर्दा सहसचिवस्तरको (सु.ई.÷ रा.प. प्रथम श्रेणी) मा बढुवा भए । करिब चार महिना मन्त्रालयमा बसेका राजभण्डारी फेरि सिँचाइ विभागमै फर्किए । तीन वर्ष विभागमा काम गरेपछि २०७३ असार २८ मा उनी उत्पन्न प्रकोप व्यवस्थापन विभाग ललितपुरमा पुगे । त्यहाँबाट सरुवा भएर उनी जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा पुगे । केन्द्रमा पाँच महिना पनि टिक्न सकेनन् । उनी मन्त्रालयमा सरुवा भए ।

२०७६ कात्तिक १ गते उनले चाहेको ठाउँ जलस्रोत तथा सिँचाइ विभागमा नेतृत्व सम्हाल्न पुगे । तीन वर्ष विभागको नेतृत्व लिएका राजभण्डारीको जागिरे अवधिले पनि नेटो काटिसकेको थियो । उनी २०७८ साउन १९ मा मन्त्रालयमा सरुवा भए । ८ महिना मन्त्रालयमा काम गर्दै गर्दा राजभण्डारीले अवकाश पाए ।

१० वटा बैंकमा खाता, करोडभन्दा बढी नगद

राजभण्डारीको नाममा प्रभु बैंक, नेपाल एसबीआइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंक गरी १० वटा बैंकमा खाता देखिएको छ । ती बैंकमा उनले एक करोड रुपैयाँ जम्मा गरेको भेटिएको छ ।

यस अतिरिक्त राजभण्डारीको कृषितर्फ ४ लाख ८६ हजार ७ सय ८१ रुपैयाँ आय देखिन्छ । उनले घरबहालतर्फ ३६ लाख ४२ हजार ६ सय ८८ हजार, स्थानीय भत्तातर्फ ९१ हजार ८ सय ८१, दैनिक भ्रमण भत्तातर्फ एक लाख ५४ हजार ४ सय ४६ रुपैयाँ, निवृत्तिभरणतर्फ एक लाख ४९ हजार ४ सय २२ रुपैयाँ, शेयर लाभांशतर्फ ५६ हजार एक सय १५ रुपैयाँ र अन्य आय तर्फ ४ लाख रुपैयाँ देखाएका छन् ।

.........

राजभण्डारीको श्रीमतीविरुद्ध पनि मुद्दा

आयोगले राजभण्डारीको श्रीमती विरुद्ध पनि मुद्दा दायर गरेको छ । उनकी पत्नी दिपा श्रेष्ठ ओरेकमा काम गर्थिन् । ओरेकमा काम गरेबापत श्रेष्ठले वार्षिक आम्दानी ३३ लाख १७ हजार तीन सय २० रुपैयाँ आम्दानी गर्थिन् । उनले अवकाशपछि जम्मा ६ लाख २० हजार ९ सय ९ रुपैयाँ ८१ पैसा पाएकी थिइन् । तर, उनले विदेशमा कार्यक्रममा भएबापत गरेको आम्दानी ३१ लाख ७२ हजार ७९ रुपैयाँ ७५ पैसा देखाएकी छन् । उनले विदेश भ्रमणमा गएपश्चात ३१ लाख ७२ हजार ७९ रुपैयाँ आम्दानीमा देखाएकी छन् ।

..........

बयानमा के भने राजभण्डारीले ?   

मैले मिति २०५१ साल चैत्र महिनादेखि इन्जिनियर पदमा स्थायी नियुक्ति लिई जिल्ला सिँचाइ रोल्पा, सोही पदमा सिँचाइ विभाग, कमला सिँचाइ कार्यालय सिन्धुली तथा बर्दिबास जल उत्पन्न प्रकोप योजना पश्चात २०६६ सालमा सि.डि.ई. पदमा बढुवा भई सुनसरी मोरङ्ग सिँचाइ योजना मोरङ्ग र सिँचाइ डिभिजन दाङमा कार्यरत रहेकोमा मिति २०७० सालमा सु.ई. पदमा बढुवा भई विभिन्न कार्यालयहरुमा कार्यरत रहेकोमा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट सह–सचिव (प्राविधिक) पदबाट मिति २०७८ चैत १४ गते सेवा निवृत्त भएको हो ।

म सरकारी सेवाको इन्जिनियर पदमा रहँदा जापान तालिम र नेदरल्याण्डमा उच्च शिक्षाको लागि त्यसैगरी सि.डि.ई. पदमा रहदाँ थाईल्याण्डमा सेमिनार तथा तालिममा सहभागी भएको र सु.ई. पदमा रहँदाको अवस्थामा समेत अन्य वैदेशिक भ्रमण भत्ता प्राप्त गरेको छु । सो को प्रमाण कागजातहरु आयोग समक्ष पेस गरिसकेको छु ।

मैले विभिन्न मितिमा विप्रेषण बापतको रकम पनि प्राप्त गरेको छु । मेरो सालो दिपेश, पराक्रम र बुहारी प्रतिष्ठा श्रेष्ठ समेतले गरी रु. ३१ लाख ७२ हजार  ८० रुपैयाँ १० पैसा बैंक मार्फत पठाएको हो । मेरो ससुरा पुष्कर श्रेष्ठले समेत विभिन्न मितिमा गरी १५ लाख नगद सहयोगस्वरुप दिनुभएको छ । उक्त रकमहरु घर जग्गा खरिद, घर निर्माण र घर व्यवहार चलाउनका लागि दिनु भएको हो । मेरो श्रीमती दिपा श्रेष्ठको नाममा रहेको जिल्ला काठमाडौँ चन्द्रागिरी–१३ स्थित रहेको कित्ता नं. १०९ को क्षेत्रफल ०–५–०–० जग्गामा बनेको घर बहाल लगाई ५७ लाख ४९ हजार ६ सय प्राप्त गरेको छु । उक्त घर बहालमा दिँदा घर बहाल सम्झौता तथा कर तिरेको रसिद समेत आयोगमा पेस गरिसकेको छु । उक्त जग्गा पनि बहालमा लगाई मासिक १५ हजार आय प्राप्त गरेको हो । बहालमा लगाएको सम्झौता पत्र र जग्गाको तस्बिर पनि पेस गरेको छु तर जग्गा बहालमा लगाएता पनि कर भने तिरेको छैन ।

त्यसैगरी जिल्ला दाङ तुलसीपुर–१० स्थित कित्ता नं. ८४८ को मेरो पैतृक घरबाट समेत रु.१ लाख ७९ हजार प्राप्त गरेको छु । मैले दाबी गरेको कृषि आयको सम्बन्धमा स्थानीय निकाय र कृषि ज्ञान केन्द्रको मापदण्ड अनुसार खर्च कटाई खुद पाउने भुक्तानी रकमको विवरण निकालिएको हो ।

मैलै सेवा निवृत्त भए पश्चात नागरिक लगानी कोष र कर्मचारी संचयकोषबाट  ६५ लाख ८५ हजार ९ सय १० रुपैयाँ ५७ पैसा प्राप्त गरेको हो । उक्त रकम मेरो नाममा रहेको प्रभु बैंकको खातामा जम्मा भएको छ, साथै मेरो श्रीमती दिपा श्रेष्ठले ओरेक, नेपाल नामको संस्थामा काम गरे बापत रु.३३ लाख ९३ हजार १४२ प्राप्त भएको हो ।

शैक्षिक खर्च अन्तर्गत मेरो छोरी सुरभी राजभण्डारीले पाठशाला नेपालमा कक्षा १० सम्म अध्ययन गर्दा लागेको खर्च ३ लाख, बूढानीलकण्ठ स्कुलमा ए लेभल अध्ययन गर्दा रु.३ लाख र उच्च शिक्षाको लागि अमेरिकामा अध्ययनको लागि पठाउँदा २७ लाख १४ हजार २ सय ८८ रुपैयाँ खर्च भएको हो ।

त्यसैगरी मेरो छोरा स्पर्श राजभण्डारीले पाठशाला नेपालमा कक्षा ४ सम्म अध्ययन गर्दा लागेको खर्च २ लाख, प्रेमियर स्कुलमा कक्षा ६ देखि अध्ययन गर्दा ६ लाख खर्च भएको हो । हाल मेरो छोरा कक्षा ८ मा अध्ययनरत छ । मिति २०६८ सालमा हामी दाजुभाइ ६ जना अंशियार बीच अंशवण्डा भई आ–आफ्नो व्यवहार गर्दै आएका छौं । मेरो नाममा दाङ जिल्लाको तुलसीपुर उ.म.न.पा. १० स्थित कित्ता नं. ७५५, १४४, ३६, १३१६, र १३६१ का पैतृक जग्गा छ ।

मेरो तलब भत्ता, श्रीमतीको तलब भत्ता तथा वैदेशिक आय, कर्मचारी संचयकोष ऋण सापटी, व्यक्तिगत ऋण, घरभाडा र बैंक ब्याज समेतको आय आर्जनबाट मेरो र श्रीमतीको नाममा स्वआर्जित घर जग्गाहरु काठमाडौँ जिल्लाको चन्द्रागिरी न.पा, ललितपुर जिल्लाको ल.पु.उ.म.न.पा. र दाङ जिल्लाको टरिगाँउ भन्ने स्थानमा रहेको छ ।

जिल्ला काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा नं. १३ स्थित मेरो श्रीमती दिपा श्रेष्ठको नाममा दर्ता कायम रहेको कि.नं. १०९ को छ आना जग्गाको २१७०.७९ मा बनेको २.५ तला घर निर्माण गर्दा २४ लाख खर्च भएको हो । मेरो तथा एकासगोल परिवारका सदस्यहरुको नाममा रहेको विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको खातामा गरिएको बैंक कारोबार अन्तर्गत संचयकोषबाट प्राप्त रकम, नागरिक लगानी कोषबाट प्राप्त रकम, श्रीमतीको तलब भत्ता, बैंक ब्याज, विप्रेषण, घरभाडा, जग्गा भाडा, शेयर बिक्री समेतबाट प्राप्त रकम जम्मा भएको हो ।

मेरो श्रीमतीको नाममा एभरेष्ट बैंक लिमिटेड, बानेश्वरमा लकर समेत रहेको छ । मैले विभिन्न मितिमा कर्मचारी संचयकोष र बिराट सेभिङ्ग एण्ड क्रेडिट प्रा.लि. बाट ऋण सापटी लिएको र तिरेको पनि छु । मेरो श्रीमती समेतले बिराट सेभिङ्ग एण्ड क्रेडिट प्रा.लि. बाट ऋण सापटी लिएको र तिरेको हो । साथै, मैले विभिन्न मितिमा व्यक्तिगत ऋण सापटी पनि लिएको छु ।

उक्त ऋण सापटी दिने व्यक्तिहरु मेरो परिवारका नातेदार र साथीहरु भएकोले केही समय पछि पनि तिर्दा हुने हुँदा हालसम्म उक्त रकम तिरेको छैन । म मेरो श्रीमती दिपा श्रेष्ठ राजभण्डारी र छोरी सुरभी राजभण्डारीको नाममा विभिन्न कम्पनीहरुको शेयर खरिद गरी बिक्री समेत गरेको छु । मेरो नाममा साधारण तथा दोस्रो बजारबाट पनि शेयर खरिद गरेको छु भने श्रीमती र छोरीको नाममा साधारण शेयर मात्र खरिद गरेको छु र विभिन्न कम्पनीहरुको शेयर बिक्री वापत रु.दुई लाख ८५ हजार पाँच सय ३२ रुपैयाँ प्राप्त गरेको छु ।

मेरो श्रीमती दिपा श्रेष्ठको नाममा पच्चीस घरे कृषि फार्म प्रा.लि. र नागीडाँडा डेभलपर्स प्रा.लि. रहेको छ । पच्चीस घरे कृषि फार्म प्रा.लि. मा रु. २ लाख र नागीडाँडा डेभलपर्स प्रा.लि. मा रु १५ लाख लगानी भएको हो । यस बाहेक अन्य कम्पनीमा लगानी गरेको छैन । उल्लिखित कम्पनीहरुमा लगानी गरिएको रकमको श्रोत सहकारीको ऋण÷कर्जा रहेको छ ।

मेरो नाममा कार छ । उक्त कार खरिद गर्नको लागि विराट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभबाट ऋण लिई ३८ लाख ९९ हजारमा खरिद गरेको हो । मैले बीमा परिपक्व भई प्राप्त गरेको २० लाख १२ हजार ३२३ रुपैयाँ मध्ये नेपाल लाइफ इन्स्योरेन्स, बीमा संस्थान, एलआईसी नेपाल र एलिको नेपाल बाट मेरो, श्रीमती, छोरा र छोरीको नाममा रहेको बीमा कम्पनीहरुबाट प्राप्त भएको हो ।

मेरो श्रीमती दिपा श्रेष्ठ राजभण्डारीको नाममा रहेको सानिमा बैंकको मुद्दती खाताबाट १४ लाख १८ हजार ६ सय ३२ रुपैयाँ ब्याज बापत प्राप्त भएको छ । मेरो तथा श्रीमतीको नाममा रहेको विभिन्न बैंकहरुमा गरिएको कारोबार अन्तर्गत मेरो नाममा रहेको एन.आई.सी. एशिया बैंक लिमिटेडको खातामा जम्मा गरिएको १ लाख मेरो तलबबाट जम्मा गरिएको हो र घर व्यवहार चलाउनका लागि उक्त रकम झिकेको हो । त्यसैगरी मेरो श्रीमती दिपा श्रेष्ठको नाममा रहेको सानिमा बैंकको खातामा जम्मा गरेको रकम १५ लाख निजको तलब भत्ता, ना.ल.कोष, घरभाडा र कृषि आयबाट प्राप्त रकम जम्मा गरेको हो ।

मेरो श्रीमतीको नाममा रहेको सानिमा बैंकको मुद्दती खाता विभिन्न मितिमा गरी जम्मा  गरेको रकम ३० लाख, ३६ लाख, ४० लाख र ४५ लाखको सम्बन्धमा शुरुमा खाता राखिएको रकमबाट प्राप्त ब्याज, मुद्दती खाता परिपक्व भई प्राप्त रकम हो । मेरो श्रीमतीको सानिमा बैंकमा रहेको लोन खाताको कारोबारको सम्बन्धमा २२ कर्जा लिई ललितपुरको जग्गा खरिद गरेको हो र सोही खातामा जम्मा गरिएको रकम आफूले आर्जन गरेको आय रकमको बचत र ऋण सापटी लिई जम्मा गरेको हो ।

मेरो नेपाल बैंक लि. र कुमारी बैंक लि. को खातामा गरिएको कारोबारको सम्बन्धमा तलबभत्ता, बहाल रकम, कृषि र सेवा निवृत हुँदा प्राप्त भएको रकमबाट जम्मा गरिएको हो भने घर खर्च, छोरा छोरीको अध्ययन र रितिरिवाज तथा चाडपर्वको लागि खर्च भएको हो । म लगायत मेरो श्रीमती र छोरीको विभिन्न बैङ्क खाताहरुमा रहेको अन्तिम मौज्दात रकम मेरो तलब भत्ता, श्रीमतीको तलब भत्ता र शेयर बिक्री गरे बापतको रकम जम्मा गरिएको हो । मैले सार्वजनिक सेवा प्रवेश गरे पश्चात जिल्ला सिँचाइ कार्यालय, रोल्पा र सिँचाइ डिभिजन कार्यालय, दाङमा कार्यरत रहँदाका बखत दुर्गम भत्ता तथा स्थानीय भत्ता प्राप्त गरेको छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप