बजेट पारित गर्ने विषयमा गठबन्धनका दलहरू नै अन्योलमा छन्: लेखराज भट्ट
'एमालेमा पूर्व माओवादीहरूमाथि कुनै पेलान छैन'
मङ्गलबार, ०५ असार २०८०, ०९ : ०१
सुर्खेत । नेकपा एमालेका सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले सरकारले ल्याएको बजेट पास गर्नेमा विषयमा गठबन्धनका दलहरू नै अन्योलमा रहेको बताएका छन् । मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा भट्टले बजेट अर्थनीतिलाई माथि उकास्ने खालको नभएको आरोप लगाए ।
उनले भने बजेटमा सुधारका कार्यक्रमहरू देखिएको छैन। बजेट वितरणमुखी परम्परागत तरिकाले आएको छ । कर नीतिमा पनि ठिक नभएकोले यसलाई पास गर्ने विषयमा गठबन्धनभित्र नै अन्यौलता देखिएको छ।
पत्रकारहरूसँगको कुराकानीको क्रममा भट्टले हिजो गठन भएको समाजवादी मोर्चाले कुनै नयाँ चिज दिन नसक्ने ठोकुवा गरे । साथै उनले एमालेमा पूर्व माओवादीहरूमाथि कुनै पेलान नभएको दाबी गरे ।