आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ट्रेड युनियन कांग्रेस निर्वाचन

एनटीयुसीको अध्यक्षमा कुँवर र यादवको भिडन्त, १९ पदाधिकारीका लागि ३६ जना मैदानमा

बुधबार, ०६ असार २०८०, ११ : ५५
बुधबार, ०६ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार दिउँसो २ बजेपछि मतदान हुन लागेको हो । एनटीयुसीको ४९ सदस्यीय कार्यसमितिमा १७ जना पदाधिकारी रहने व्यवस्था छ । एनटीयुसीसँगै केन्द्रीय युवा समिति र महिला समितिको पनि चुनाव हुनेछ ।

ट्रेड युनियन कांग्रेसको अध्यक्षका लागि योगेन्द्रकुमार कुँवर र महेन्द्रप्रसाद यादवबीच प्रतिस्पर्धा हुने देखिन्छ । माउ पार्टी कांग्रेसको संस्थापन पक्षीय कुँवर र इतर पक्षीय यादव प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

यादव वर्तमान वरिष्ठ उपाध्यक्ष र कुँवर महासचिव हुन् । यादव संस्थापन इतरपक्षीय उम्मेदवार हुन् भने कुँवर उपसभापति पूर्णबहादुर खड्का निकट मानिन्छन् । यसअघि संस्थापन इतरपक्षबाट महासचिव जितेका कुँवर अहिले संस्थापन कित्तामा पुगेका छन् । वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की रअयोध्याप्रसाद यादवबीच भिडन्त हुने छ । कार्की संस्थापान इतरपक्षीय हुन् भने यादव संस्थापन निकट हुन् ।

गणेशबहादुर केसी र ध्रुवचन्द गौतम दाबेदार देखिएका छन् । खुलातर्फको कुँवर प्यानलबाट उपाध्यक्षमा ध्रवचन्द्र गौतम र शंकर लामिछाने उम्मेदवार बन्दा यादवको समूहबाट गणेशबहादुर केसी र ज्योति कोइराला मैदानमा आएका छन् । यादव समूहबाट महिला उपाध्यक्षतर्फ  राधिका कुँइकेलख खनाल उम्मेदवार बनेकी छन् भने कुँवरको प्यानलबाट भगवति खड्काको उम्मेदवारहरु परेको छ ।

यादव समूहबाट सेवातर्फको उपाध्यक्षमा नेत्रविक्रम थापाविरुद्ध कुँवर समूहबाट सिताराम अवस्थी मैदानमा उत्रिएका छन् । यस्तै उत्पादनतर्फको उपाध्यक्षमा ललित श्रेठ उम्मेदवार बन्दा कुँवर प्यानलबाट इश्वर परियार मैदानमा छन् । अनौपचारिकतर्फ उपाध्यक्षमा राजेश पालिखे उम्मेदवार बन्द यता कुँवर प्यानलबाट इश्वर परियार, उदयप्रकाश साउद चुनावी मैदानमा छन् ।

महासचिवमा अजय राई र डिपी अर्यालबीच प्रतिस्पर्धा देखिन्छ । राई संस्थापन इतरपक्षीय हुन् भने अर्याल संस्थापन पक्षबाट उम्मेदवार बनेका छन् । यादव प्यानलबाट खुलातर्फको उपमहासचिवमा बलदेव तामाङ र जनार्दन भट्टराईविरुद्ध कुँवर समूहबाट  रञ्जन थापा, राममंगल प्रसाद यादवलाई उम्मेदवार बनाएको छ ।

यादव समूहबाट महिलातर्फको उपमहासचिवमा सुशीला घिमिरे बनेकी छन् भने कुँवर समूहबाट उम्मेदवार छैन ।  सेवातर्फको उपमहासचिवमा देवदत्त बडू उम्मेदवार भन्दा राजेश हुमागाईँ मैदानमा छन् भने उत्पादनतर्फको उपमहासचिवमा लक्ष्मणप्रसाद कुर्मीविरुद्ध कुँवर समूहले कुलबहादुर खड्कालाई उम्मेदवार बनाएको छ ।

यस्तै यादव समूहबाट अनौपचारिकतर्फको उपमहासचिवमा रुक्मुणी थापा (अर्जना) ले उम्मेदवारी दिएका छन् भने कुँवर समूहबाट देवप्रसाद लम्साल उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा संजय दाहाल र जनक पाण्डेको उम्मेदवारी परेको छ । दाहाल संस्थापन इतरपक्षीय हुन् भने पाण्डे संस्थापन पक्ष निकट हुन् । यादव समूबाट सह–कोषाध्यक्षमा रसमाया गुरुङ र कुँवर समूहबाट उम्मेदवार छैन ।

कुँवर समूहले महिला समितिको अध्यक्षमा इश्वरीदेवी लौडार र युवा समितिको अध्यक्षमा निराजन घिमिरेलाई उम्मेदवार बनाएको छ भने यादव समूबाट महिला अध्यक्षमा प्रमिला ढुगाना र युवा समिति अध्यक्षमा जितेन्द्र सुनार उम्मेदवार बनेका छन् ।  

युवा समितिमा अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, सहसचिव, महिला सहसचिव  कोषाध्यक्ष  र दुई जना सदस्य हुने व्यवस्था छ । केन्द्रीय महिला समितिको राष्ट्रिय अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव १, सह–सचिव, कोषाध्यक्ष, सदस्य ६ निर्वाचित हुन्छन् ।

२ जना सदस्य भने अध्यक्षले मनोनीत गर्न पाउँछन् । १३ सदस्यीय महिला समितिमा क्षेत्रीय तथा आबद्ध संघका केन्द्रीय महिला अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था छ । 

एनटीयुसीमा विगतदेखि नै संस्थापन इतरपक्षको बर्चश्व रहँदै आएको छ । इतरपक्षका कुँवरलाई अध्यक्षमा अगाडि सारेर संस्थापन पक्षले एनटीयुसीमा जित दर्ता गराउने रणनीति बनाएको छ । 

यद्यपि पछिल्लो एक वर्षमा कांग्रेसका चार वटा मुख्य शुभेच्छुक संस्थाको अधिवेशन हुँदा संस्थापन इतर पक्ष हाबी भएको देखिन्छ । नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) र डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) मा संस्थापन पक्षले पराजय बेहोरेको छ ।

एनटीयुसीबाट पार्टीको महाधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि जाने भएकाले पनि नेताहरुको चासो बढी रहन्छ । 

नेपाल ट्रेड युनियन कांग्रेसबाट अध्यक्षसहित ११ जना पार्टीको महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । २७ वटा शुभेच्छुक संस्था पनि यसकै मातहत हुने भएकाले कांग्रेस नेताहरुले एनटीयुसीको महाधिवेशनलाई विशेष महत्वका साथ लिने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप