बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सांस्कृतिक संस्थानले मनायो ५१ औ वार्षिकोत्सव

बुधबार, ०६ असार २०८०, २० : २०
बुधबार, ०६ असार २०८०

काठमाडौँ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ५१ औँ वार्षिक उत्सव मनाएको छ । संस्थानले वार्षिक उत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुतसहित विभिन्न स्रष्टालाई पुरस्कार समेत प्रदान गरेको छ ।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्ययतामा सम्पन्न वार्षिक उत्सव समारोहमा वरिष्ठ गायक/सङ्गीतकार तथा साहित्यकार गणेश रसिकलाई घिमिरेले ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८०’ बाट सम्मानित गरे । उनलाई ५१ हजार रुपैयाँसहित दोसल्ला ओढाएर ताम्रपत्रबाट सम्मानित गरियो । 

सांस्कृतिक संस्थामा महाप्रबन्धकको रूपमा रहेर समेत उनले सेवा गर्नुका साथै आजीवन नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्‍याएकाले दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले बताए ।

समारोहमा सभामुख देवराज घिमिरेले तीन जना कलाकारलाई र एकजना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरे । कार्यक्रममा सांस्कृतिक संस्थान राष्ट्रिय सङ्गीत पुरस्कार २०८० बाट वरिष्ठ गायक/सङ्गीतकार तथा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईलाई पुरस्कृत गरियो भने सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८०बाट वरिष्ठ नृत्य कलाकार विमला श्रेष्ठ क्षत्रीलाई र सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८०बाट अभिनेत्री शुष्मा शाहीलाई पुरस्कृत गरियो ।

यो वर्षको सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८० नृत्य निर्देशक केशवराज राईलाई प्रदान गरियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप